कवयित्री शान्ति शर्मा तेस्रो काव्यकृति ‘सपनाको समाधि’ लिएर पाठकमाझ आएकी छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, लेखक जीवा लामिछाने, प्राज्ञ देवी नेपाल, कवि प्रल्हाद पोखरेल र आङदाबा शेर्पाले एकसाथ काठमाडौंमा एक समारोहबीच शर्माकृत कवितासङ्ग्रह विमोचन गरे।
कार्यक्रममा कुलपति उप्रेतीले शान्तिको सिर्जनाकला प्रशंसायोग्य रहेको भन्दै अझ सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिए भने कवयित्री मोमिलाले शान्तिका कविताका विषय र शिल्प बेजोड रहेको टिप्पणी गरिन्।
समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको औंल्याए भने साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताए।
साझा प्रकाशनद्वारा प्रकाशित सङ्ग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा-छोटा समसामयिक कविता समेटिएको छ। यसअघि शर्माका 'अम्लान फूल' गजलसङ्ग्रह र 'बार्दलीमा जून' मुक्तकसङ्ग्रह प्रकाशित छन्।
दियालो साहित्य सरगमका उपाध्यक्ष शिवराम खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘नसोधिदेऊ बिन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।
निशान घिमिरेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा धीरेन शाक्य, शान्ति शर्मा र मोना वर्णवालको अभिनय रहेको छ। शान्ति शर्माद्वारा रचित गीतमा हरि लम्सालले संगीत गरेका छन् भने वाणिका प्रधानले आवाज दिएकी छन्।