नेकपा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेको किताब 'भुइँमान्छे' सार्वजनिक भएको छ। सोही किताबको एक अंश यहाँ प्रस्तुत छ।
नेपालको राजनीतिक आन्दोलनमा आमाहरूको योगदान अतुलनीय छ। यद्यपि, त्यो योगदान राजनीतिक इतिहासका कुनै दस्ताबेजमा समेटिन सकेको छैन।
झापाकी हरिमाया बरालको कुरा गरौं वा छायादेवी र इन्दिरा चापागाईंहरूको, चितवनकी सुकमाया दराईको कुरा गरौं वा धादिङकी बालकुमारी थपलियाको। कास्कीकोटकी हरिकला सुवेदीको भनौं वा नवलपरासीको विष्णुमाया सुवेदी वा पिस्करका क्रान्तिकारी महिलाहरूले प्रहरीको घोराबाट अनेकौं जुक्ति र आँट गरेर भूमिगत नेताहरूलाई जोगाएका कथा।
अथवा, रूपन्देहीका शकुन्तला चमार, सावित्री न्यौपाने, सुशीला न्यौपाने; फाखेलकी ठूली बलदेखि मकवानपुर हटियाकी बालकुमारी थापा र विष्णुमाया राईजस्ता अरू सैयौं आमाहरू थिए, जसले भूमिगत नेता–कार्यकर्ताहरूलाई आफ्नै सन्तानझैं मायाले लुकाउने, खुवाउने र बसाउने नगरेको भए सायद क्रान्तिमा लाग्ने धेरै योद्धाहरूको जीवनलीला त्यही बेला समाप्त हुन्थ्यो।
गाउँका आमाहरू पढेलेखेका थिएनन्। सिद्धान्तका धेरै कुरा जान्दैनथे तर आँट, समझदारी र क्रान्तिप्रतिको लगाब कुनै योद्धाको भन्दा कम थिएन।
२०४६ सालको आन्दोलनमा आमाहरूको भूमिका र आँटबारे कास्कीकोटका मेघराज सुवेदीको आफ्नै अनुभूति छ। मेघराजहरू एक पटक जौबारीमा काम गर्दै थिए। आमा खाजा लिएर त्यहीँ पुगेको समयमा प्रहरी आएर मेघराजलाई नियन्त्रणमा लियो।
आमाले 'खाजा त खान देऊ' भन्दा प्रहरीले उल्टै आमालाई समेत दुर्वाच्य बोलेर मुख छाड्यो।
त्यसपछि आमाको दृढ प्रतिक्रिया आयो — मेरो एउटा छोरो लगेर तिमीहरूको व्यवस्था जोगिन्छ भन्ने लागेको छ भने लैजाओ। तर, मेरा हजारौं छोरा छन्। तिनले यो व्यवस्था फेरेरै छाड्छन्।
आमाले त्यसो भनेर पठाएको केही समयमै पञ्चायती व्यवस्था ढल्यो। आमाको खुसीको सीमा रहेन।
यी तमाम आमाहरूले नेपाली क्रान्तिका लागि आफूले जन्माइ, हुर्काइ गरेका छोराछोरी मात्र पठाएका थिएनन्। भूमिगत कामको सिलसिलामा आएका योद्धाहरूको हेरचाह र सुरक्षा गर्ने सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी पनि तिनै आमाहरूले निर्वाह गरेका थिए। त्यस क्रममा सयौं आमाहरू प्रहरीको फन्दामा पर्नुका साथै यातना भोग्न तयार भए। गिरफ्तार भएर चौकी मात्र होइन, निस्फिक्री जेलजीवन बिताउन पनि तयार भए। तिनको योगदान कसैसँग तुलना हुनै सक्दैन।
आमाहरूको त्यो योगदानलाई हाम्रो राजनीतिक इतिहासले कति मर्यादा र सम्मान गर्न सक्यो? राजनीतिक परिवर्तनपछिका दिनमा कति सम्झनामा राख्न सक्यो? राजनीतक दलले तयार गरेका दस्ताबेजमा त्यो इतिहासलाई कति स्थान दिन सक्यो?
