‘डाक्टर साहब, तपाईं पनि कस्तो तालिम लिन जानुभएछ! नेपाल जस्तो गरिब ठाउँमा सानो-सानो रोगको उपचार गर्न त पैसो छैन। यो हार्टको अपरेसन यहाँ किन गर्नुपर्यो? यो धनीलाई हुने रोग हो। धनीहरू बाहिर गइहाल्छन् नि! कोही दिल्ली जालान्। कोही बैँकक जालान् ... (चिकित्साका चौध तारा पृष्ठ ८३)।’
यो उद्गार प्रा. डाक्टर लोकविक्रम थापालाई बेलायतबाट कार्डियोथेरासिस सर्जरीको तालिम लिएर फर्किएपछि तत्कालीन स्वास्थ्य मन्त्रीले भनेका हुन्।
देश हाँक्नेहरूको विवेक कति सङ्कुचित रहेछ भन्ने कुरा चिकित्साका चौध तारा पढ्दै जाँदा थाहा हुन्छ।
त्यस्तै, मृगेन्द्रराज पाण्डेको जीवन यात्रा उतिकै रोचक छ। नेपालको स्वास्थ्य क्षेत्रमा उनले दिएको योगदान स्मरणीय छ। विषयगत दक्षता प्रखर छ। निर्भीक स्वभाव पनि कम चुनौतीपूर्ण छैन। छक्क पार्ने किसिमका ऐतिहासिक घटनाहरू पढ्न पाइन्छ राजेश खनालको नवीनतम कृतिमा। बिपीको स्वास्थ्य अवस्थाप्रति डा. पाण्डेले ठोकुवा गरेको प्रसङ्ग पढ्दा पाठकहरूलाई पनि छक्क लाग्ने छ।
राजा वीरेन्द्रले पनि कौतूहलतापूर्वक डा. पाण्डेलाई सोधेछन्, ‘होइन ए डाक्टर, तिमीसँग आधुनिक साधन नै नभइकन बिपीलाई यति कडा रोग छ भनी लेखेछौ, त्यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ ...(पृष्ठ ४७)?’
अचम्म लाग्छ, आज आधुनिक चिकित्सा विज्ञानको समयमा डाक्टरहरूले रोग पत्ता लगाउन नसनेर बिरामीहरूको रोग पत्ता लगाउने क्रममै सम्पूर्ण सम्पत्ति सकिएर रोडमा आएको अवस्था छ। एकातिरको अङ्ग अपरेसन गर्नुपर्नेमा अर्कोतिरको भागमा अपरेसन गरेको घटना सुनिँदैछ। उज्यालोमा बसेर अपरेसन गर्दा पनि बिरामीको पेटभित्र अपरेसनका सामग्री छोड्ने डाक्टरहरू पनि छन्। आजका कतिपय चिकित्सकहरूलाई किन पूर्णरूपमा विश्वास गर्न सकिँदैन... ? हिजो डाक्टर पाण्डेले बिपीलाई स्टेथेस्कोपले जाँचेको भरमा कडा रोग लागेको पत्ता लगाउने डाक्टर पाण्डे यहीँ थिए।
आफ्नो क्षमताप्रति कति विश्वस्त डा. पाण्डे, आफ्नो जागिर नै बाजीमा राखेर ठोकुवा नै गरिदिएका रहेछन् त्यो बिपीको रोगको।
डा. पाण्डेलाई तत्कालीन प्रधानमन्त्रीले बोलाएर भनेकै रहेछन्, ‘डाक्टरसाब, अमेरिका गएर यो रोग तपाईंले भनेकोजस्तो गम्भीर देखिएन भने तपाईं त बिपीको ठाउँमा पुग्नुहुन्छ नि, बुझ्नु भो ... (पृष्ठ ४९ )।’
आफ्नो क्षमताप्रति पूर्ण विश्वस्त डाक्टर पाण्डेले ती प्रधानमन्त्रीलाई कस्तो उत्तर दिए त्यो त किताब नै पढ्नुपर्छ अनि पो आनन्द आउँछ।
त्यस्तै प्रा.डा. रामप्रसाद पोखरेललाई बेलायतमै बसेर काम गर्ने अवसर आएको थियो। अमेरिकाले पनि उनलाई बोलाएको थियो तर डाक्टर पोखरेल आफ्नो अध्ययन पूरा गरेर नेपाल नै फर्किए। बेलायत र अमेरिकाले दिने नागरिकता छोडेर नेपालमा आँखाको उपचार गर्नुपर्छ भन्ने भावनाले उनलाई नेपाल ल्यायो उनी भन्छन्, ’मलाई दिन त तिनले दिन्छन्, नागरिकता। मैले पैसा पनि कमाउँछु होला। तर विदेशमा त म कहलिने भनेको त दोस्रो दर्जाको नागरिक नै त हो! म किन दोस्रो दर्जाको नागरिक भएर त्यहाँ बसूँ भन्ने मलाई लाग्यो। म आफ्नै देश जान्छु र आँखा उपचारका क्षेत्रमा सकेजति काम गर्छु भन्ने सोचाइले नै म नेपाल फर्किएको थिएँ ... (पृष्ठ ६३)।’
