अमेरिकी नागरिक बर्नी स्यान्डर्सले लेखेको चर्चित किताब 'इट्स ओके टु बी एंग्री अबाउट क्यापिटालिम' पढेँ।
स्यान्डर्स ८३ वर्षका भए।
उनी सन् १९८१ देखि १९८९ सम्म अमेरिकाको बर्लिंटन भर्मन्टका मेयर थिए। सन् १९९० देखि १६ वर्ष हाउस अफ रिप्रिजेन्टेटिभमा काम गरे। सन् २००६ मा सिनेटर भए।
उनले सन् २०१६ र सन् २०२० को राष्ट्रपतीय चुनावमा हिलारी क्लिन्टन र जो वाइडेनसँग डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धा पनि गरे। उनी बामपन्थी तथा प्रगतिशील विचारधाराका खम्बा मानिन्छन्। उनले श्रमिक वर्गका आवाज बुलन्द गर्ने गरेका छन्।
लामो राजनीतिक अनुभवमा आधारित भएर उनले लेखेको उक्त किताबबारे मेरो बुझाइका आधारमा संक्षेपमा चर्चा गर्ने प्रयास गरेको छु।
स्यान्डर्सले 'मानिस जति बुढो भयो त्यति नै कन्जरभेटिभ हुन्छ भन्छन्, तर म जति बुढो भएँ त्यति नै पुँजीवादसँग रिसाउँदै गएँ' भन्ने उक्तिबाट लेखन सुरू गरेका छन्।
पुस्तकमा उनले आफ्नो जीवन भोगाइ र वैज्ञानिक अनुसन्धानका तथ्यका आधारमा तर्क पुष्टि गर्ने प्रयास गरेका छन्।
उनले गरिखाने वर्गको आँखाबाट अमेरिकी समाज र राजनीतिको गतिलो शल्यक्रिया गरेका छन्। अमेरिकी समाजको ऐना देखाएका छन्। शोषणमा आधारित पुँजीवादको मुखुन्डो उतारिदिएका छन्। बहुसंख्यक अमेरिकी जनताको कठिन जीवनको वास्तविकता उतारेका छन्।
किताबमा उल्लिखित केही तथ्य यहा प्रस्तुत गरेको छु।
क) सम्पत्ति मुठीभर मानिसमा केन्द्रित:
सन् १९५० तिर अमेरिकाका २० प्रतिशत मानिसले ४२.८ प्रतिशत सम्पत्ति नियन्त्रण गर्थे। अहिले राष्ट्रको ९० प्रतिशत सम्पत्ति जम्मा ०.१ प्रतिशत मानिसको स्वामित्वमा छ। कोभिड–१९ अघि तल्लो तहको ५० प्रतिशतजति सम्पत्ति ३ जना अति धनाढ्य व्यक्ति जेफ बेजोस, बिल गेट्स र वारेन बफेटले मात्रै नियन्त्रण गरेका थिए।
ख) खास क्षेत्रमा धनाढ्यको नियन्त्रण:
पैसा कमाउने र अरूलाई कज्याउन सक्ने क्षेत्रमा धनाढ्यको नियन्त्रण छ। बैंक, यातायात, स्वास्थ्य, सञ्चार, बिग टेक, कृषि, शिक्षा, इन्स्योरेन्स आदिमा धनाढ्यको अस्वाभाविक नियन्त्रण छ। उनीहरूलाई मानवीय कमजोरीमाथि खेलेर अस्वाभाविक लाभ लिन छुट छ।
ग) पुँजीपतिको नाफा बढ्यो तर श्रमिकको ज्याला बढेन:
सन् १९७० देखि सन् २०२० सम्म श्रमिकको उत्पादकत्व ६१.८ प्रतिशतले बढ्यो तर ज्याला १७ प्रतिशतले मात्रै बढ्यो। सन् १९५० मा कुनै कम्पनीका सिइओको पारिश्रमिक औसत श्रमिकको भन्दा २० गुणा बढी थियो, सन् १९८० मा ४२ गुणा भयो। सन् २००० मा १२० गुणा भयो। अहिले करिब ४०० गुणा बढी छ।