यो अहम प्रश्न हो।
निर्दलीय पञ्चायती कालमा पार्टी बनाउने र बँचाउने भुइँमान्छेहरूको खोजी गर्ने क्रममा सम्पर्कमा आउनुभएका र छलफलको क्रममा उद्धृत भएका नामका आधारमा केही आमाहरूबारे मात्र यहाँ उल्लेख गरिएको छ।
तर यस्ता सयौं आमाहरूको सम्पर्कमा पुग्न समय र स्रोतका कारण सम्भव भएन।
समरियादेवी महरा (नानी)- सर्वहारा वर्गीय आश्रयदाता
समरियादेवी (नानी अर्थात आमा) को परिवारमा एक छोरा र एक छोरी थिए। दुवै पहिला नै बिते। त्यसपछि घरमा नानी, उनकी बुहारी र नातिनातिना मात्र थिए। नानीको सन्ठीले बारेको सानो छाप्रो थियो। तर, मन र मानवता ठूलो भएपछि घर सानो भएर केही फरक पर्दो रहेनछ। आफन्तहरू जति पनि अटाउन सक्ता रहेछन् भन्ने उदाहरण बन्यो त्यो घर।
परिवारको जीवन धान्ने पेसा कृषिश्रम थियो। त्यस बेला दैनिक पारिश्रमिक तीन सेर धान दिइन्थ्यो। त्यस कारण नेताहरूका लागि खाने सामानको व्यवस्थापन सलिममिया अन्सारीले गरिदिन्थे। रहँदै, बस्तै जाँदा समरियादेवी एक क्रान्तिकारी आमाको रूपमा देखा परिन्। गाउँभरिका महिलालाई पनि क्रान्तिको पक्षमा गोलबन्द गर्दै नानी गाउँका महिलाकी अगुवा बनिन्।
अहिले पनि जस्ताको तस्तै रहेको उक्त घरमा नानीकी बुहारी र नातिनातिना बस्छन्। कृषि श्रमिकका रूपमा काम गरेर गुजारा गर्छन्। यस क्षेत्रमा अरू पार्टी समर्थक र कार्यकर्ताको पनि आर्थिक अवस्था नाजुक थियो। खानेकुरा अभाव हुँदा कतिपय समयमा जमिनदारको घरमा चामल फल्दा निस्किने मसिनो ढुटो ल्याएर कोदोको पिठोमा मिसाएर पकाएको रोटी र घुँगीको अचारसमेत नेताहरूसँग बाँडेर खाने अवस्था हुन्थ्यो। त्यसैले यस क्षेत्रमा पार्टी भेला र अन्य कार्यक्रम आयोजना हुँदा सहभागी हुन आउने कमरेडहरू खानाका लागि आफैले चामल बोकेर आउने चलन थियो।
पञ्चायत कालका विद्यार्थी नेता अच्युत मैनालीसँग नानीको बस्तीमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आफै पनि धेरै पटक चामल बोकेर गएको सम्झना अझै ताजै छ। कार्यक्रम गरिने घरका आश्रयदाता त्यही चामल पकाएर कार्यक्रमका सहभागीलाई खुवाउँथे। धेरै जनाका लागि आश्रयको व्यवस्था गर्नुपर्दा नन्दलाल र बिन्दलाल रायभार लगायतका घरमा पनि बस्ने व्यवस्था गरिन्थ्यो।
लक्ष्मीदेवी निरौलाः पार्टीकी आमा
सम्वत् १९८४ तिर जन्मिएकी इटहराकी आमा लक्ष्मीदेवी निरौलाका सन्तान (कुमार निरौला, दीनानाथ निरौलाहरू) क्रान्तिमा लागेका थिए। उनीहरूको क्रियाशीलतासँगै उनको घर मदन भण्डारी लगायत भूमिगत नेता–कार्यकर्ताको आश्रयस्थल बन्न थाल्यो। लक्ष्मीका घरमा पुगेका हरेक भूमिगत नेता–कार्यकर्ता आमाको माया पाउँथे। कुनै पनि बेला कोही पनि घरमा आइपुग्दा खाना खाए–नखाएको, सन्चोबिसन्चोबारे सबभन्दा बढी आमालाई नै चासो हुन्थ्यो।
९५ वर्षको उमेर पनि पहिलाको क्रान्तिकारी गीत गाउँदा खुसी देखिने लक्ष्मी आमाको सुनाइमा केही समस्या थियो। २०३५ सालमा नेकपा (माले) गठनको सन्दर्भमा आउने कतिपय प्रतिनिधि पहिले यही घरमा पुगेका थिए।
दीनानाथ निरौलाका अनुसार देशका विभिन्न ठाउँबाट आउने प्रतिनिधिहरूलाई फरक सम्पर्क स्थान दिइएको थियो। फरक दिशा र समयमा आउने नेताहरू चिन्न 'सम्पर्क संकेत' का रूपमा रूमाल देखाउने र त्यसपछि पहिचान सुनिश्चितका लागि केही प्रश्न तय गरेर तालिम दिइएको थियो।
भेटिसकेपछि पहिला नेताहरूलाई किसानको घरमा लैजाने र केही समय राख्ने निर्देशन थियो। सोहीअनुसार केही नेताहरूलाई प्रजापति खतिवडाको घरमा लगेर राखियो र साँझ परेपछि कुमार निरौलाको घरमा लगियो। साँझ थप मानिस आउने जानकारी नहुँदा खाना परिवारका लागि मात्र पाकेको थियो। नेताहरूले 'थप दुःख दिनु हुँदैन' भनेर 'जति छ बाँडेर खाऔं' भन्ने प्रस्ताव गरे।
