‘आमा’ शीर्षकको कवितामा आइपुगे पछि म रोकिएको छु। त्यसपछिको पेजमा राजकुमार बानियाँद्धारा सिर्जित ‘सुन्दर संसार विस्तारमा चन्द्र गुरूङका कविता’ शीर्षकको एक भूमिका छ। सायद भूमिका नै हुनुपर्छ। बस्, यत्ति शीर्षक पढेँ। र, केही लेख्न ल्यापटको किबोर्डमा औंलाहरु चलाइरहेछु।
पछिल्लो दुई साता मेरो प्रिय साथी बन्यो यो पुस्तकः जब एउटा मान्छे हराउँछ। झोला बोक्दा झोलामा यो बोकियो। झोला नबोक्दा पनि खल्तीमा मज्जाले बस्यो यो पुस्तक। चर्को घाममा मसँग रह्यो। असारको झरीमा मसँग रह्यो। धुलो उडाउँदै गर्दा मसँग रह्यो।
हिलोमा हिँड्दै गर्दा मसँग रह्यो। स्कूल हिँड्दा होस् या मनिङवाक जाँदा जंगलतिर। खेत जाँदा होस् या बजारतिर बरालिइरहँदा, यो साथमै रह्यो। प्रिय मित्रहरुको खडेरी छ गाउँमा। यही पुस्तक बन्यो दोस्ती। कविताको प्रेमिल झरीले यो असारमा मज्जाले रूझेँ म।
यी अक्षरहरुमाथि आँखा डुलाउने हर कोहीलाई लाग्नसक्छ, एउटा कविता संग्रह पढ्न पन्ध्र दिन? असली कविता पढ्न पाएपछि एउटै कविताले एक दिनलाई मज्जाको डोज पुग्छ। गम्भीर कविताले गम्भीर पठनकै माग गर्दछन्। एउटा कविताले बोक्ने कथा उपन्यासमा नअट्न सक्छ। एउटा कविताले बोक्ने जीवन एउटा नाटकमा नअट्न सक्छ। कविताको अर्थको क्षेत्रफल यति विशाल हुन्छ कि तपाईँ एउटै कविताको फरक समयको पठनमा फरक फरक अर्थ पाउन सक्नुहुन्छ।
चन्द्र गुरूङ कवि हुन् भन्ने बाहेक अरू केही थाहा छैन। चन्द्र गुरुङ विदेश र घर गरिरहन्छन् भन्ने बाहेक केही थाहा छैन। चन्द्र गुरूङ कविता कर्म गर्छन्। यो थाहा पाउन यो पुस्तक काफी छ। फेसबुकमा एकअर्काको अनुहार देख्नुबाहेक अरू औपचारिक परिचय छैन हाम्रो। कविताले जोडेको हो हामीलाई। र, मन लुट्ने यी कविताको नाममा केही नलेखी बस्न सकिनँ। म हल्लिएँ। म बगेँ। म रूझेँ। म आन्दोलित भए। म सोंचमा डुबेँ। या वा यतै उतै म हराइरहे यी कविताहरूमा।
कविता के हो ? कविता कस्तो हुनुपर्छ? आजसम्म अनुत्तरित छन् यी प्रश्नहरु। अर्थात् जवाफै जवाफको पहाड उभिएको छ। तर हरेक जवाफमा केही नपुगे जस्तो हुनु स्वभाविक छ। यदि त्यस्तो हुन्थ्यो हो त कविताको अस्तित्व के रहँदो हो र? एन्टन चेखव लेखन सुत्रको सवालमा एउटा कुरा भन्छन्, राइट वड्ज इन द राइट प्लेस। वास्तवमा लेखन यही हो, एउटा शब्द अर्को कुन शब्दसंग सुहाउँछ? लेखनको चलाखी या कला त्यत्ति हो। कवितामा चन्द्र गुरुङ शब्दलाई विस्तारै उचाल्न र राख्न माहिर खेलाडी हुन् भन्ने कुरा प्रमाणित गर्दछन् यी कविताहरु।
