बैंकर राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैलाई नियाल्दा’ सार्वजनिक भएको छ।
शनिबार पुस्तकको विमोचन पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, सांसद प्रा. डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधान सभाका सदस्य डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा. लोक विक्रम थापा र खेम बहादुर रायमाझीद्वारा संयुक्त रूपमा गरिएको हो।
राष्ट्र बैंकमा २६ वर्ष बिताएका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए। त्यसपछि सिटिजन्स बैंकको स्थापना गर्दै जोडिन्छन् र त्यसका लागि महत्त्वपूर्ण पहलकदमी प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष समेत बनेका थिए।
यस अवधिमा उनले देखे-भोगेका धेरै रोचक र महत्त्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेको बताइएको छ। मौद्रिक/वित्तीय तथा बैंकिङ क्षेत्रमा कार्यरत क्यास काउन्टरका कर्मचारीदेखि सिइओ, व्यवस्थापनका विद्यार्थी, उद्यमशील युवा वा आम पाठक जो–कोहीले पनि आ-आफ्नो ढङ्गले किताबले उजागर गरेका विभिन्न सन्दर्भ वा प्रसंगसँग समेटिएको बताइएको छ।
प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालका शब्दमा यो किताब आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक रहेको बताए।
'यसमा लेखकले आफूलाई ‘हिरो’ वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन्, बरू कमजोरीको पनि खुलेर चर्चा गर्छन्। सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ,' उनले भने, 'तर राजनसिंह भण्डारीका हकमा यी कयौँ ‘नियम’ लागू हुँदैनन्।'
पूर्वमन्त्री शरत सिंह भण्डारीले यस कृतिलाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिएका छन्। पूर्वगभर्नर डा. तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए।
१३ परिच्छेद र ३१२ पृष्ठको यस पुस्तकको मूल्य रू. १०००।– राखिएको छ। पुस्तक बिक्रीबाट प्राप्त निश्चित आम्दानी शिवचन्द्र स्मृति प्रतिष्ठानमार्फत विपन्न परिवारका मेधावी छात्रछात्राको शिक्षामा खर्च गरिने बताइएको छ।