डिशहोम १२ खरी कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा 'माग्युद् खोना' ले प्रथम पुरस्कार प्राप्त गरेको छ।
बाह्रखरी मिडियाले १२ खरी कथा प्रतियोगिताको छैटौं संस्करणको नतिजा आइतबार सार्वजनिक गरेको हो।
प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा 'कृत्रिम सपना' द्वितीय र कथाकार विवेक धिमालको कथा 'मैले देखेको विद्यालय' ले तृतीय पुरस्कार प्राप्त गरेको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो 'बाह्रखरी उत्कृष्ट कथा–२०८१' पुस्तकको समेत लोकार्पण गरियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे।
बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ छन्।
१२ खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो। बाह्य निर्णायकहरूमा प्रा. डा. ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य थिए।
साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा विश्वव्यापी कथा प्रतियोगिताको आयोजनलाई महत्व दिँदै आएको बाह्रखरी मिडियाले जनाएको छ।