खेमनाथ दाहालको उपन्यास 'अहोरात्र' लोकार्पण गरिएको छ।
शनिबार काठमाडौंमा एक विशेष समारोहबीच उनको उपन्यास 'अहोरात्र' लोकार्पण गरिएको हो।
मिलाप पब्लिकेशनले आयोजना गरेको समारोहमा लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, साहित्यकार खेम कोइराला बन्धु, पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक खेमनाथ दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले पुस्तकको लोकार्पण गरेका थिए।
लेखकीय मन्तव्य राख्दै दाहालले आफ्नो अमेरिकी बसाई विभिन्न परिवेश, अनुभूति र अनुभवलाई यस कृतिमार्फत पाठकमाझ पस्किएको बताए।
'अमेरिकाको एक कुनामा बसेर सामान्य छलफलको सिलसिलामा मेरो मनमस्तिष्कमा विजारोपण भएको सानो झिल्को पुञ्ज बनेर प्रकट भएको तानाको एक अंश अहोरात्र हो,' उनले भने।
कार्यक्रममा नवराज सुवेदी मूनले सहजीकरण गरेका थिए।