सन् १९७१ मा राष्ट्रप्रेमको सागर बोकेर डा. रामप्रसाद पोखरेल नेपाल आए। तर विडम्बना आँखाको उपचारलाई निरन्तरता दिन खोज्दा स्वास्थ्य मन्त्रालयका कर्मचारीले डाक्टर पोखरेललाई यो किसिमको सल्लाह दिएछन्, ’आँखाको रोगले मानिस मर्दैनन्। त्यसैले अरू रोगका लागि अस्पताल जरूरी छ। आँखा अस्पताल जरूरी छैन...(पृष्ठ ६४)।’
यस्तो असहज परिस्थितिमा डाक्टर पोखरेलले नेपालभरि कसरी आँखा उपचारलाई सहज रूपमा फैल्याउँदै गए भन्ने थाहा पाउन पक्कै पुस्तकको अध्ययन गर्नुपर्छ।
आज देशभरि स्वास्थ्य सेवा र सुविधा पर्याप्त मात्रामा भएर पनि आम नेपालीहरू बञ्चित छन् सुरक्षित स्वास्थ्य सेवाबाट।
यहाँ उत्पादित कयौँ चिकित्सकहरूको चेतना स्तरलाई हिजोका चिकित्सकहरूसँग तुलना गर्दा पो म छक्क परेँ।
यस्ता उदारमना डाक्टरहरूको जीवन यात्रा, चिकित्सा विज्ञान अध्ययनको परम्परा, सिलसिला, उनीहरूले हाँसिल गरेको ज्ञान, सीप, दक्षता र अध्ययनप्रतिको विश्वसनीयता कति उच्च छ। कति सम्मानयोग्य छ। कसैको बुइँ नचढेपछि कसको डर। आफ्नो पेसाप्रति इमानदार र क्षमताप्रति विश्वस्त भएपछि कोही डगमगाउँदैन भन्थे हो रहेछ। आफूमा केही खुबी भएपछि पो मान्छे निर्धक्कसँग सत्य बोल्न सक्दा रहेछन्। जब व्यक्तिमा आत्मविश्वास हुन्छ, आफ्नो कामप्रति इमानदार हुन्छन् अनि त के राजा, के मन्त्री ऊ ईश्वरको अदालतमा पनि शिर उच्च राखेर आफ्नो विचार र धारणा राख्न सक्छ। यहाँ यस्तै यस्तै क्षमतावान्, इमानदार डाक्टरहरूले स्वास्थ्य क्षेत्रमा गरेको साहसपूर्ण कामको इतिहास छ। शासकहरूसँग आँखा जुधाएर बोलेको समय छ।
चिकित्साका चौध तारा पढेपछि बल्ल म बुझ्दैछु डाक्टरलाई किन भगवानको दर्जा दिएको रहेछ भनेर।
सेवा नै धर्म हो भन्ने विचार अगाडिका पुस्ताले आफ्नो जीवनमा प्रयोग नै गरेर देखाएका छन्। आज ज्ञानलाई यति सतही बनाइएको छ कि चिकित्सा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा पनि व्यापार हाबी हुँदै गएको छ। चिकित्सक जस्तो आदर्श, आदरणीय र जिम्मेवार व्यक्तिहरू पनि लगानी उठाउने बनिया मात्र हुँदै गएका छन्।
देशले मलाई केही दिएन भन्नुभन्दा पहिले देशलाई मैले के दिएँ भनेर एकचोटि सोच्नुपर्ने बेला आएको छ। आजका युवाहरू १२ कक्षा सक्न नपाउँदै सपना देख्छन् विदेशको। अभिभावकहरूले पनि गर्वका साथ सहयोग गर्छन् विदेश पलायनको।
अझ भनौं सन्तानको चेतना विकसित हुन नपाउँदै देश छोडेर जाने समृद्ध योजना बुन्न थाल्छन् घर घरमा। यति मात्र हो र! जो जति देशमा बसेका छन्, ती सबै विदेश जान नसकेर बसेका हुतिहारा पो हुन् कि! भन्ने धारणा पनि उनीहरू नै पाल्छन्। आफू जन्मिएको, हुर्किएको पढेको ठाउँप्रति कस्तो वितृष्णा?