उक्त घटना सम्झना गराउँदा आमाको प्रतिक्रिया थियो — पहिला पनि उनीहरू आउँथे। घरमा बस्थे। गोठाला खेतालाहरू सँगसँगै काम गर्थे। घरमा खाने, बस्ने व्यवस्थामा पनि आफै संलग्न हुन्थे। कसैकसैले त खाना पनि पकाइदिन्थे। व्यवस्था फेर्ने हो आमा भन्थे। अनि राज्यसँग लड्न सक्छौ त भन्दा 'सक्नुपर्छ, हामीले नै गर्ने हो' भन्थे।
टेकबहादुरको घरमा बैठक बस्न जाने बेलामा पनि साँझ खाना खाने बेलातिर आए। तयार गरिएको खाना थोरै थियो। हामीलाई थप दुःख होला भनेर उनीहरू पाकेको जेजति छ, त्यही बाँडेर खाऔं भन्न थाले। जे छ त्यही बाँडेर खाने भए घर पनि खोलाको डिल एकान्तमा छ, लालबहादुर सार्कीको घर गएर बैठक बस भनिदिएँ। किनकि उनको घरमा खानेकुरा थिएन।
'जे छ त्यही बाँडेर खानै पर्थ्यो। तर हाम्रो भकारीभरि धान छ। यहाँ बस्ने हो भने फेरि पकाउने र पेटभरि खाने अनि बैठक बस्ने। कहाँ बस्छौ, निर्णय तिमीहरू नै गर,' आमाका कुरा सुनेपछि नेताहरू चुप लागे। उनीहरू बैठक बस्दै गर्दा भान्सामा फेरि खाना पाक्यो। खाना खाइसकेर राति नै नेताहरू टेकबहादुर राईको घर गए र भोलिपल्ट पुस ११ गतेबाट पार्टी बैठक सुरू भयो।
आमाहरूका यस्तै खरा कुरा र मनैदेखिको ममताले स्थापनाको एक दशकमा मुलुककै अगुवा पार्टीमध्येको एकका रूपमा नेकपा (माले) स्थापित हुन सम्भव भएको हो। यो कुरा वर्तमान र भावी पुस्ताले स्मरणमा राख्न सक्नुपर्छ।
बालकुमारी थापाः पार्टी निर्माणको बलियो खम्बा
२००१ सालमा जन्मिएकी बालकुमारी थापालाई २०२१ सालमा शिक्षक बद्रीप्रसाद खतिवडाको सम्पर्कमा आएदेखि नै परिवर्तनको पक्षमा चासो बढ्न थालेको थियो। समाज परिवर्तनको पक्षमा सामान्य परिवारकी बालकुमारीको विचार जीवनभर एक अविचलित योद्धाको पहिचान बन्यो। २०२४ सालको 'बिउ काण्ड' को नामले चर्चित किसान आन्दोलनमा धरपकड चलेपछि वारेन्टेड आन्दोलनकारीको संरक्षण गर्ने समयदेखि नै उक्त घर क्रान्तिकारीको आश्रयस्थल बन्न थाल्यो।
२०३३–३४ सालदेखि पार्टीको बैठकस्थलसमेत बन्न थाल्यो त्यो घर। तीन छोरा र दुई छोरीकी आमा बालकुमारीका श्रीमान तिलकबहादुर थापा रोजगारीको सिलसिलामा धेरैजसो घरबाहिरै हुन्थे। अर्काको जग्गा अधियाँमा कमाउने बालकुमारीको परिवारलाई त्यसको उत्पादनले सामान्य खान पुग्थ्यो। आश्रय लिन आउने भूमिगत नेता–कार्यकर्ता भान्सामा जे पाक्थ्यो, त्यही बाँडेर खान्थे। तर ठूलो भेला, बैठक भएको समयमा भने गाउँभरिका समर्थकहरूबाट अन्न, सागपात, दहीदूध जसले जेजति सहयोग गर्न सम्भव हुन्छ, त्यही जम्मा गरिन्थ्यो।
खरले छाएको सामान्य घरको माथिल्लो तलामा भूमिगत बैठक हुन्थे। भुइँतलामा भातभान्साको काम हुन्थ्यो। छोराछोरी सबै सहयोगी थिए। पार्टी काममा धेरै समय र स्रोत लगाउन थालेपछि भने बुबा त्यति खुसी नभएको छोरा प्रदीप बताउँछन्। तर आमाको अनवरत मेहनत, अविचलित विचार र सहयोगी भावनाका कारण पार्टी गतिविधिमा लागिरहने र आफूले सकेको सहयोग गर्ने काम अन्तिमसम्म पनि निरन्तरता रह्यो।
बहुदल आएपछि कतिपयले धेरै फाइदा उठाए पनि बालकुमारीको कुनै ठूलो माग र चाहना थिएन। २०५४ सालमा वडा सदस्य निर्वाचित भएपछि भने जिल्ला विकास समितिको उपसभापति हुन पाए हुन्थ्यो भन्ने चाहना देखिएको थियो। तर पार्टीले सदस्य मात्र बनायो। त्यसमा भने नेतृत्वप्रति आफ्नो असहमति देखिएको थियो।
