किताब समीक्षा:
सुन्दर र सफा गाउँ-सहरको कुरा गर्नुको मज्जै बेग्लै। सुकिला घर, आँगन र बाटोघाटोको परिकल्पना गर्नु कम्ता रमाइलो हुन्न। त्यस्तो परिकल्पना साकार पार्न पर्दापछाडि झन् धेरै काम गर्नुपर्छ। जस्तो: सरसफाई र फोहोर लगायतको व्यवस्थापन।
हुन त दिगो र पर्यावरणमैत्री व्यवस्थापन गर्ने हो भने फोहोरमैलाप्रति हाम्रो पुरातन सोच परिवर्तन गर्न जरूरी छ। जसलाई हामी फोहोर ठान्छौं र भन्छौं, त्यो तत्काल काम नलाग्ने मात्र हो। कामै नलाग्ने थोरै हुन्छ।
जे होस्, एकछिन त्यही फोहोर मानिने वस्तुको कुरा गरौं!
फोहोरमैलाको कुरा गर्दा उपत्यकाको दोहोरिरहने समस्याको रूपमा चिनिएको छ फोहोरको चुनौति। हुन त लिच्छविकालअघि नै उपत्यकाका रैथाने नेवा: समुदाय फोहरबाट प्राप्त हुने वस्तुको पुन: उपयोग र व्यवस्थापन गर्न खप्पिस थिए। घरका पुराना इँट्टा, ढुंगा तथा काठको उनीहरू पुन: प्रयोग गर्थे। जैविक फोहरबाट मल बनाउँथे। जडावरी लुगा बनाउँथे। त्यस्ता लुगा लगाउँदा शुभ हुने विश्वास गर्थे र गर्व गर्थे।
नेवा: समाजमा बरोबर भइरहने विभिन्न संस्कारको क्रममा निस्किने फोहोर व्यवस्थापन निश्चित समुदायका व्यक्तिको जिम्मामा रहन्थ्यो। आधुनिकता र अरू समुदायको आगमनसँगै यस्ता पुराना परम्परा हराउँदै जान थाले। उपत्यकामा फोहरमैलाको समस्या झन् बढ्न थाल्यो।
उपत्यका मात्र होइन, ठूला सहरका सदाबहार र जटील समस्याको रूपमा विकसित छ फोहोरमैला व्यवस्थापन। बढ्दो सहरीकरणसँगै यो सबै भेग र क्षेत्रको साझा समस्याका रूपमा खडा हुन धेरै समय लाग्ने छैन। वर्तमान परिस्थितिमा विश्वमा हरेक वर्ष २ अर्ब टनभन्दा बढी फोहोर निष्कासन हुन्छ। यो परिमाण ८ लाखभन्दा बढी ओलम्पिक साइजका स्विमिङ पुलहरू भर्न काफी हुन्छ।
विश्व बैंकका अनुसार त्यसको करिब एक तिहाइ फोहोर कि जलाइन्छ कि फ्याकिन्छ। त्यो पनि खुला रूपमा। यो सधैँजसो र प्राय: सबैतिर देखिने चुनौती हो। यसको प्रमुख कारण देश, समुदाय र समयअनुसार फरक हुन्छ। सन् २०५० सम्ममा हरेक वर्ष निष्कासन हुने फोहोरको परिमाण ३/४ अर्ब टन पुग्ने अनुमान गरिएको छ। यसरी फोहोर थुप्रदैँ गयो भने हामी जति नै ल्यान्डफिल बनाऔं वा रिसाइकल कार्यक्रम अपनाऔं, त्यो कम हुन्छ। हाम्रै देश नेपालको निम्ति पनि यो विषयवस्तु पर्यावरणीयदेखि नीतिमूलक दृष्टिकोणमा समेत पेचिलो छ। त्यसो भए समाधान के त?
