खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस वर्ष कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले प्राप्त गरेको छ।
त्यस्तै साहित्यिक अभियन्ता तथा चिन्तक पवन चामलिङलाई पद्मश्री साधना सम्मान र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो। जसमध्येबाट ‘अद्वैत’लाई पद्मश्री साहित्य पुरस्कार दिइएको हो।
समालोचकका रूपमा चिनिएका कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता मानिन्छन्। प्राध्यापक गौतमका समालोचनात्मक र आख्यानात्मक कृतिहरू प्रकाशित छन्।
त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेकाले चामलिंगलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले बताएका छन्।
यी पुरस्कारको राशि जनही ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले बताएको छ।