त्यसपछिका दिनमा बालकुमारीको पार्टीसँग अरू कुनै माग र अपेक्षा थिएन, पार्टी काममा निरन्तरता थियो। २०७७ सालमा मृत्युवरण गरेकी आमाको विचारप्रतिको प्रतिबद्धता र संगठन निर्माणमा गरेको त्याग सम्झिँदै अहिले पनि छोराहरू भावुकतासाथ गर्वानुभूति गर्छन्। कमसेकम नेकपा (एमाले) परिवारले बालकुमारीहरूको योगदानलाई स्मरणमा राखेर न्याय गर्न सक्नुपर्छ।
ठूली बलः पार्टीकी दिदी
पञ्चायत कालभरि फाखेलको पूरै गाउँ मालेको समर्थक र सबै घर सुरक्षित आश्रयस्थल थियो। त्यसमध्ये पनि जंगलको छेउको एकान्तमा रहेको ठूली बलको घर बैठकका लागि थप सुरक्षित थियो। पार्टीका लागि सुरक्षित आश्रयस्थलकै लागि भनेर वीरबहादुरको पहलमा बाटोबाट निकै माथि गाउँ र जंगलको सिमानामा रहेको सानुकान्छा लामाको बारीमा ठूली बलको घर बनाइयो। त्यसलाई सबैले 'दिदीको घर' भन्थे।
असाध्यै इमानदार, आँटिली र सहयोगी ठूलीलाई कतिपयले 'पार्टीकी आमा' पनि भन्थे। फाखेलको बाटो काठमाडौं–हेटौडा गर्ने प्रायः सबै भूमिगत नेता–कार्यकर्ताका लागि यो सुरक्षित आश्रयस्थल थियो।
आर्थिक रूपमा ठूली बलको परिवार अभावमै बाँच्यो। तर मन विशाल थियो। जो, जतिखेर आए पनि घरमा जेजस्तो छ, त्यस्तै खान र बस्न दिने कुरामा कहिल्यै कमी रहेन। पञ्चायत कालभरि यो पार्टीकै घर बराबर भयो।
आधारभूत वर्गका मानिसहरू असाध्यै इमानदार हुन्छन्। सेल्टरमा कहिलेकाहीँ पैसाको एउटा सिक्का वा लेखिएको कागजको टुक्रा भेटियो भने पनि सुरक्षित राखिदिने र अर्को पटक भेट हुँदा पार्टीको सम्पत्ति भनेर दिने गर्थे। ठूली बल तिनैमध्येकी एक थिइन्।
उनै ठूली बलले जेलब्रेकबाट निस्किएका बन्दीका लागि काकी इन्द्रमायाले भुटेको मकै जंगलछेउको गुफामा पुर्याएकी थिइन्। त्यही मकै र गुन्द्रुकको अचार खाएर जेलबाट निस्किएर जंगल पसेका नेताहरूले भोक मेटेका थिए। वीरबहादुर लामाका ठूलाबाकी छोरी ठूली बललाई सबैले 'पार्टीकी दिदी' भनेरै सम्मानसाथ व्यवहार गरे।
पहिलादेखि नै भाइ वीरबहादुरबाट अलिअलि क्रान्तिका कुरा सुनेकी ठूलीमा नख्खु जेलब्रेकबाट निस्किएका कमरेडहरूलाई सहयोग गर्ने कामसँग जोडिएपछि सक्रियता थपिएको थियो।
ठूलीको घर पार्टी नेताहरूको नियमित आश्रयस्थल त थियो नै। त्यसका साथै त्यस घरमा पार्टीका केन्द्रीय तहका भेला र बैठकहरू पनि हुने गर्थे। खानेकुराको जोहो गर्न गाउँभरिबाट अन्नपात र सागसब्जी जम्मा गरिन्थ्यो। जस्तै अप्ठ्यारोमा पनि पार्टीका मान्छेलाई सहयोग गर्ने काममा कहिल्यै नाइँनास्ती भएन।
ठूली बलले भूमिगत कालमै दुर्घटनामा परेर जेठो छोरो गुमाउनुपर्यो। त्यतिखेर धेरै कमरेडहरूले देखाएको सहानुभूतिले मनोवैज्ञानिक रूपमा धेरै सहयोग पुगेको थियो। केही समयपछि श्रीमानको पनि निधन भयो। पछि उनले अर्को विवाह गरिन्। परिवार ठिकै चल्दै थियो। दोस्रो श्रीमानको पनि असमयमै निधन भयो।
तर ती कुनै दुःखले ठूलीलाई कहिल्यै विचलित बनाएन। भूमिगत काममा निरन्तर सहयोग कायम रह्यो। त्यसको पहिचान स्वरूप बहुदल आएपछि राज्यको तर्फबाट ५० हजार रूपैयाँ सहयोग गरिएको थियो।
राजनीतिक परिवर्तनपछि पार्टीको सम्झनामा खासै नरहेकी ठूली बल नसा खुम्चिने रोगले केही वर्ष थला परेर बस्ता भने पहिला आउने, बस्ने नेताहरूसँग सम्पर्क टुटेको थियो। उपचार राम्रो हुन सकेन। जवानीभरि दुनियाँ बदल्ने सुन्दर सपनाको भारी बोकी 'पार्टीभन्दा ठूलो केही छैन' भनेर क्रान्तिकी सहयोगी बनेकी ठूली बललाई आफ्नै आँगन परदेश हुन पुग्यो।
अन्ततः त्यही रोगका कारण उनको निधन भयो।
पार्टीको सामान्य सम्पर्कमा रहेका दुई छोरा अहिले पनि त्यही गाउँमा खेतीपाती गरेर बसेका छन्।
ठूली बलको निधनपछि विगतमा पार्टी निर्माणमा पुर्याएको योगदानको सम्झनामा शोकसभा आयोजना भएको थियो। त्यस क्रममा उनको योगदानका सम्झनामा केही रचनात्मक काम गर्ने प्रतिबद्धता जाहेर पनि गरियो। हालसम्म कुनै काम नभए पनि उक्त प्रतिबद्धता कुनै दिन पूरा होला भन्ने आशा कायम छ।