यसले मध्यम र माथिल्लो वर्गलाई मात्रै पोषण गरेको छ। नयाँ प्रविधिको विकाससँगै श्रमिकहरू रोजगारी गुमाउँदै छन्। उपलब्ध रोजगारीमा पनि लाखौं अमेरिकीहरू आफूलाई कमजोर अनुभव गर्छन्, रोजगारीमा घृणा समेत गर्छन्। यसको मलतब उनीहरू आफैले घृणा गरेको रोजगारी गर्न बाध्य छन्।
घ) केही महत्त्वपूर्ण सूचकमा अमेरिका कमजोर:
अमेरिका प्रेस स्वतन्त्रतामा चालीसौं स्थानमा छ। सुखी सूचकमा तेइसौं स्थानमा छ। शिक्षामा कुनै बेला एक नम्बरमा रहेको अमेरिका अहिले एघारौं स्थानमा छ।
उच्च शिक्षा निकै महँगो छ। विद्यार्थीले उच्च शिक्षाका लागि लिएको ऋण जिन्दगीभर तिरिरहनुपर्ने अवस्था छ। विद्यार्थीको ऋण अहिले ठूलो राजनीतिक मुद्दा बनेको छ।
ङ) कहालीलाग्दो स्वास्थ्य सूचक:
प्रतिवर्ष ६० हजार मानिस स्वास्थ्य हेरचाह नपाएर रोकथाम वा उपचार गर्न सकिने रोगले ज्यान गुमाउँछन्। स्वास्थ्यका नाममा इन्स्योरेन्स कम्पनीले अकुत कमाउँछन्। हरेक चार जनामा एक व्यक्ति डाक्टरकोमा गएर जचाउँछन्, रोग पत्ता लाग्छ तर महँगो औषधि किन्न सक्दैनन् र औषधि खाँदैनन्।
अल्पसंख्यक समुदायमा बाल तथा मातृ मृत्युदर तेस्रो मुलुकको सरह छ। औसत अमिरिकी नर्वेजियन र कोरियनभन्दा ६ वर्ष कम बाँच्छन्। निराशाको रोग (डिजिज अफ डिस्पेयर) चरम बन्दै गएको छ। मुख्यतः आर्थिक कठिनाइ, सामाजिक अलगाव वा दीर्घकालीन तनावका कारण मदिरा र लागुऔषध दुरूपयोग बढ्दो छ। मानसिक रोगले आत्महत्या उत्कर्षमा छ।
च) बढ्दो कुलीनतन्त्र, नोटले भोट:
सीमित धनाढ्यहरू आर्थिक सम्पत्ति मात्रै जम्मा गरिरहेका छैनन्, राजनीतिक प्रभाव पनि केन्द्रीकृत गर्दै छन्। जुनसुकै पार्टीका भए पनि चुनावमा धनाढ्यहरूले टिकट र भोट किन्छन्।
स्यान्डर्सका अनुसार उपर्युक्त ६ वटा तथ्य अमेरिकामा ज्वलन्त रूपमा स्थापित छन्।
उनले अमेरिकामा श्रमजीवी वर्गका मानिसहरू संसारकै सम्पन्न (प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको) देशमा बसेका तर सम्पत्तिको हिस्सा उपभोग गर्न नपाएका अभागी हुन् भनेर किटान गरेका छन्।
अमेरिकामा अत्यन्त धनी मान्छे मात्रै शासक भएका छन् जसलाई मानिसको वास्तविक जीवनका बारेमा केही पनि थाहा छैन। उनीहरू साधारण मानिसहरूको कुनै वास्ता गर्दैनन्। आफूहरूले साधारण मानिसमाथि शासन गर्ने अधिकार पाएको भन्ने विश्वास गर्छन्।
स्यान्डर्सको निष्कर्ष अनुसार अमेरिका खुला प्रतिस्पर्धा भएको समाज हो भन्ने कुरा सरासर झुट हो। बजार केही सीमित कर्पोरेसनको कब्जामा छ।
