अग्निनियन्त्रक किशोरकुमार भट्टराईले आगोसँग कस्तो व्यवहार गर्ने र आगलागीबाट कसरी बच्ने भन्ने विषय समेटेर लेखेको किताब ‘आगो’को विमोचन गरिएको छ।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख समेत रहेका भट्टराईको पुस्तक काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले सोमबार काठमाडौंमा विमोचन गरेका हुन्।
कार्यक्रममा बोल्दै भट्टराईले आगलागी नियन्त्रणको लामो अनुभव, सिकाइ र भोगाइलाई समेटेर पुस्तक लेखेको बताए।
‘आगो जन्मदेखि मृत्युसम्म नभई नहुने चिज हो। हिन्दु धर्मशास्त्र र परम्पराअनुसार मानिस जन्मेपछि कर्मकाण्ड विधि गरी चोख्याउन र मृत्यु पछि पनि अन्तिम संकार गरी सेलाउन समेत आगो चाहिन्छ,’ उनले भने,‘बाँचुञ्जेल दैनिक जीवनयापन गर्न त झन आगो नभई हुँदैन। यही आगो मानवीय नियन्त्रणबाहिर गए ठूलो मात्रामा जनधनको क्षति हुन्छ। नेपालमा आगलागी नियन्त्रण तथा उद्धारको विषयमा नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ। त्यही अभाव पूरा गर्न किताब लेखेको हुँ।’
यो किताब बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धि कार्यमा खर्च गरिने पनि उनले बताए।