लुकेर, भागेर अरूको देशमा समृद्धि खोज्न जानेहरूको दुर्दशा त देखिन थालिएको छ। देश छोडेर गएकाहरू जति हाँसे पनि हृदयभित्र त आफ्नो गाउँठाउँ र देश पक्कै दुख्छ। केही वर्षदेखि देश छोड्ने परम्परा तीव्र गतिमा कायम छ। पढ्न गएका स्कलरहरू पनि देश फिर्न चाहँदैनन्। परिस्थिति, मनस्थिति र अवस्थितिले यावत् समस्या सिर्जना गरेको छ।
अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत कतार, अरब, साउदीतिर उडेका छन् ऊर्जावान नागरिकहरू निरन्तर। सुनिन्छ देशमा बस्ने वातावरण नै छैन। काम गरेर खाने अवस्था छैन। पढ्ने राम्रो व्यवस्था नै छैन। पढेर पनि कामको सुनिश्चितता नै छैन।
अर्को दुर्भाग्य, टाउको दुख्दा पनि देशमा उपचार गर्न मान्दैनन् देश हाँक्नेहरू। आफ्नै सन्तानलाई देशमा पढाउन चाहँदैनन् शिक्षाका मतियारहरू। नीति निर्माण गर्नेहरू पनि आफ्ना सन्तानलाई देशमा राख्न चाहँदैनन्। विद्यालयमा पढाउनेहरू पनि आफ्नै सन्तानलाई आफूसँग विद्यालय डोर्याएर लैजान चाहँदैनन्। यहीँबाट हेर्न सकिन्छ देशको वास्तविक अवस्था ... ?
हिजो राजपरिवार पनि देशकै चिकित्सकहरूमा विश्वास राख्थे। वीर अस्पतालमै उपचार गर्थे तर आज के नेताहरू आफ्नो देशमा उपचार गर्न सक्छन्? अनि देशमा भएका अस्पतालहरू कसका लागि? हामीले कस्तो विकास गर्यौं त ... ?
अस्थिर राजनीतिमा सधैं फोहोरी खेल भएको छ। प्रशासन चुस्त हुन सकेन। शिक्षा, स्वास्थ्यमा घोर भ्रष्टाचार हुन्छ। त्यो त हिजो पनि थियो तर पनि देश निर्माणमा कसरी समर्पित भए ती पुस्ता ... ?
