आख्यानकार तथा पछिल्लो समयकी सक्रिय समीक्षक अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि विमर्श भएको छ।
शुक्रबार मार्टिन चौतारीमा गीता त्रिपाठीले कोइरालाको उपन्यासको चर्चा गरेकी थिइन्।
पठन संस्कृतिको विकासका लागि विविध काम गर्दै आएको बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ। यसै क्रममा कोइरालाको उपन्यास उज्यालो औँसीमाथि त्रिपाठीले समीक्षात्मक टिप्पणी गरिन्।
संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उपन्यासकारले अनुभूतिको करुणामय अवस्था चित्रण गरेको समालोचक त्रिपाठीले बताइन्।
उपन्यासमा उल्लेख गरिएका कतिपय प्रसंगले आफूलाई पनि पूर्वस्मृतिमा पुर्याएको उनको भनाइ थियो।
त्रिपाठीले कृतिमाथि टिप्पणी गर्दै त्यसभित्रका केही कमी कमजोरीहरू पनि केलाइन्।
उपन्यासमा चरित्रांकनमा त्रुटी भएको र नाटकीयता बढी भएकोतर्फ पनि उनले औंल्याइन्।
उपन्यासकार कोइरालाले पनि कार्यक्रममा आफ्नो लेखकीय धारणा राखेकी थिइन्। विमर्शमा राधिका कल्पित, अनिता पन्थी, भगवति खतिवडा, राजकुमार बानियाँलगायतले आफ्नो पाठकीय टिप्पणी राखेका थिए।