साहित्यकार सरस्वती प्रतीक्षाको दोस्रो उपन्यास ‘स्व’को शनिबार पोखरामा गृह विमोचन गरिएको छ।
पोखरामा आयोजित गृह विमोचन समारोहमा साहित्यकारहरू सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल, रंगकर्मी अनुप पौडेल, दिया मास्के लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
वादी समुदायको कथामा पहिलो उपन्यास ‘नथिया’ प्रकाशित भएको सात वर्षपछि सरस्वतीले दोस्रो उपन्यास स्व ल्याएकी हुन्। स्व असार २ गते काठमाडौंमा पहिलो पटक लोकार्पण गरिएको थियो।
पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भएको गृह विमोचन समारोहमा बोल्दै वक्ताहरूले स्व उपन्यास पठनीय र संग्रहरणीय भएको बताएका छन्।
साहित्यकार गनेस पौडेलले स्व उपन्यासको लेखाइ कलात्मक र बौद्ध दर्शनको छायामा लेखिएको टिप्पणी गरे।
‘स्व उपन्यासमा बौद्ध दर्शनको छहारी पाउन सकिन्छ, जसरी गर्मीमा शितल छहारीको महत्व हुन्छ,’ उनले भने, ‘स्वका पात्रहरूमा जसलाई पनि केन्द्रीय पात्र मान्न सकिन्छ।’
अर्का समिक्षक रिता अधिकारी ‘ऋतु’ले स्व उपन्यासमा साहित्य, विज्ञान, दर्शन र अत्यात्मको संयोजनले सुन्दर बनेको बताइन्। सरस्वतीको पहिलो उपन्यास नथियाका तुलनामा पृथक र गम्भीर पाठकको खोजी स्वले गर्ने भए पनि नथियाका पाठक निराश हुनु नपर्ने उनले बताइन्।
‘आफू र आप्mनो अस्तित्वको खोजी हो हो स्व। सामाजिक यथार्थवादी धरातलमा उभिएको नथियाको तलुनामा अलि पृथक र गम्भीर पाठकको अपेक्षा राख्ने स्व पढ्दा नथियाका पाठक निराश हुनुपर्दैन,’ उनले भनिन्।
पुस्तक विमोचनमा बोल्दै लेखक सरस्वतीले उपन्यास स्व धेरै पटक पुनर्लेखन गरेर प्रकाशनमा ल्याएको बताइन्। मष्तिस्कमा लेखिएको उपन्यासको कथा पहिलो पटक छोरा आदिभलाई सुनाएको भन्दै उनले छोराबाट प्रेरणा पाएको बताइन् ।
’उपन्यास स्व मष्तिस्कमा लेखिसकेको थिए । डेढ बर्ष लगाएर पुस्तकाकार दिएँ। उपन्यासका कथा पहिलो पटक छोरा आदिभलाई मेरो पात्र यस्तो हुन्छ। यहाँ जान्छ। उता जान्छ भनेर सुनाएको थिएँ। यो त खतरा कथा लाग्यो भनेर शुरुवाती कालमा प्रेरणा भयो मेरा लागि,’ उनले भनिन्।
विमोचन समारोहमा रंगकर्मी अनुप बराल र दिया मास्केले स्व उपन्यासका केही पाठ वाचन गरेका थिए।