देशमा पढ्ने राम्रो वातावरण छैन। रोजगारी सुनिश्चित छैन। विदेशमा पढ्न गएका प्रबुद्ध जनशक्ति देश फर्कने अवस्था छैन। फर्किएर आए पनि कुनै सुरक्षा छैन। बडो अन्योलग्रत छ देशको अवस्था। हिजो पनि थियो आज पनि छ यो समस्या। यस्तै यस्तै सोचाइमा छन् आम नेपाली। मेरो मस्तिष्कमा पनि यही सोचाइ हाबी छ। तर म चकित भएकी छु यतिबेला। जब मैले चिकित्साका चौध तारा पढेँ।
आजभन्दा पचास वर्ष अगाडि हाम्रो देशमा के थियो? कस्तो थियो राजनीति व्यवस्था? जनता कस्तो स्थितिमा थिए? प्रविधिको विकास कुन स्तरमा भएको थियो? स्वास्थ्य क्षेत्रको अवस्था कस्तो थियो? अस्पताल कति वटा थिए? उपचार पद्धति कस्तो थियो? कस्तो कस्तो रोगको उपचार हुन्थ्यो यहाँ? हामी हाम्रो देशको इतिहासबाट अज्ञात पक्कै छैनौँ।
देशमा केही हुनु र नहुनुले केही अर्थ राख्दो रहेनछ जब हृदयमा देश भक्ति र देश प्रेम भएका जनशक्ति हुर्कन्छन्, तब खाण्डवप्रस्थ पनि इन्द्रप्रस्थ बन्छ। हृदयमा प्रबल इच्छा शक्ति भए शून्यबाटै नै हरेक कुरा आरम्भ हुने रहेछन्।
राजेश खनालले यहाँ चिकित्साका चौध ताराहरूको जीवन संघर्ष, तत्कालीन समाज, राजनीति व्यवस्था, भौगोलिक कठिनाइ, पूर्वाधारहरूको अवस्था, मान्छेको चेतना स्तर, सामाजिक, आर्थिक परिस्थिति, चिकित्सा विज्ञान अध्ययन परम्परा र पद्धति देशमा स्वास्थ्य क्षेत्रका चुनौतीहरूलाई चिकित्साका चौध ताराहरूको अनुभवहरूबाट समेट्ने कोसिस गरेका छन्।
यी चौध चिकित्सकहरू साँच्चै देशका लागि महान् रहेछन्। यस्ता उदार हृदयका नेपालीहरूको जीवन कथा सङ्कलन गरेर हामीमाझ पुस्तकको रूपमा ल्याउने पत्रकार राजेश खनाललाई पनि साधुवाद छ।
यो पुस्तक पढ्दै गर्दा लाग्छ हाम्रो देशमा यस्तो सेवाभावले हृदय भरिएका महान् डाक्टरहरू पनि थिए? जसले २२ वर्ष बिना तलब मात्र सेवा गरे। मलाई लाग्थ्यो मान्छेलाई पैसाले कहिले पनि पुग्दैन।
आफूसँग जति पैसा भए पनि अझ कमाउन चाहन्छ मान्छे तर सुन्दरमणि दीक्षित भन्छन्, ‘मलाई पैसाको आकाङ्क्षा कहिले पनि भएन। म बाबाआमासँगै बसेको थिएँ। हामी रानी जगदम्बाको छत्रछायामा थियौं। खानलाउन दुःख थिएन। रानी जगदम्बाले मलाई एमबिबिएस र एमडी मात्र गराउनु भएन, यो घर पनि उहाँले नै बनाइदिनुभएको हो। यो जग्गा पनि जगदम्बा महारानीले नै दिनुभएको हो। त्यसैले पनि मैले बिरामीको सेवालाई मात्र महत्त्व दिएँ ... (पृष्ठ १३२ )।’
साँच्चै हृदयमा सेवाको भाव, संस्कार र संस्कृतिको जरा मौलाएपछि पैसाको संसारमा व्यक्ति रूमलिँदैन रहेछ।
आज प्रशस्त बैँक व्यालेन्स, धन सम्पति भएका मान्छेहरू अझ नेताहरूमा यो किसिमको भावना जागृत भए देश कहाँबाट कहाँ पुग्ने थियो। आधारभूत आवश्यकता पूरा भए किन चाहियो मान्छेलाई पैसाको आकाश।
डाक्टर शंकरप्रसाद उप्रेतीको जीवन कथा पढ्दा त मलाई कुनै उपन्यासको नायकलाई पढ्दैछु भन्ने भावना जागृत भयो। त्यस्तै मणिन्द्ररञ्जन बरालको जीवन कति प्रेरणादायी। साँच्चै हाम्रो सनातन संस्कृतिको जराबाट आएका यस्ता ऋषितुल्य देशभक्त चिकित्सकहरूको संघर्षको कथा विद्यालय तहदेखि नै पठनपाठन हुन आवश्यक छ। अझ प्रत्येक चिकित्सा विज्ञान केन्द्रमा यो नैतिक शिक्षा जस्तो जीवन पढाउन खाँचो छ। हाम्रा अगाडिका पुस्तामा सुख, सुविधा र पैसाभन्दा माथि देश र जनतालाई हेर्ने आँखा पनि थिए भन्ने सत्य बोध गराउन खाँचो छ। आजका पुस्ता छक्क पर्लान् यो पुस्तक पढेर।
भन्लान्, ‘निजी स्वार्थभन्दा अगाडि देश प्रेम पनि हुन्थ्यो? सुविधा त्यागेर संघर्षमा पनि डाक्टर होमिन्थे ...?’