उनले पुस्तकमार्फत सार्वजनिक गरेका यी तथ्यहरूले अमेरिकाको सक्कली अनुहार देखाउँछ। संसारलाई आर्थिक विकासको मोडेल सिकाउने, गरिबी निवारणको पाठ सिकाउने अमेरिकाभित्रको गरिबीको चपेटा हमेसा छायामा पर्ने गरेको छ।
दुनियालाई लोकतन्त्रको पाठ पढाउने देशको लोकतन्त्र कसरी कुलीनतन्त्रमा सीमित छ भन्ने कुरा उनको किताबले प्रस्ट पारेको छ।
पछिल्लो राष्ट्रपतीय चुनाव हेर्दा पनि धनाढ्यले कसरी भोट किन्छन् भन्ने तथ्य स्पष्ट देखिन्छ। इलन मस्क जस्ता धनाढ्यले डोनाल्ड ट्रम्प जस्ता कुलीन वर्गीय नेतालाई आर्थिक तथा प्राविधिक सहायता दिएर राजनीतिक शक्ति किने। यसैको ऋण चुक्ता गर्न मस्क 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)' को प्रमुख बनाइए।
डोजमार्फत इलन मस्कले अमेरिकाका सबै सरकारी डेटा नियन्त्रणमा लिने प्रयास गरेका छन्। उनले मानिसलाई बेकम्मा बनाउँदै संसारभर आफ्नो प्रविधि बेच्न चाहेका छन्।
अझ खतरनाक कुरा के छ भने उनी आर्थिक प्रभावबाट मात्र नभएर डेटाको माध्यमबाट अमेरिका र संसारभर राजनीतिक प्रभाव बढाउने प्रयास गर्दै छन्। उदारवादका दार्शनिक फ्रान्सिस फुकुयामाले इलन मस्कले ट्विटर (एक्स) किन्नु आर्थिक उद्देश्य मात्रै नभएर मूलतः राजनीतिक उद्देश्य थियो भनेका छन्।
फुकुयामाले इलन मस्कको यो कदमलाई उदारवादी लोकतन्त्रका लागि सबैभन्दा खतरनाक हो भनेका छन्। वैचारिक राजनीतिको अन्त्य भएको र अब उदारलोकतन्त्र मात्रै अस्तित्वमा रहने तर्क गर्दै आएका फुकुयामा समेत उदार लोकतन्त्रको विकृत स्वरूप भएर प्रियतावादीहरू हाबी हुने र उनीहरूले कानूनी शासनमाथि धावा बोल्ने निष्कर्षमा पुगेका छन्।
पछिल्ला घटनाक्रमले केही तथ्य झल्काउँछ।
डेटा तानाशाहको जन्म:
इलन मस्क जस्ता टेक कम्पनीका मालिकहरूले तानाशाही शैलीमा राजनीतिमा प्रभाव पारे भने उनीहरूले डेटा डिक्टेटरसिप निम्त्याउनेछन्। अहिलेको प्रविधि हरेक व्यक्तिका व्यक्तिगत, मनोवैज्ञानिक र जैविक सूचनामा नियन्त्रण राख्न सक्ने भएको छ। हरेक क्षण व्यक्तिलाई ट्र्याकिङ गर्न सक्छ।
यसले चुनावमा पैसा मात्रै खर्च गर्ने होइन, मतदाताको दिमागलाई नै प्रभावित पार्न सक्छ। सम्पूर्ण शक्ति कुनै एक व्यक्तिमा केन्द्रित हुने राजनीतिक मोडल भएमा तानाशाही हुनेछ।
यसबाट लोकतन्त्रको अमेरिकी मोडलमा विश्वासको संकट उत्पन्न हुनेछ।
अमेरिकाको शक्ति क्षय :