छाप्रे चिया पसलकी आमाः सम्बन्ध र सम्पर्कले जगाएको चेतना
पोखरास्थित केआई सिंह पुलको बगरछेउमै एउटा सानो छाप्रो थियो। त्यहाँ एक जना नेवार आमाको चिया पसल थियो। दुई–तीन जना बच्चाकी आमाका श्रीमान कहिल्यै देखिएनन्। कसैले सोधीखोजी पनि गरेनन्। आमा खुब मिठो चिया खुवाउने र विद्यार्थीहरूसँग पैसा नभएका बेला महिनौंसम्म पनि उधारो दिने हुँदा उनी सबैकी प्यारी आमा थिइन्।
समयक्रममा बिस्तारै उनको पसल नेकपा (माले) को सम्पर्क स्थाल बन्न थाल्यो। यहाँ छाडिएका पत्रहरू सुरक्षित रूपमा सम्बन्धित व्यक्तिले पाउँथे। नयाँ मान्छे भेट्नुपर्दा वा अर्को ठाउँमा लैजानुपर्दा आमाको चिया पसल भेटघाटस्थल बन्थ्यो। यसरी छाप्रे चिया पसल र साहुनी आमाको तर्फबाट नजानिँदो पाराले नेपालको वामपन्थी आन्दोलनमा ठूलो योगदान पुगेको थियो।
सेतीपारिपट्टि पौडेल थरकी अर्की आमा थिइन्। उनका पनि दुई–तीन जना छोराछोरी थिए। २०४३ सालमा पार्टीले पञ्चायतको उपयोग नीतिअन्तर्गत खुला कार्यक्रम गर्न थालेपछि दुवै आमाहरू प्रायः कार्यक्रममा सँगसँगै सहभागी हुन्थे। यो क्रम २०४६ सालको आन्दोलन र त्यसपछि पनि निरन्तर रह्यो। अहिले यी दुवै आमा हामी माझ छैनन्। तर पोखराका पुराना पुस्ताका वामपन्थी अभियन्ताहरूको स्मरणमा उनीहरूले पुर्याएको सहयोग सधैं ताजै छ।
हरिकला सुवेदीः आँट र साहसकी उदाहरण
कास्कीकोट बैठक बसेको घरकी क्रान्तिकारी आमा हरिकला सुवेदी स्वभावैले हठी थिइन्। घरमा बैठक हुँदा होस् वा भूमिगत कमरेडहरू आएर बसेको समयमा, बाहिरी मानिस आइहाले भने कुरा मिलाएर फिर्ता पठाउने आमाको आफ्नै सीप र शैली थियो। खाने, बस्ने कामको भित्री व्यवस्थापनमा हरिकला आमाको मुख्य भूमिका हुन्थ्यो नै। त्यसभन्दा बाहेक पनि बाहिरी निगरानीका लागि सचेत पहल अचम्मको थियो। कतिपय कार्यक्रममा अप्ठ्यारो हुन सक्ने आभास हुँदा आमाको उपस्थिति झनै अगाडि हुन्थ्यो।
आमाको चतुर्याइँका धेरै घटनामध्ये २०४६ सालको घटनाबारे भुवनेश्वर सुवेदीको सम्झना यस्तो छ— २०४६ फागुन ७ गते हामी जुलुसमा जाँदै थियौं। आमाले 'म पनि जान्छु' भन्दा पर्दैन भन्दै म हिँडेँ। तर नालामुखमा पुगेर नारा–जुलुस गर्दा आमालाई त्यहीँ देखेँ। ममाथि वारेन्ट थियो। जुलुस सकेपछि यसो छेउमा कुरा गर्दैगर्दा प्रहरी आएर च्याप्प समात्यो। आमाले अर्कोपट्टि समाएपछि तानातान भयो। अब छाड्दैन भन्ने लागेपछि मैले भनेँ— छाडिदिनोस् आमा, म भरे आइहाल्छु नि! तपाईं घर जाँदै गर्नोस्।
आमाले छाडेपछि म प्रहरीको गाडीमा थिएँ। मैले आमालाई अस्पताल लिएर आएको थिएँ, अब बिरामी आमा कसरी जानुहुन्छ भनेपछि प्रहरीले पत्याएर मलाई छाडिदियो। त्यसपछि म भूमिगत भएँ। बिचरा, पछि त्यो प्रहरीले नै 'मान्छे नचिनी छाडेको' भनेर कुटाइ खाएछ।
हरिमाया बरालः विद्यार्थी जोगाउन आफै हिरासतमा
झापाका सबै क्रान्तिकारीहरूकी आमाको नाम हो हरिमाया बराल। झापा दमकस्थित हरिमायाका छोरा विश्व बराल पनि व्यवस्था परिवर्तनका लागि भूमिगत हिँडेका योद्धा हुन्। क्रान्तिका कुरा गर्ने सबैलाई छोरा विश्वकै रूपमा देख्ने र सोच्ने हरिमायाको घर सबैको आश्रयस्थल बन्दै थियो।
यहाँ आएको समयमा आमाले एक पटक मदन भण्डारीलाई के खान्छौ, कहाँ बस्छौ भनेर कुरा गर्दै जाँदा मदनले पनि कतिपय बेला जंगलमा पनि बास हुने, खानेकुरा नहुँदा झोलामा बोकेको चामलमा वनमा भेटिएका फलफूल मिसाएर भोक मेटाउने बताएका थिए।