सबभन्दा अगाडि देश देख्ने विद्वानहरू साँच्चै हाम्रो मुलुकमा थिए भन्ने सत्य आजका पुस्तालाई पढाउन अनिवार्य छ। देशमा केही नहुँदा पनि धैरै काम गर्न सकिन्छ भन्ने कुरा सिकाउन आवश्यक छ।
यी महान चिकित्सकहरूलाई पढिसक्दा लाग्छ कतै यी उपन्यासका पात्रहरूलाई त पढेको हैन!
स्वार्थको जालोमा विवेक निदाएको देख्दै आएकी मैले जब यी डाक्टरहरूको देशप्रेम। माटोप्रतिको माया। केही नहुँदा पनि देशमा स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने चाहना। पूर्णरूपमा सेवाको भावना। पढेपछि आशाको दियो बालेकी छु आउँदो पुस्ताहरूप्रति पनि।
यी चौध चिकित्सकहरूले स्वास्थ्य क्षेत्रमा केही गर्ने अठोट लिएर आफ्नो अध्ययन पूरा गरेपछि देश फर्किएर आ-आफ्नो क्षेत्रमा दृढताका साथ लागेको पढ्दा हृदय बारम्बार झुक्यो। अबका पुस्ताहरू पनि कुनै समय आफ्नै संस्कार र परम्परातिर पक्कै फर्केलान्।
आफ्नै माटोमा केही नहुँदा यत्रो काम गर्न सक्ने क्षमता आखिर केले दियो यी डाक्टरहरूलाई? के खाएर हुर्किएका थिए यी डाक्टरहरू? कस्तो संस्कार पाएका थिए यिनीले ? देशभक्ति कसरी भर्भराएर आयो यिनीको हृदयमा ? आज त हामी प्रविधिको युगमा छौँ। विश्व हाम्रो मुठ्ठीमा छ तर पनि हामी यो देशमा केही छैन केही हुँदैन भन्छौँ। अहिले त उज्यालोमा छौँ।
अहो! हिजो हाम्रा डाक्टरले लाल्टिन बालेर पनि चिरफार गरे भन्दा विश्वास लाग्ला हामीलाई! नर्सहरूको ठाउँमा इन्जिनियरहरूले अपेसन गर्दा सहयोग गरे रे भन्दा अचम्म लाग्दैन। अस्पतालै नभएको ठाउँमा डाक्टरको दरबन्दी भन्दा छक्क लाग्दैन। राजासँग ठाडै समस्या ओकल्ने डाक्टर पनि थिए भन्दा अचम्म लाग्दैन। हो डाक्टर कृष्णजंग राणाले राजा महेन्द्रलाई ठाडै भनेछन्, ‘ठीक छ काम गर्ने हो। तर खुला आकाशमुनि नङले बिरामीको घाउ चिर्न त सकिँदैन ... (पृष्ठ८ )।’
इमानदार मान्छे सबैको अगाडि बोल्न सक्छ। स्वार्थ लिएर हिँडेको मान्छे मात्र डगमग डगमग गर्छ। डाक्टर राणा काठमाडौँबाट फर्किएर आउँदा तलब र भत्ता बढेको रहेछ। राजाको अगाडि निर्धक्क बोल्न कुन शक्तिले अभिप्रेरित गर्यो ? कुन शिक्षाले ऊर्जा प्रदान गर्यो ?