सरलताभित्रको गहनता नै यो कृतिको मुख्य विशेषता हो। अत्यन्तै सरल ढंगले गम्भीर कुरालाई व्यक्त गर्ने यस्तो खुबी कमै कविहरुमा भेटिन्छ। पढ्दा अत्यन्तै सरल लाग्ने यी कविताहरुको अन्त्यले एक किसिमको झड्का दिन्छन्। हृदयका तारहरू हल्लाउँछन्। र, केही फरक सोंच्न बाध्य बनाउँछन्।
चन्द्र गुरुङ आफू बाँचेको समय लेखेका छन् कवितामा। उनले आफू बाँचेको जीवन लेखेका छन् कवितामा। हामी बाँचेको यो व्यवस्थाप्रतिको आक्रोश लेखेका छन्। हामी बाँचेको समाज र समाजका सुन्दर र कुरुप दुबै कुरा अटेका छन् कवितामा। देश र परदेश गरिरहनुको विवशता लेखेका छन् कवितामा।
एक जना विद्धान भन्छन्, ‘पोयट्री इज स्पिकीङ पिक्चर एण्ड पिक्चर इज द साइलेन्ट पोयट्री।’
हो, चन्द्र गुरूङका कविताहरु बोल्ने चित्र हुन्। हर कुनै कविता पढ्दा सग्ला चित्रहरु नाँच्छन् आँखामा। शब्दहरुको मसीले कोरिएका यी चित्रहरु हेर्दा हर कोही कविताको पाठक बेस्सरी हल्लिन्छ।
सन्तानका लागि दुःख र परिश्रम नगर्ने बाबु को होला दुनियाँमा? आफ्नो खुशी र जीवनका अपूर्ण सपनाहरु सन्तानको आँखाले हेर्छन् बाबुहरू। ‘बाको अनुहार’ पढिरहँदा हर कोहीको दिमागमा नाँच्छ दुःख र वेदनाको एउटा चित्रः बुवाको तस्बिर। त्यसो त यो कविताले निकै भद्र रुपमा पहिचानको मुद्दालाई पनि उठाएको छ। रोचक कुरा त यो छ कि ‘बाको अनुहार’ बाट सुरु भएको कविता कृति ‘आमाको अनुहार’मा पुगेर टुंगिएको छ। यो संयोग हो या यस्तै गरियो, चन्द्र गुरूङ नै जानुन्।
यो समय विज्ञान र प्रविधिको समय हो। वर्तमान समयमा जति द्रूत गतिमा परिवर्तन कहिल्यै भएको थिएन। र, पनि आजको समयमा मान्छेका खुशीहरु बढ्नुको सट्टा दुःखहरु बढिरहेछन्। मान्छे आँखामा आँशुको समुन्द्र र हृदयमा दुःखको पहाड बोकेर बाँचिरहेछन्। तर पनि कवि सम्भावनाका कुरा गर्छन्, सपनाका कुरा गर्छन्। जसको प्रमाण छ, ‘गीत गाइरहन्छ जीवन’।
हामी बाँचिरहेको समय अत्यन्तै कुरूप छ। सहरमा कोलाहल छ। गाउँमा चित्कार मात्रै सुनिन्छ। धुलो छ, धुवाँ छ। आतंक छ। युद्ध छ। पीडा छ। घाउहरु छन्। अशान्तिको राज छ। विश्वास, प्रेम र सद्भावको अनिकाल छ। मान्छेका खुशीहरु शासकले आफ्नो सिरानी मुनि च्यापेर सुतिरहेका छन्। यस्तो समयमा एउटा कविले लेख्ने कबिता ‘देश, हड्डी र कुकुर’ जस्तै नै हुन्छ। या त हुन्छन्, ‘देश, र भोक र नपुङ्सक सरकार’ जस्तै।
