अभिनेत्री नम्रता श्रेष्ठ सगरमाथा आधार शिविर जान हिँडेकी थिइन्। उनी ६ हजार १ सय १९ मिटर अग्लो चुचुरो आरोहण गरेर फर्किइन्।
कलाकारको व्यस्त जीवनमा 'ब्रेक' हान्दै आधार शिविर हानिएकी नम्रताले अप्रिल २५ मा सगरमाथाको 'लोबुचे इस्ट पिक' आरोहण गरिन्।
उचाइदेखि डराउने नम्रतालाई चुचुरोमा पुग्न सहज भएन। आधार शिविरमा पाएको हौसलाले नै उनलाई पुर्यायो। बाटाभरि हिमाल चढ्न हिँडेका मान्छेहरू भेटिएपछि उनको जोश बढेको थियो।
'भारी बोकेर हिँडेको देख्दा त कसरी हिँडेको होला भन्ने लाग्थ्यो, तर त्यसले जोश भर्ने रहेछ। आत्मविश्वास दिने रहेछ।'
अप्रिल २४ को रात नम्रता लोबुचे हाइक्याम्पमा बसिन्। त्यतिञ्जेल उनले काठमाडौं छाडेर हिँडेको चौध दिन बितिसकेको थियो। साथमा थिए प्रेमी - दावा स्टेभेन शेर्पा।
दुईपटक सगरमाथा चढिसकेका दावाको साथले नम्रतालाई आत्मविश्वास दिएको थियो। हौसला दिएको थियो। साथ दिएको थियो।
राति १२ बजे दावाले नम्रतालाई उठाए र आरोहणका लागि तयार हुन भने। एक बजे उनीहरूले सँगै खाना खाए।
त्यतिञ्जेल नम्रतालाई हिमाल आरोहणका क्रममा राति हिँड्नुपर्छ भन्ने थाहा थिएन।
'राति बाह्र बजे उठेर खानुपर्ने रहेछ। निद्राकै तालमा खाएँ,' नम्रताले त्यो दिनको स्मरण सुनाउँदै भनिन्, 'झोलामा इनर्जी दिने खानेकुरा बोक्नुपर्ने रहेछ।'
उनले हिमाल चढ्ने बुट कसिन्।
'हावा कम लाग्ने भएकाले राति नै हिँड्नुपर्ने रहेछ। हिमाली क्षेत्रमा बिहान साढे ११ बजेपछि एकदमै धेरै हावा चल्न सुरु हुने रहेछ। दिउँसो घामले पोल्ने र शरीरको शक्ति घट्ने रहेछ। त्यसैले राति दुई बजे चुचुरोतर्फ पाइला अगाडि बढायौं।'
हिँड्न सहज थिएन। जति उचाइमा पुग्थिन्, मन उति काम्थ्यो।
'एउटा विन्दुमा पुगेपछि धेरै डर लाग्यो। एकदमै चकमन्न। कुनै आवाज नआउने। फेरि छिनछिनमा कोही बोलिरहेको जस्तो लाग्यो। को बोल्छ भन्दै पछाडि फर्किँदै हेरेँ। कोही थिएन। एकोहोरो हावा कानमा ठोक्किएर आवाज आउने रहेछ।'
नम्रता बारम्बार पछाडि फर्किएपछि दावाले सम्झाए, 'यहाँ यस्तै हुन्छ।'
उचाइसँग डराउने नम्रतालाई डोरी समाएर माथितिर उकल्न थप मुश्किल भयो।
'हिउँमा टेक्न क्रयामबल्स लगाउनुपर्ने रहेछ। त्यसले खुट्टा भारी बनायो। तलतिर यसो हेरेकी थिएँ, खुट्टा थररर काम्न थाले। लल्याकुलुलुक भइहालेँ। ओहो म त सक्दिन भनेँ,' नम्रताले डर अनुभव सुनाइन्।
उनले सक्दिनँ भने पनि दावाले आँट र भरोसा दिइरहेका हुन्थे।
'उचाइ देखेपछि नर्भसै भएँ। दस मिनेट एउटै बिन्दुमा होल्ड भएर बसेँ। म त सकिएँ, म त गएँ भन्ने अनुभव भयो।'
दावाले सम्झाए, 'केही हुँदैन सक्छौ, आऊ।'
नम्रता भित्रको डरले छेउ लाग्यो, आँट अघि बढ्यो।
'यति धेरै त आइसकेँ, अब के होला र भन्ने भयो,' नम्रताले भनिन्,'जहाँसम्म सक्छु, त्यहाँसम्म जान्छु भनेर अघि बढेँ।'
अड्किएको दस मिनेटमा नम्रताको मनमा धेरै कुरा खेले।
नम्रताले हाइ अल्टिच्युडको सामना भने गर्नुपरेन। मान्छे बोल्न-चल्न नसक्नेसम्म भएर काठमाडौं फर्काएको उनले देखिन्। ती सब देख्दा उनको डरले सीमा नाघ्थ्यो।
