नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले अर्थविद् शेरजंगबहादुर चन्दद्वारा लिखित पुस्तक ‘किज् अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक भएको छ।
इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने आवश्यक रणनीति, नीति र उपायहरू सरल रूपमा लेखिएको छ।
पुस्तकमा नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रबर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरण कसरी सम्भव छ भन्ने कुरा समेटिएको छ।
त्यसैगरी सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने कुराहरु पुस्तकमा समावेश गरिएको पनि लेखक चन्दले बताए।
पुस्तकमा समेटिएका प्रमुख विषयहरुमा उद्योग र व्यापारको प्रवर्द्धन,नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य,स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिका उपाय रहेको छ।
पुस्तक इन्डिगो इन्कबाट प्रकाशित भइसकेको छ र पाठकहरूले यसलाई देशभरका प्रमुख पुस्तक पसलहरू तथा अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन्।