फोहोर व्यवस्थापनको मूल सिद्धान्त भनेको 'थ्री आर' हो, जसमा फोहर कम गर्ने (रिड्युस), फोहोरलाई पुन: प्रयोग गर्ने (रियुज) र फोहरबाट पुन: प्राप्ति गर्ने वा अर्को सामग्री, जैविक मल, ग्याँस, उर्जामा परिणत गर्ने (रिकोभरी र रिसाइलिङ) प्रक्रियाहरू पर्छन्। यी प्रक्रियापश्चात बाँकी रहेका फोहोर तह लगाउने कार्य हो विसर्जन (डिसपोजल)।
ई. शशिबहादुर थापाज्यूको हालै मात्र प्रकाशित किताब 'फोहोर व्यवस्थापन र गरिबी निवारण' यही विन्दुबाट सुरू हुन्छ। लामो समय फोहोर व्यवस्थापन तथा भौतिक परियोजना विभाग, शहरी विकास, काठमाडौँ सरसफाई समिति लगायत सरकारी कार्यालयमा उपल्लो तहमा सेवा गरी अनुभव बटुल्नु भएका लेखक फोहोरमैलासम्बन्धी सम्मानप्राप्त विज्ञ हुन्। भुइँतहमा धेरै अध्ययन, अनुसन्धान र अरू विद्वानसँग विस्तृत परामर्शपछि यो किताबले मूर्त रूप लिएको हो।
किताबले फोहोरलाई व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरमा कसरी व्यवस्थापन गर्ने भन्ने प्रेरणा मात्र दिँदैन, फोहोर भनेको तुच्छ वस्तु होइन र नेपालको लागि एउटा सुनौलो अवसर र उत्प्रेरणा हुनसक्ने कारण र तरिका पस्किएको छ। साथै, फोहोरलाई हाम्रो गरिबी समाधानको एउटा उपायको रूपमा उजागर गरेको छ।
वास्तवमै रिड्युस, रियुज र रिसाइकल गरेर जेराे वेस्ट अर्थात् शून्य फोहोर सिर्जना गर्ने अवधारणामा फोहोरमैला व्यवसाय अंगाल्न सकिन्छ। फोहोरलाई व्यवसाय बनाउँदा हाम्रो पर्यावरण उकासिने अनि स्वच्छ, सुन्दर र स्वस्थ राष्ट्र निर्माण हुने मात्र होइन; कच्चा पदार्थको पुनः प्राप्ति र पुनः प्रयोग हुने वस्तुको उपयोगबाट वार्षिक झण्डै ६ अर्ब आम्दानी हुनसक्ने लेखकको धारणा छ।
डेढ लाखदेखि दुई लाख व्यक्तिसम्मलाई प्रत्यक्ष रूपमा र आधा लाखलाई अप्रत्यक्ष रोजगारी दिनसक्ने यो व्यवसाय के-कसरी गर्न सकिन्छ भनेर किताबले विस्तृत चर्चा गरेको छ। यसरी सही रूपमा काम गरेको खण्डमा एकातर्फ गरिबी निवारणमा लक्षित समूहलाई प्रत्यक्ष फाइदा पुग्छ भने अर्कोतर्फ जैविक फोहरबाट प्रांगारिक मल बनाई उपयोग गर्दा माटो राम्रो हुन्छ। यसले देशको कृषि उत्पादन बढाउन ठूलो सहयोग पुग्नेछ। देशको अर्थतन्त्र र उपभोक्ताको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव त छँदैछ।
हुन त हाम्रोजस्तो विकासशील देशले के-केमा ध्यान पुर्याउनुपर्छ भनेर विश्व बैंक, संयुक्त राष्ट्र संघ, एशियाली बैंक जस्ता विभिन्न अन्तर्राष्ट्रिय दातृनिकायले टन्नै सुझाब दिएका छन्। यूरोप, अमेरिका, अष्ट्रेलिया र हाम्रै नजिकका जापान, सिंगापुर लगायत विकसित देशको अनुभव, फोहोर व्यवस्थापनका विभिन्न उपाय र समाधान उपलब्ध भएको अहिलेको परिप्रेक्षमा हाम्रो आफ्नै दक्ष जनशक्ति र श्रोतसाधनको सही लेखाजोखा र उपयोग गर्नु अत्यावश्यक छ।
लेखक भन्नुहुन्छ, 'नेपालको लागि कुन सल्लाह-सुझाव उपयुक्त हुन्छ भनेर गहिरिएर सोच्नुपर्छ।'
