राजु स्याङतानको पहिलो कविता संग्रह 'ओ पेङदोर्जे' सार्वजनिक भएको छ।
आफूसँग कुनैसमय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई शनिबार पुस्तक हस्तान्तरण गरेर राजुले कविता संग्रह सार्वजनिक गरेका हुन्। द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन्।
पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरूले कुनै समय हतियार बोकेर समाज रूपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे।
‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ पुस्तकमा अटाएको कविताबारे टिप्पणीगर्दै समीक्षक हरि शर्माले भने, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्वित भएको छ।’
एकठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रूपमा पाउँदा आश्चर्यसमेत प्रकट गरे।
कार्यक्रममा पब्लिकेशन नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले लेखक तथा प्रकाशकहरूले जति छिटो पुस्तकहरू धेरै माध्यममा उपलब्ध गराउँछन्, त्यति नै पाठकको दायरा फराकिलो हुने जानकारी दिए।
‘यतिबेला साहित्यिक पुस्तकमध्ये सबैभन्दा थोरै कविता बिक्री भइरहेको यथार्थबीच हामीले यसै विधाको पुस्तक प्रस्तुत गर्ने जमर्को गरेका छौं,’ उनले भने, ‘कुनै समय पुस्तकको बिक्री बढेर फेरि कमी आउन थालेकामा हामी प्रकाशकहरूले कस्ता पुस्तक पाठकलाई दियौं भनेर पनि यतिबेलै आत्मसमीक्षा गर्नु जरुरी छ।’
एक सय ५१ पृष्ठको यो कविता संग्रह शनिबारबाटै सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने जानकारी पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले दिइन्।
राजु स्याङ्तानले लेखेका कविता संग्रह ‘ओ पेङ्दोर्जे’ मा छ वटा फरक खण्डमा ५१ वटा कविता अटाएका छन्।
यो पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा, इ-बुक र ‘अडियो बुक’ का रूपमा सार्वजनिक गरेको छ। ‘अडियो बुक’ मा कवि राजु र गायक तथा संगीतकार आभाषको धुन रहने छ।
यो कविता संग्रह अनलाइनमाध्यम अमेजनबाट पनि किन्न सकिनेछ।