हाल विश्वका मूल समस्या जलवायु परिवर्तन र प्रविधिले ल्याएको विध्वंशकारी परिवर्तन हो। यसलाई बेवास्ता गरी प्रियतावादी शैलीमा 'अमेरिका फस्ट' भन्दै 'प्लानेट अर्थ' माथिको दायित्वबाट पन्छिने हो भने अमेरिकालाई बाँकी विश्वले एक्लो बनाउन सक्नेछ।
अमेरिका शक्तिशाली भएकै उसले विश्व समुदायमा देखाएको अभिभावकत्वका कारणले हो। यसैका आधारमा उसले वस्तु, ज्ञान र प्रविधि संसारभर बेच्न सकेको हो। उसको राजनीतिक मोडल आइडियल मानिएको हो। अमेरिकाको पछिल्लो राजनीतिक मोडेलबाट न अमेरिकी आमजनताको कल्याण हुने भयो, न अरू दुनियाँको।
अब नयाँ ध्रुवीकरण हुन सक्छ र अमेरिकी तागत कमजोर हुन सक्छ।
प्रियतावादको अवसान तानाशाहमा:
उदार लोकतन्त्रमा ट्रम्पजस्ता प्रियतावादीहरू जन्मिन्छन्। यिनीहरूले कुलीन वर्गको मात्रै सेवा गर्छन् र कानुनी शासनको धज्जी उडाउँछन्।
अमेरिका यही बाटोमा अघि बढेको हुँदा अब अमेरिकाले उदारवाद मात्रै आइडियल मोडल हो भनेर विश्वलाई भ्रमित गर्ने सामर्थ्य गुमाउनेछ। यसको फाइदा चीन र युरोपका, खासगरी नर्डिक देशहरूले राजनीतिक मोडलको नेतृत्व गर्न सक्नेछन्।
अमेरिकाको रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टी श्रमजीवी वर्गको पक्षमा रहेको तर्क गरिन्छ। यो पार्टीले उठाउने गरेका मुद्दाले तर्क पुष्टि गर्छ तर त्यहाँ पनि कुलीनहरूले नै कब्जा जमाएका छन् जहाँ स्यान्डर्स जस्ता समाजवादी हार्छन्।
अझ विरक्तलाग्दो तथ्य के छ भने गत चुनावमा अमेरिकी श्रमिक वर्गको ठूलो हिस्साले डोनाल्ड ट्रम्पलाई भोट दियो। यसो हुनुमा श्रमिकवर्गमा व्याप्त निराशामाथिको राजनीति हो भन्ने तर्क स्यान्डर्स र फुकुयामाको छ।
रिपब्लिकनहरूले श्रमिकको निराशामा राम्ररी खेले। रिपब्लिकनले नै गरिबीबाट मुक्ति दिलाउँछ भन्ने भ्रम व्याप्त भयो। यता ट्रम्पले अफिस सह्माल्नासाथ सबैभन्दा पहिले गरिब, महिला, श्रमिक र अल्पसंख्यकमाथि धावा बोले। यसबाट प्रियतावादीहरूले कसरी आममानिसलाई धोका दिन्छन् र कुलीन वर्गको पक्षपोषण गर्छन् भन्ने प्रस्ट भएको छ।
अमेरिकामा देखिएका यी पछिल्ला घटनाक्रमहरू लक्षण मात्रै हुन्। कारण त त्यहाँको राजनीतिक तथा वैचारिक प्रणाली नै हो। उदार लोकतन्त्रले कुलीन वर्गकै पक्षपोषण गर्ने हो। शोषण श्रमिककै गर्ने हो। आर्थिक लाभका लागि राजनीतिको दुरुपयोग नै गर्ने हो।
यस्तो व्यवस्था आमजनताको हितमा हुनै सक्दैन भन्ने स्यान्डर्सको विचार छ।

(लेखक वाइपी आचार्य त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्।)