देशको लागि केही गर्ने हुटहुटी लिएर आएका यस्ता होनाहार चिकित्सकहरूको योगदानले नै हामीले आजको चिकित्सा विज्ञानलाई यति सजिलै अनुभव गर्न पाएका रहेछौँ। चौध ताराहरूलाई पढ्दै गएँ म त नतमस्तक हुँदै गएँ। विदेशको मोह त्यागेर देशमै केही गर्नुपर्छ भन्ने उत्साह र हुटहुटी कुन शक्तिले दिलायो होला। आज त्यो शक्ति हाम्रा युवाहरूमा भर्न पाए ! बारम्बार सोच्न विवश भएँ ‘यदि यी चिकित्सकहरूले पनि राम्रो सेवा र सुविधाको लागि देश बिर्सिएका भए ... ?’
तर सत्य पढेपछि सबैलाई नमन गरेँ। यी चिकित्सकहरूले आ-आफ्नो विषय र क्षेत्रमा विभिन्न सोचहरूलाई साकार पार्न गरेको संघर्ष कति उच्च। कति महान्।
देशमा केही छैन भनेर हिँड्नु त मात्र बाहना रहेछ। मैले पनि नजिकबाट देशका होनाहार डाक्टर हुँदै गरेका पुस्तालाई देखेकी छु। अमेरिका अष्ट्रेलिया जाने विशाल सपना साँचेर आखिर यही देशमा पखेँटा उमार्दै गर्दा उनीहरू नै भन्छन् ‘यहाँ के छ र बस्नु ... । यो कस्तो विडम्बना । यो कस्तो समय ... ? आज कतिपय अब्बल डाक्टर देशमा केही छैन भनेर उडेका छन् अरूकै भूमिमा। यहाँ आफन्तहरू गर्वले छाती फुलाउँदै देखाउँछन् अब्बल डाक्टर, इन्जिनियर सन्तानहरूले विदेशी भूमिमा रोबट भएर कमाएको सम्पत्तिले किनेको नाङ्गो जमिन।
मलेरिया रोग विशेषज्ञ डाक्टर कृष्णजंग राणाको जीवन संघर्ष र साहसदेखि प्रा.डा हेमाङ्ग दीक्षितसम्मको जीवन संघर्ष कति सम्मानयोग्य छ। उदाहरणीय छ। अनुकरणीय छ। आजका युवा देशमा काम छैन भन्छन् तर त्यो बेला पनि राणा परिवारका सदस्यले सवा रुपैयाँ कमाउन गरेको मेहनत कति अनुकरणीय छ।
डा.राणा भन्छन, ‘मैले मतदानको नाम सार्ने काम पनि गरेँ। एक हजार मतदाताको नाम सारेको २० आना पैसा दिन्थ्यो। २० आना भनेको सवा रुपैयाँ। एक हजार जनाको नाम लेख्नलाई दुई दिन लाग्थ्यो। यसरी दुई दिनमा सवा रुपैयाँ कमाउँथेँ (पृष्ठ ४)।’ कपी गर्ने मेसिन थिएन हातले नै उतार्नु पर्थ्यो सबै। समय सधैं कठिन नै हुनेरहेछ। समस्यालाई कसरी लिने त्यो महत्त्वपूर्ण रहेछ।
अन्त्यमा, संघर्ष हिजो पनि थियो आज पनि छ। समस्या हिजो पनि थियो आज पनि छ। तर देशप्रतिको कर्तव्य, जिम्मेवारी त संस्कारबाट नै सिर्जना हुनेरहेछ।
यहाँ उल्लेखित चौध ताराहरू सबै जना संस्कृति शिक्षाबाट आलोकित हुने अवसर पाएका रहेछन्। शायद आज खाँचो छ संस्कृति शिक्षा। आफूले आफूलाई चिन्ने ज्ञान। भौतिकताले मात्र देशमा समृद्धि हासिल हुने कतै छैन सम्भावना। आजका पुस्ता त जरा काटिएका रूख जस्तै हुँदैछन्। जरासँग जोड्नु पर्ने एक मात्र विकल्प रहेछ भन्ने लाग्यो यी चौध ताराहरूलाई पढिसकेपछि। आफ्नो संस्कारलाई बुझेपछि संसार चिन्न सजिलो हुन्छ। भौतिकताको युगमा विज्ञानलाई साधन बनाएर सनातनको साध्यतिर फर्किंदा दिगो सभ्यता पक्कै हासिल गर्न सकिन्छ।