जस्तै डरमा पनि साथी दावाले सम्झाइहरन्थे। बानी नपरेकाहरूलाई उचाइमा असहज हुन्छ। दिमागले कम काम गर्ने गरेको अनुभव नम्रताको छ। यस्ता सबै अप्ठ्यारा परिस्थितिमा दावाले व्यवस्थापन गरेका उनले सुनाइन्।
'मलाई उसले हौसला दिइरह्यो। हिमालमा त ऊ सुपर हिरो नै रहेछ,' उनले हाँस्दै भनिन्, 'मैले त्यहीँ पुगेर उसको काम थाहा पाएँ। उसलाई हिमालमा 'मेडिसिन' भन्दा रहेछन्। समस्या समाधान गर्न सधैं अग्रसर दावालाई देखेर मान्छेहरू खुसी हुनेरहेछन्। मलाई उसको साथले ढुक्क बनायो।'
'जति हिँडे पनि पुगिँदैन भन्ने लाग्थ्यो। एकपटक त किन चढिराख्या हुँला भन्ने भयो,' नम्रताले ती क्षण सम्झँदै भनिन्, 'म साथीहरूलाई हेलिकप्टर बोलाउन मिल्छ भनेर सोधिरहन्थेँ? फर्किऊँ जस्तो हुन्थ्यो। फेरि सोच्थेँ यही अनुभव गर्न त आएको।'
लगातार हिँडिरहँदा उनी निकै थाकिसकेकी थिइन्। कहिले पुगिएला जस्तो भइसकेको थियो।
नम्रता सम्झिन्छन्, 'जब चुचुरो देखियो, त्यसपछि मात्र सास आयो।'
लोबुचे इस्ट चुचुरोमा पुगेपछि उनका सबै थकान हराए। अलि अगाडिका डर र दिक्दारी भुलिन्। अनुहार खुसीले उज्यालो भयो। आँखा भरिए।
'पुगेपछि त मनै थामिएन। रुन आयो। आखिरमा सकेँ भन्ने लाग्यो,' उनले भनिन्, 'त्यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो। लोबुचेबाट आमादब्लम, पुमरी, सगरमाथा ठ्याक्कै आँखा अगाडि देखियो। मेरो गला अवरूद्ध भयो। शब्दै निस्केनन्। मेरो सबभन्दा ठूलो डर नै उचाइको थियो, अब मैले जितेँ भन्ने लाग्यो।'
सगरमाथा चढ्नेहरू लोबुचे पिकमा आरोहण तालिम गर्छन्। उनीहरूका लागि यो सामान्यै हुनसक्छ।
'मेरा लागि भने आठ हजार मिटर अग्लो हिमाल चढ्नुभन्दा कम थिएन,' उनी भन्छिन्।
लोबुचे पिकबाट फर्कन नम्रता लगातार १५ घण्टा हिँडिन्। उक्लिनभन्दा ओर्लिन सहज भयो।
सगरमाथा आधार शिविर पुगेर फर्किने सोचले हिँडेकी नम्रता लोबुचे पिकसम्म पुगिन्।
आधार शिविरमा उनलाई नेपाली-विदेशीहरू घुलमिल भएको देख्दा एकदमै खुसी लागेको सुनाइन्। अग्ला हिमालको प्राकृतिक सुन्दरतासँगै उनले सामाजिक सुन्दरता पनि अनुभव गरेको उनी बताउँछिन्। अग्ला हिमालका अगाडि सबै बराबर। कुनै भेदभाव नभएको। एकअर्कालाई सहयोग गर्ने। हाँसी रहने। निस्फिक्री हुन पाइने।
'न मेकअपको चिन्ता, न कपडाको। एउटै ज्याकेट तीन/चार दिन लगाए पनि हुने,' सेलेब्रेटीको व्यस्त जीवनमा यी सबै कुरा एकदमै ध्यानमा राख्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
नम्रता सगरमाथा क्षेत्रमा दोस्रोपटक पुगेकी हुन्। उनी बेलाबेलामा ट्रेकिङ जान्छिन्। यसले आफूमा ऊर्जा थप्ने उनी बताउँछिन्।
'ट्रेकिङ जाँदा आफ्नो स्पेश पाउँछु,' उनले भनिन्, 'सहरको भिडभाडमा दिमाग भरिएको हुन्छ। मान्छे भेट्नुपर्छ, फोनमा बोल्नुपर्छ, आफूले आफूलाई समय दिन सकिन्न। हिमाल र पहाडमा आफूलाई भेट्न सक्नुहुन्छ।'
यसपटकको यात्रामा आफूलाई समय दिनु कति महत्वपूर्ण छ भन्ने बुझ्ने मौका मिलेको उनले बताइन्।