पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि पद्मसुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति 'हिति प्रणाली' प्रकाशित गरेको छ ।
ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि, योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताबीच 'हिति प्रणाली' पुस्तकको लोकार्पण गरिएको हो।
कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए।
'आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा हामी बीस वर्षको योजना बनाउँछौं। यदि धेरै महत्वाकांक्षी योजना छ भने तीस वर्षे पनि होला! आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाब व्यवस्थापन गरेको छ। हिति प्रणाली भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो,' लेखक जोशीले भने।
'मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो, त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ। यसपालि भने लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टिकाभैरव राजकुलो ब्युँताउने अभियान समेत उल्लेख्य रुपमा अघि बढेको छ,’ कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने।
काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरूको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्। लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापनसमेत गरेका उनले काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगको सदस्य-सचिव रही सहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए। नेपालीमा यो उनको पहिलो पुस्तक हो। ‘हिति प्रणाली’ को मूल्य नेपाली बजारका लागि १४९५ रूपियाँ रहेको छ।
हितिको आविष्कार कहिले भयो भन्ने तथ्य यकिन नभए पनि इतिहासकारहरू यो प्रणालीको जन्म गोपाल, किराँत कालमा नै भइसकेको र लिच्छवी कालमा यसको प्रणालीगत विकास र विस्तार हुँदै गएको देखिन्छ।
प्रायः सबै हितिहरू खाल्डोमा बनाइएको हुन्छ। हितिलाई नेवार भाषामा गा: हिति (अर्थात् खाल्डोको धारा) पनि भनिन्छ।