त्यसपछि आफ्नो घरमा आश्रय लिन आइपुगेका पार्टीका कोही पनि भूमिगत नेतालाई उपलब्ध भएसम्म खिर, ढकनी, चाम्रे लगायतका मिठा खानेकुरा खुवाउने र हिँड्ने बेलामा झोलामा भुटेका मकै, भटमास, चामल, गहुँ जे उपलब्ध छ, त्यही हालिदिने गर्न थालिन्।
भूमिगत व्यक्तिलाई आश्रय दिएको र सहयोग गरेका कारण हजारौं आमाहरू प्रहरीको फन्दामा पर्नुका साथै गिरफ्तार भएका घटना छन्। त्यसमध्ये एक हुन् हरिमाया आमा।
दमकस्थित आफ्नै गाउँमा डेरा लिएर बसेका अखिलका विद्याथीहरू परीक्षाको तयारीमा जुटेका थिए। एक दिन ती विद्यार्थीलाई प्रहरीले गिरफ्तार गर्दैछ भन्ने खबर आयो। उनीहरूलाई जोगाउनु थियो। उनीहरूले 'प्रहरी आउँदै छ, हामी पछाडिबाट भाग्छौं, त्यतिखेरसम्म प्रहरीलाई अलमल्याइदिन' आग्रह गरे।
विद्यार्थी जोगाउन सडकमा निस्किएकी आमालाई नै प्रहरीले गिरफ्तार गर्यो।
सो घटनाबारे हरिमाया आमाको सम्झना यस्तो छ — परीक्षाको तयारीमा लागेका विद्यार्थीलाई गिरफ्तारीबाट जोगिन भाग भन्दै थिएँ। तर भाग्न नभ्याउदै प्रहरी आइपुग्न लागेपछि म गएर बीच सडकमा बसेँ। अञ्चलाधीश र सिडिओको गाडी आयो। 'बाटो छाड्' भने। म अस्पताल हिँडेकी, उठ्न सक्दिनँ भनेर बाटैमा सुतेँ। अलिअलि सवालजबाफ भयो। त्यसपछि 'नेतै रैछ, ट्रकमा हाल्' भन्यो। मैले पनि किन ट्रकमा हाल्छौ, तिम्रै गाडीमा जान्छु नि भनेँ। उनीहरूले उठाएर आफ्नै गाडीमा राखे।
गाडीमा लाँदै गर्दा उनीहरू मुख छाड्न थाले। मैले तिमीहरूलाई पनि हामीजस्तै आमाले जन्माएका हुन्, तिम्रा राजालाई पनि आमाले नै जन्माएका हुन्, यहाँ आएर ठूला कुरा गर्छौ भनेपछि अलि गाली कम गरे। सिडिओको गाडीमा पहिला चारपाने प्रहरी चौकी लग्यो। के खाने भनेर सोधेका थिए। केही खान्नँ भनेँ। त्यसपछि साँझ चन्द्रगढी लग्यो। कोठामा राखिएको कपडाभरि जुम्रैजुम्रा रहेछ। म आफैले लगाएको कपडा मिलाएर ओछ्याए भुइँमै सुतेँ। भोलिपल्ट खिचडी पकाएर दियो। खान्नँ भनेँ।
हिरासत बसेको चौथो दिन पानी मागेर खान लागेको, निल्न सकिनँ। बेहोस भएर लडेछु। त्यसपछि भद्रपुर अस्पताल लगेछन्। त्यहाँ औषधि दिए। अलि ठिक भएपछि आफन्त बोलाएर जिम्मा लाउने कुरा गरे पनि फेरि हिरासतमै लगेर लडाए। साँझमा आफ्नो मान्छे बोलाउन भने। छोरो विश्व र बुहारी विष्णु खड्का दुवै भूमिगत थिए। त्यतिखेर घरमा टेलिफोन हुने कुरै भएन।
त्यहीँ अमिन कार्यालयमा काम गर्ने एक जना ताप्लेजुङका पराजुली थिए। उनैलाई खबर गर्न लगाएँ। उनी आएपछि उनैको घरमा लगेर छाडिदिए। त्यो दिन त्यहीँ बसेँ। चाम्रे पकाएर खान दिए, निलिएन। त्यसपछि मुलाको चानो मागेर खाएँ। अलि आँत रसाएझैं भयो। त्यसपछि थोरै खाना खाएर सुतेँ। भोलिपल्ट कृष्ण पोखरेलसँग बीस रूपैयाँ मागेर दमक आएँ। हिँड्न सकिनँ। एक दिन नजिकै सम्धीको घरमा बसेँ र पाँचौं दिन मात्र घर फर्किएँ।
यो गिरफ्तारीपछि आमालाई भूमिगत नेता–कार्यकर्ताको झन् माया लाग्यो। आश्रय मात्र दिने हामीलाई त प्रहरीले यसरी यातना दिन्छ भने क्रान्तिमै लागेकाहरूलाई समात्यो भने त झन् के गर्छ होला जस्तो लाग्न थाल्यो।
२०४६ सालको आन्दोलन र त्यसपछिका पार्टी गतिविधिमा पनि हरिकला आमाको क्रियाशीलता रहिरह्यो। अहिले अस्वस्थ भएर छोराबुहारी, नातिनातिनाका साथ घरै बसे पनि पार्टीको चिन्ता र चासो कायमै छ।
यस्ता आमाहरूको त्यो साहसपूर्ण योगदानलाई हाम्रो राजनीतिक इतिहासमा मर्यादाका साथ सम्मान गर्न सकेको दिन नै राजनीति मर्यादित हुनेछ। राजनीति मर्यादित भएको दिन समाजमा प्रगतिशील सोच र व्यवहार स्थापित भई विकासका साथ मानवीय पक्ष बलियो हुनेछ।
नर्मदा खरालः कूटनीतिक आमा
