वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेको नयाँ कविताकृति ‘हुरीको इन्द्रेणी उक्लेर’ बजारमा आएको छ।
मानव जीवनका समसामयिक विषयमाथि गहिरो र फरक चिन्तन गरेर लेखिएका ४६ वटा लामाछोटा कविता यस कृतिमा समेटिएको छ।
उनका समकालीन कवि मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कवितामाथि भूमिका लेख्दै घिमिरेको काव्यकारिताप्रति गर्व गरेका छन्।
यस्तै यो कृतिमा वरिष्ठ कवि बैरागी काइँलाले पनि भूमिका लेखेका छन्। भूमिकामा काइँला लेख्छन्- नेपाली कविताको लोकप्रिय समकालीन काव्यधाराका एकजना प्रमुख र लोकप्रिय कवि हुन्, विष्णुविभु घिमिरे।
कविता लेखनमा पाँच दशक विताएका घिमिरेले थोरै तर उच्चकोटीका कविता लेख्ने कविको परिचय बनाउन सफल भएका छन्।
घिमिरेका ´काँडाकाँडामा टेकेर´ र `कठघरामा उभिएर´ नेपाली कविता साहित्यका चर्चित काव्यकृति हुन्। उनको तेस्रो काव्यकृति हुरीको इन्द्रेणी उक्लेर´ कविताकृति माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।