रमेश क्षितिजको नयाँ कविता संग्रह 'पर्वत पर्वतमा बटुवा घाम' को विमर्श गरिएको छ।
शनिबार सिन्धुपाल्चोकस्थित सुकुटे बिचमा सम्पन्न भएको विमर्शमा ४० भन्दा बढी कवि तथा लेखकहरूले उनका कविता र कविता यात्रामाथि टिप्पणी गरेका थिए।
रमेश क्षितिजका कवितालाई अनुवाद गर्दा आफू चकित भएको लेखक कुमार नगरकोटीले बताए। 'कुनै समय कवि श्रवण मुकारुङमार्फत मैले क्षितिजका कविता अंग्रेजी भाषामा अनुवाद गरेको थिएँ। मुकारुङले कविता थमाउँदा क्षितिजका कवितालाई खासै वास्ता गरेको थिइनँ तर पछि उनको कवितामा डुब्दै गए,' उनले भने।
साहित्यकार एवम् पत्रकार बसन्त बस्नेतले क्षितिजको कविता लेखनको विशेषता र समकालीन नेपाली कविताको बुनोट र बान्कीबारे संवाद गरे।
समालोचक राजकुमार बानियाँले पुस्तकमाथि टिप्पणी गर्दै भने, 'अहिलेका नेपाली कवितामा 'अ-कविता' हावी भइरहेका बेला क्षितिजका कविताले नेपाली कविताको क्षेत्रमा युगीन अर्थ राख्छ। कवितामा खास कविता तत्त्व हराउँदै जाँदा नारालाई कविता मानेर पढिरहेका पाठकलाई यी कविता भिर माहुरीले बनाएको महजस्तै स्वास्थ्यबर्धक लाग्नेछन्।'
लेखक बुद्धिसागरले कुनै समय उपन्यास लेख्न कथाको खाका बनाएका क्षितिज नेपाली कविताका अनन्त सर्जक रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै कवि क्षितिजले आफूले गरिरहेको हृदय यात्राको अर्को रूप कविता भएको उल्लेख गरे।
कवि ज्योति जंगल, हेम प्रभास, मणि लोहनी, बुद्धिसागर, यज्ञश, पवन आचार्य, रूपेश श्रेष्ठ, कुमार नगरकोटीलगायतले क्षितिजका कविता वाचन गरेका थिए।