गलत नेता र गलत नेतृत्वका कारण हामीहरु दुःख पाइरहेछौ। अन्धभक्त कार्यकर्ता लामबद्ध छन् उनै नेताहरुको पछि। उनीहरु के ठीक र के बेठीक छुट्याउन सक्दैनन्। बस् ! आफ्नो नेताको स्तुति गानमै मस्त छन्। यही गलत प्रवृतिका विरुद्ध कटाक्ष गर्दै सिर्जित छन् ‘कार्यकर्ता’ शीर्षकमा तीन कविताहरु।
‘चराहरुले छोडेर गएपछि’ एक्लो बनेको रूख जस्तै भएको छ देश। कोही किन नपुगोस् सुदूर कुनै देशमा तर पनि ‘माटोको माया’ कहिल्यै कम हुँदैन। र यता ‘बाँकी देश’ भने रोइरहन्छ ‘छोडेर जानेहरुको’ सम्झनामा। घर–परदेश घर–परदेश गरिरहँदा आँशुको मसीले लेखिएका हुन् यी कविताहरु।
प्रेमले जीवनका जटिलताहरुलाई कम गर्छ। प्रेम औषधि हो, दिने र लिने दुबैका लागि। प्रेमको उपचार पनि त प्रेम गर्नु नै हो। आँशु हुन्छ, हाँसो हुन्छ प्रेममा। प्रेम उर्जा हो र त सिर्जित छन् सुन्दर कविताहरु। यसै पनि भनौ कि प्रेम नै भनेर केही थान कविताहरु छन् यस पुस्तकमा।
संग्रहका सबै कविताहरु जीवन बोल्छन्। जीवनका विविध आयामहरु बोल्छन्। एउटा कवि भएर बाँच्दाका अनुभूति के हुन्छन्? कस्ता रङका हुन्छन्? यी यावत् कुरा बोल्छन्। पहाड आफैंमा एक कविता हो। नदी आफैंमा एक कविता हो। एउटा रूख आफैंमा एक कविता हो। आकास, झरी, चन्द्रमा आफैंमा कविता हुन्। हो, यीनै कुरा छन् ‘कवि र कविता’मा।
संसार कहाँबाट कहाँ पुगिसक्यो। तर हामी अँझै जातीयताको नाममा लँडेर बसिरहेका छौ। धारामा होस् या घर, मन्दिरमा जहाँसुकै विभेद छ। यो विभेदको कलंकको अन्त्य जरूरी छ। हामीले पानी चल्दैन भनिरहेका मान्छेहरु के मान्छे होइनन्? के स्वयं पानीले चाँही कसैलाई विभेद गरेको छ? हर कोहीको प्यास मेट्छ पानी। एउटा गम्भीर प्रश्न तेर्साएका छन् कविले यो कवितामा। जुन पढ्दा हर कोही रनथनिन्छः
म रनथनिन्छु
र सोंच्छु–
के पानीलाई थाहा छ
मैले उसलाई छुनुहुन्न भन्ने?
‘परदेश’ शीर्षकमा सिर्जित चार कविताहरुले देशप्रेमको भाव व्यक्त गर्दछन्। गरिवी र वेरोजगारीले लखेटिएर हर कोही किन नपुगोस् घरदेशबाट टाढा कतै तर देश छाँतीमा बोकेर जाने यथार्थलाई सुन्दर ढंगले अभिव्यक्त गर्दछन् यी कविताहरु। ‘जब एउटा मान्छे हराउँछ’ कविता जो आफैंमा शीर्ष कविता हो र अत्यन्तै शक्तिशाली कविता पनि यो कृतिको। एउटा मानिससँगै सबै थोक हराएर जान्छन्। बस् ! हामीले जानु अगावै रोक्नुपर्छ विश्वास र प्रेमको पर्खाल उभ्याएर।
अन्त्यमा यत्ति भनौ, चन्द्र गुरूङ कविताबाट कहिल्यै नहराउन्।