स्याङ्जा गोलादीकी नर्मदा खराललाई सबै भूमिगत नेता–कार्यकर्ता 'पार्टीकी आमा' भन्थे। पार्टी निर्माणमा उनको भूमिका अविस्मरणीय थियो। भूमिगत नेता–कार्यकर्ताका लागि सधैं खुला नर्मदा खरालको घर पूर्ण सुरक्षित मात्र थिएन, उनी सुरक्षा सचेततामा निकै ध्यान दिन्थिन्।
नर्मदा खरालका छोराबुहारी र नातिनातिनाका अनुसार बहुदल आएपछि नर्मदा आमालाई तपाईंको इच्छा के छ भनेर नेताहरूले सोधेका थिए। आमाको व्यक्तिगत केही नभए पनि दुइटा माग भइरहे।
पहिलो, बिरामी हुँदा घरैबाट एम्बुलेन्स चढेर अस्पताल जान पाइयोस् (अर्थात् गाउँसम्म आउने–जाने मोटर बाटो बनोस्)।
दोस्रो, यस घरमा भएको बैठकमा सहभागी मदन र पटक पटक आश्रय लिएका जीवराज आश्रितको दासढुंगा घटनामा मृत्यु भएकाले उनीहरूको सम्झनामा यो गाउँमा कुनै स्थायी संरचना बनोस्।
१०४ वर्षको उमेरमा नर्मदा आमाको निधन भयो। अहिले आमाको पहिलो इच्छा पूरा हुने चरणमा छ। दोस्रो इच्छा पूरा गर्न स्थानीय जनताले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउनेसम्मका कुरा भएका थिए। तर पार्टी वा सरकारको तर्फबाट कुनै योजना नभएका कारण मदन–आश्रितको स्मृतिमा अहिलेसम्म केही बन्न सकेको छैन। आमाको माग गाउँका सबै कमरेडहरूको माग भएको छ।
पार्टी सम्बद्ध विषय हो, जनप्रिय नेता मदन–आश्रितको स्मृतिमा कुनै संरचना बने पार्टी निर्माणमा लागेका नेता–कार्यकर्तालाई सन्तानसरह माया गर्ने आमाप्रतिसमेत श्रद्धा र सम्मान अनि गाउँप्रति न्याय हुनेछ। यस्ता चाहना यहाँ मात्र होइन, अप्ठ्यारो समयमा पार्टी निर्माणको मुख्य आश्रयस्थल रहेका अरू ठाउँमा पनि त्यसको स्मरणीय चिनोको रूपमा केही स्थायी संरचना बनिदिए हुन्थ्यो भन्ने चाहना प्रायः सबै ठाउँमा देखिन्छ।
विष्णुमाया सुवेदी, ७९ वर्षमा पार्टी सदस्यता माग
नवलपुरको भुताहा गाउँ नेकपा (माले) को प्रभाव क्षेत्र थियो। विष्णुमाया र इन्द्र सुवेदी (श्रीमतीश्रीमान) पार्टी सम्पर्कमा थिए। रातबिरात जतिखेर जति जनाको जत्था आए पनि खाना बनाउने, खुवाउने, बस्ने, सुत्ने व्यवस्था गर्न आमा विष्णुमाया सुवेदीलाई कहिल्यै झर्को भएन। पार्टीका महत्त्वपूर्ण कागजपत्र आफ्नो सन्दुकको पिँधमा राखी त्यसमाथिपट्टि अरू सामानले ढाक्ने विष्णुमायालाई पार्टीप्रति अहिले पनि अगाध माया छ।
विष्णुमाया तत्कालीन राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसद सोमनाथ अधिकारी प्यासीकी सासूआमा भएकाले पनि त्यो घर कम निगरानीमा पर्थ्यो। २०४३ सालमा बुटवलमा कार्यक्रम हुँदा जनपक्षीय रापंससहितको टोलीमा गोल्छे सार्की पनि थिए।
सार्कीलाई खाना खुवाउन भित्र राख्ने कि बाहिर भन्ने मुखामुख भयो। विष्णुमायाले कसैलाई पनि विभेद गर्नु हुँदैन भनेको होइन भनेपछि सबैले सँगै बसेर खाना खाए। त्यो घरमा सबै मानिस बराबर हुन् भन्ने भावना मात्र थिएन, व्यवहार पनि त्यस्तै हुन्थ्यो। त्यसैले त्यस घरमा पुग्ने सबैले विष्णुमायालाई पार्टीकी आमाकै संज्ञा दिन्थे।
तर जसरी सन्तानलाई नौ महिना पेटमा राखेर जन्म दिने र हुर्काउने गरे पनि सन्तानको नागरिकतामा आमाको पहिचान गुमनाम बनाइन्छ, पार्टी राजनीतिमा पनि त्यस्तै भयो। त्यति धेरै माया गर्ने आमालाई त्यहाँ गएर बस्ने कुनै नेताले सदस्यता लिनुहुन्छ आमा भनेर कहिल्यै सोधेनन्। २०४६ सालमा मुलुकमा बहुदल स्थापना भयो, यो घर सबैका लागि उत्तिकै आत्मीय रहिरह्यो।
२०६३ सालमा राजतन्त्र समाप्त भएर गणतन्त्र आयो। तर आमालाई पार्टी सदस्यताको बारेमा कसैले सोधेन। २०६९ सालमा आमाको उमेर ७९ वर्ष पूरा हुँदै थियो।
एकदिन पार्टीका स्थानीय कार्यकर्ता घरमा आएका बेला आमाको प्रश्न थियो— बाबु तिमीहरूको पार्टीको सदस्यता हामीले लिन मिल्दैन?
