इन्जिनियर बिक्रम भक्त जोशीको कथासङ्ग्रह ‘चोभार ब्लुज’ को लोकार्पण भएको छ।
१९ वटा कथा सङ्ग्रहित निकथासङ्ग्रह ‘चोभार ब्लुज’ राजधानीमा एक कार्यक्रमबीच लोकार्पण भएको हो।
वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण भएको थियो।
केही समय यता व्यावसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वागमती सभ्यताका कुराहरु छन्। बैंकरसमेत रहिसकेका जोशीको यो पहिलो कृति हो।
वागमती सभ्यताको केन्द्रमा रहेको काठमाडौँको आञ्चलिकता छ। नेवारी जनजीवन, सभ्यताका अंश छन् र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन्।
जोशीका अनुसार नियात्रासँग गाँसिएका कथा अनि निबन्धात्मक छनक दिने कथा नै निकथा हुन् । यो उनको प्रयोगले पाठकमाझ नौलो स्वाद पस्कने उनले विश्वास लिएका छन् ।
जोशीका कथाहरूले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘बिक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो। उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनुभयो । उहाँ त यात्रामा कथा टिप्न पो जानु हुँदोरहेछ।’
कार्यक्रममा लेखकका पिता प्रभुभक्त जोशी, समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहाललगातयको उपस्थिति थियो।
कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै जोशीका कथाहरुले कसैले नभनेका, देखेर पनि वास्ता नगरेका चोभारको कथा लेखेको महेश पौड्यालले बताए। उनले भने, ‘चोभारको बाटो भएर म पनि धेरैपटक हिँडेको छु । तर फेरि हिँड्दा म पहिले जस्तो हिँड्ने छैन । चोभार ब्लुजका कथाहरुले मलाई मोड मोडमा उभ्याउने छन् ।’
त्यस्तै अर्का समीक्षक राजकुमार बानियाँले भने, ‘कथाहरु राम्रा त छँदै छन्, साथै यदि कसैले सामान्य नेवारी भाषा सिक्नु छ भने पनि यो पुस्तक पढ्दा राम्रो हुन्छ । दोहोरो फाइदा हुन्छ ।’
कार्यक्रमको सुरुवातमै वीरेन्द्र हमाल निर्देशित लघुनाटक मञ्चन गरिएको थियो। ‘चोभार ब्लुज’ मै भएको कथाको नाट्य रुपान्तरणसमेत वीरेन्द्र हमालले नै गरेका हुन्। लघुनाटक र लोकार्पणको कार्यक्रमलाई सुन्दर ढङ्गले एक अर्कासँग फ्युजन गरिएको थियो।
नाटकमा हमालका १८ जना विद्यार्थीहरुले अभिनय गरेका थिए भने चार जनाले प्राविधिक पक्षबाट सहयोग गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि माया ठकुरी, विशेष अतिथि प्रभु भक्त जोशी तथा नाटक निर्देशक वीरेन्द्र हमाललाई लेखक र प्रकाशकका तर्फबाट दोसल्लाका साथमा सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने अन्य अतिथिहरुका साथै नाटक मञ्चमा संलग्न १८ जना कलाकार र ४ जना प्राविधिकलाई स्मृतिचिन्ह वितरण समेत गरिएको थियो ।