साहित्यिक पत्रकार संघले यस वर्षको 'व्यथित काव्य सम्मान' कवि मणि लोहनीलाई र 'व्यथित काव्य डायस्पोरा सम्मान' कवि सुरेन उप्रेती (क्यानडा) लाई दिने भएको छ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिका आधारमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो।
युवा पुस्ताका चर्चित कवि/कथाकार मणि लोहनी पेसाले टेलिभिजन पत्रकार हुन्। उनले पछिल्लो समय मृत्यु र त्यसपछिको महाशुन्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गरेका छन्।
लोहनीका आन्दोलनले छट्पटाएका कलमहरू, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविता कृतिसहित असहमतिका पाइलाहरू, परास्त प्रेम, निर्वस्त्र मन कथाकृतिहरू प्रकाशित छन्।
त्यस्तै कवि सुरेन उप्रेतीको 'आजका स्वरहरू' कविता संग्रह २०५३ प्रकाशित छ।
२०३९ सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार यसअघि कविहरू दिनेश अधिकारी, मेघराज मन्जुल, उषा शेरचन, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, श्रवण मुकारूङ लगायतलाई दिइएको थियो।