जबाफ आयो, 'मिल्छ आमा।'
आमाको थप आग्रह— त्यसो भए मलाई पनि सदस्य बनाइदेऊ। त्यसका लागि के के चाहिन्छ, लिएर जानू।
केही दिनमै आमालाई नेकपा (एमाले) को सदस्यता दिइयो। पार्टीलाई सहयोग गर्न थालेको पाँच दशकपछि आमाको हातमा पार्टी सदस्यता प्राप्त भयो।
पुराना आश्रयदातासँग भेटघाट गर्ने क्रममा उक्त निवास पुगेको समयमा ७९ वर्षको उमेरमा पार्टी सदस्यता किन चाहिएको आमा भनेर सोद्धा जबाफ थियो— भूमिगत कालमा त्यति धेरै छोराछोरी आए। बसे, खाए, सुते। पार्टी ठूलो भयो। सरकारमा पनि पुग्यो। आफैले माया गरेको पार्टीको सदस्यता लिन पाए मरेपछि झन्डा ओढाइदेलान् भन्ने आशा थियो। तर उनीहरूले कहिल्यै सदस्यता दिने कुरा गरेनन्। त्यसैले आफैले मुख फोरेर मागेर सदस्य बनेकी।
पार्टीमा महिला सदस्य किन कम भन्ने प्रश्नको उत्तरका लागि यसलाई एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ। पार्टी र पार्टी नेतालाई जोगाउने महिलाहरूलाई सदस्य बनाउने काममा भूमिगत कालदेखि नै पार्टीभित्र उचित ध्यान पुग्न सकेको थिएन। बहुदल आएपछि पनि यो प्रवृत्ति फेरिएन। कार्यक्रममा जनसहभागिता देखाउन र निर्वाचन लगायत अभियान गर्नुपर्दा महिलाको उल्लेख्य सहभागिता हुँदै आएको कुरा जगजाहेर छ।
तर सदस्यता र संगठनमा जिम्मेवारी दिने सन्दर्भमा अनदेखा गरिने व्यवहारमा आमूल परिवर्तन आवश्यक छ। अझ संविधानसम्मत रूपमा समानुपातिक सहभागिताको प्रावधान कार्यान्वयनका लागि महिला सदस्यता वृद्धिमा पहल गर्नु सामाजिक रूपान्तरणको अनिवार्य पक्ष हो। पार्टीले विगतको समेत समीक्षा गरेर कमीकमजोरीलाई सिकाइको विषय बनाउन सक्नुपर्छ।
मानकुमारी बलामीः पार्टीका लागि मुठिदान संकलन
मनकुमारी बलामीको घर एकान्तमा थियो, आर्थिक अवस्था कमजोर। महोत्तरी कालापानीस्थित मगर बस्ती नै तत्कालीन माले समर्थक भएकाले भूमिगत बस्न सुरक्षित थियो। त्यसैले मानकुमारीको घरमा प्रायः दुई/चार जना भूमिगत नेताको बास टुट्दैन थियो। त्यहाँ आउने मानिसहरूले नयाँ नयाँ कुरा सुनाउँथे, सधैं मुक्तिका कुरा गर्थे। त्यसैले पनि केही दिन आश्रय लिने व्यक्ति आएनन् भने बस्तीका सबैलाई नियास्रो लाग्थ्यो।
घरमा आउनेका लागि खानेकुराको व्यवस्था गर्न वाली भित्र्याउने बेला पार्टीको नाममा अन्न संकलन गरी पार्टीको भकारी राखिन्थ्यो। तर त्यो ठूलो भेलाहरूका लागि प्रयोग गरिन्थ्यो। त्यो पनि सकिएपछि बस्तीभरिबाट मुठिदान संकलन गर्ने र नेताहरूका लागि खानाको व्यवस्था गर्ने काम मनकुमारी बलामीको नै हुन्थ्यो।
एकपटक त्यही गाउँमा पार्टीको भेला थियो। खानेकुराको अभाव। गाउँका महिलाहरूले रातुखोलाबाट डोकाभरि गंगटा संकलन गरेर ल्याए। ढिकीमा कुटे र कटनको कपडामा राखेर निचोरेर। तर पकाउने तेल थिएन। मानकुमारी एउटा भाडा लिएर निस्किन्। घरै पिच्छेबाट एक/एक भुटुन तेल संकलन गरेर ल्याएर त्यसैमा गंगटाको रसको रोटी पकाएर नेताहरूको छाक टारिएको थियो।
मानकुमारी बलामीको घर धेरैका लागि अस्पताल पनि थियो, जहाँ सुत्केरी हुँदा तंग्रिने र बिरामी हुँदा आराम गर्ने नेता तथा कार्यकर्ता पुग्थे। रञ्जना माझी लगायत थुप्रैको विवाहको योजना पनि त्यही बनेको थियो भने छोरा निर्माणको जन्म पनि त्यही भयो। त्यसबेला हरेक घरबाट एक माना चामल र पार्टीको नाममा पालेको एउटा कुखुराको भाले पालैपालो ल्याएर सुत्केरी तंग्र्याउने काम भएको थियो।
यसरी त्यो गाउँका सबैमा सम्मान गर्ने र नेृत्व स्वीकार गर्ने आमा मानकुमारीको झन्डै दशक अगाडि मृत्यु भएपछि महोत्तरी हाइवेको छेउमा मानकुमारी स्मृति सामुदायिक भवन बनेको छ। भूमिगतकालमा पार्टी बनाउने र नेता जोगाउने आश्रयदातामध्ये महिलाको नाममा बनेको यो नै पहिलो भवन हुनुपर्छ। तर उक्त भवन सडक विस्तारमा पर्ने भएपबछि बस्तीको बीच जहाँ पार्टीको मूल आश्रयस्थल थियो, त्यही ठाउँमा अर्को भवन बनाउन जग्गाको व्यवस्था गरेर भवन निर्माणका लागि सहयोगको पर्खाइमा छ कालापानी।