विकसित देशले अपनाएका महंगा प्रविधी र अवधारणाको सिको गर्नुभन्दा फोहोर व्यवस्थापनको योजना बनाउँदा र काम गर्दा नेपालकै माटो, वातावरण, साधन क्षमताको आँकलन गर्नु र फोहोरको किसिम, गुण, परिमाण आदि पहिचान गर्नु जरूरी हुन्छ। जस्तै, विकसित देशमा जस्तो फोहोरलाई बालेर बिजुली उत्पादन गर्नु मुर्खता हुन्छ। बरू पुन: प्रयोग हुने वस्तुको साना उद्योग खोली गरिबीको रेखामुनिका लक्षित समूह, असहाय, अनाथ, अपांग आदिलाई राज्य र स्थानीय निकायले तालिम दिने, संलग्न गर्ने र प्रोत्साहन दिने गर्नुपर्छ। यसरी ती समूहलाई स्वावलम्बी गरेर मात्र गरिबी निवारणको लक्ष्य हासिल हुने कुरामा लेखक जोड दिनुहुन्छ।
किताबमा प्रस्तुत सामग्री क्रमबद्ध र व्यवस्थित छन्। सामग्रीहरू भरसक कम प्राविधिक होस् भनेर सजगता अपनाइएको देखिन्छ। यसैले करिब चार सय पृष्ठको किताब पाठकमैत्री पाउनुहुन्छ। किताबको पहिलो भागमा विषयवस्तुबारे बुझ्नुपर्ने कुरा समावेश छन्। दोश्रो भाग २२ वटा अध्यायमा विभाजित छ।
सुरूमा विषय प्रवेश गरेपछि फोहोर व्यवस्थापनको आधारभूत सिद्धान्त र नेपालको गाउँ-नगरीय आदि क्षेत्रगत तहमा त्यसको प्रभावकारी कार्यान्वयन कसरी हुनसक्छ, त्यसको फेहरिस्त दिइएको छ। त्यस्तै, सफाई व्यवस्थापनमा जनसहभागिता बढाउन सरोकारवालालाई कार्यमूलक उत्प्रेरणात्मक मोडेलमा कसरी सहभागी गर्न सकिन्छ, त्यसको विस्तृत व्याख्याले किताबको उपयोगिता बढेको छ।
गरिबी निवारणको हकमा केही कवाडी संकलक र कवाडी पसलहरूको प्रस्तुत तथ्यांक विश्लेषण हेर्दा संकलकको वार्षिक कमाई २/७ लाखसम्म र पसलको ९ लाखसम्म रहेको अवस्थामा स्वदेशी उद्यमीलाई यो पेसा अवलम्बन गर्न धेरै प्रेरणा दिने निश्चित छ। कस्तो र कुन किसिमबाट उत्पादित फोहोरले रोजगारी दिन सक्छ एवं फोहोर व्यवस्थापनमा आउने थरिथरी समस्याको प्रक्रियात्मक सूची र हरेकका समाधानका उपायले किताबको ओज थपेको छ। अन्त्यमा, एकपल्ट फेरि उपत्यकामै फर्किने हो भने काठमाडौ-ललितपुर क्षेत्रको फोहोरको दिगो व्यवस्थापनको विस्तृत योजना र अपनाउनुपर्ने सावधानीका बुँदाहरूले किताबलाई थप सबल र पूर्ण तुल्याएको छ।
साँच्चै भन्ने हो भने फोहोरको दिगो व्यवस्थापनमा 'थ्री आर' को अवधारणा अति नै महत्त्वपूर्ण छ। लेखकले यो अवधारणालाई धेरै किसिमले व्यक्त गर्न खोज्नुभएको छ। यसलाई पाठकले मनन गर्नसके किताब धेरै हदसम्म सफल भएको मान्न सकिन्छ। त्यही सिलसिलामा फोहोर कम गर्ने र पुन: प्रयोग गर्ने व्यवहारिक टिप्सको छुट्टै एउटा अध्याय किताबमा थप्न सकिए फोहोर व्यवस्थापनको सुरूआती चरण अझ सशक्त हुन पुग्थ्यो। किताब अध्ययन गर्दै जाँदा केही सामग्री धेरैपटक दोहोरिएको हो कि भन्ने लाग्न सक्छ। कुनै-कुनै शब्दका हिज्जे मिलेका छैनन्। त्यस्तै केही अध्यायका शीर्षकहरू सटीक हुन नसकेजस्तो देखिन्छ। अर्को संस्करणमा यी कुरा सुधारेको खण्डमा सुनमाथि सुगन्ध हुन्थ्यो।
प्रशस्त मात्रामा तस्बिर, तथ्यांक, तालिका, सूची, कार्यचित्र, फोहोर व्यवस्थापनका विधि र यो पेसामा लागेकाहरूको सजीव उदाहरण समावेश भएकाले किताब एकदम रूचिकर, यथार्थपरक र व्यवहारिक छ। साजसज्जा अनि किताब मुद्रण आकर्षक छ। सचित्र, सरल अनि संवाद शैलीमा लेखिएको यो किताब गुणस्तरीय हुँदाहुँदै सुपथ पनि छ। निसंदेह, यो किताब हरेक परिवार, विद्यार्थी, प्राविधिक, व्यवसायी, स्थानीय निकाय अनि सरोकारवालालाई उत्तिकै उपयोगी, पठनीय र संग्रहणीय हुने सिद्ध छ।
किताब: फोहोर व्यवस्थापन र गरिबी निवारण
लेखक: ई. शशिबहादुर थापा
पृष्ठ संख्या: ४००
मूल्य: ६५० रूपैयाँ