एकै हप्तामा चितवनका दुई युवाले लेखेका दुई उपन्यास सार्वजनिक भएका छन्।
सिम्रन क्षेत्रीको उपन्यास 'झुमर' र निर्दोष जीवनको उपन्यास 'नोस्टाल्जिया' को विमोचन एक हप्ताको फरकमा भएको हो।
कवि एवं साहित्यकार गोविन्दराज विनोदी, एलबी क्षेत्री, नीलम कार्की निहारिका, सिर्जन अविरल र जयराज रेग्मी मगरले नोस्टाल्जिया पुस्तकको विमोचन गरे।
झुमरको विमोचन साहित्यकार एलबी क्षेत्री, समीक्षक भूपिन, लक्ष्मी बराल, लेखकका ससुरा बुवा इन्द्रजीत पराजुली, हजुरबुवा तुलबहादुर थापालगायतले विमोचन गरे।
आख्यानकार सिर्जन अविरलले नेपाली समाजमा व्याप्त पितृसत्ताको कालो छायालाई नोस्टाल्जिया उपन्यासमा गम्भीर रूपमा उठाइएको बताए। क्रूर पितृसत्ताको आक्रमण कति भयावह छ भन्ने कुरा उपन्यासमा भेटिने अविरलले बताए।
आख्यानकार नीलम कार्की निहारिकाले नोस्टाल्जिया सरल भाषामा लेखिएको सामाजिक यथार्थवादी उपन्यास भएको बताइन्। लेखक निर्दोष जीवनले नोस्टाल्जियामा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटेको बताए।
चार वटा गीति एल्बम र ४ वटा पुस्तक निकालिसकेका निर्दोष जीवनको नोस्टाल्जिया नवौं कृति हो। इन्डिगो इन्कबाट प्रकाशित पुस्तकको मूल्य ३९९ रुपैयाँ छ।
झुमर नारी कथावस्तुमा आधारित उपन्यास हो।
समीक्षक लक्ष्मी बरालले झुमरमा लेखक क्षेत्रीले नारीसँग सम्बन्धित विषयवस्तुलाई गम्भीरताका साथ उठान गरेको बताइन्।
समीक्षक भूपिनले सिम्रनले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढंगले सजाएको बताए।
लेखक सिम्रन क्षेत्रीले प्रेमले कोरेको बाटो र स्वार्थबाट प्रेरित सम्बन्धबीचको कौतुहलतापूर्ण कथा उपन्यासमा रहेको बताइन्।
संघर्षले नै मानिसलाई आफ्नो धरातलबाट माथि उठाउन सक्ने विषय पुस्तकमार्फत् प्रस्तुत गरेको उनले बताइन्।
क्षेत्री लामो समयदेखि गजल, कथा, कविता लगायतका विधामा कलम चलाउँदै आएकी थिइन्।
उक्त पुस्तकलाई एडिबी पब्लिकेसन्सले प्रकाशन गरेको हो।
बुलबुल पब्लिकेसन्सले वितरण गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ छ।