कवि विपिन पाठकको पहिलो कविता संग्रह ‘मरूभूमिमा वासन्ती याम’ लोकार्पण भएको छ।
माडीको पर्यटकीय स्थल रातमाटे डाँडामा कार्यक्रम गरी कविता संग्रहको लोकार्पण गरिएको हो।
माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, कवि पाठकका बाबुआमा बालकृष्ण पाठक, पार्वती पाठक, नेकपा एमालेका नेता रामप्रसाद न्यौपाने, कवि भूपिनलगायतले संयुक्त रूपमा कविता संग्रह लोकार्पण गरेका थिए।
माडी साहित्य परिवारको आयोजनामा गरिएको कार्यक्रममा चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वको उपस्थिति थियो।
कवि पाठकको व्यक्तित्व एवं कृतिबारे डा. धनेश्वर भट्टराईले चर्चा गरेका थिए। प्रेम रिमाल, प्रकाश चापागाईं, पुरूषोत्तम आचार्यलगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए।
कवि विपिनले कवितामा समाजका सामान्य कुरा समेटिएको बताए। सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका विषय कवितामार्फत समेटेको उनले बताए।
संग्रहमा समाजमा चेतना तथा परिवर्तनका केही सन्देश दिने ४० वटा कविता छन्।