मनोविज्ञान सम्बन्धी 'नेपाली मनोविज्ञानः खण्ड एक' (नेपालिज् साइकोलोजीः भोलुम वान) किताबको लोकार्पण भएको छ। गत शुक्रबार माइतीघरस्थित सेन्ट जेभिएर कलेजमा केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा. डा नन्दिता शर्माको प्रमुख आतिथ्यमा उक्त किताबको लोकार्पण गरिएको हो।
'नेपाली मनोविज्ञानः खण्ड एक' नेपालमा मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन २७ लेखक, तीन सम्पादकीय टोली र एक बाह्य समीक्षकको संयुक्त प्रयास हो। यो किताबले मुख्यतया नेपाली अनुसन्धानकर्ता र प्राज्ञिकहरूको योगदानलाई समाहित गरेको छ।
यस पुस्तकमा २३ वटा लेखहरूलाई चारवटा खण्डमा विभाजित गरिएको छ। नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यासहरू, र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्वहरू।
पुस्तकले नेपाली सन्दर्भमा मनोविज्ञान र सम्बद्ध विज्ञानका अनुसन्धान, अभ्यास र शैक्षिक पक्षहरूमा रूची राख्ने मानिसहरूलाई फाइदा पुर्याउने उद्देश्य राखेको छ।
कार्यक्रमको सुरुवात सेन्ट जेभिएर कलेजका उप-प्रधानाध्यापक सुधाकर पन्तको स्वागत मन्तव्यसँगै भएको थियो। किताबका एक सम्पादक सुजन श्रेष्ठले पुस्तक निकाल्दाको भोगाइको प्रस्तुती दिए।
त्यसैगरी, लेखकहरूको प्रतिनिधित्व गर्दै सुजेन मान महर्जनले आफ्नो विचार प्रस्तुत गरे। विधार्थीको प्रतिनिधित्व गर्दै कविन्द्र नापितले नेपाली मनोविज्ञानको दस्ताविजीकरण किन महत्वपूर्ण छ र यस पुस्तकले त्यसलाई कसरी सहयोग गरेको छ भन्ने बारेमा चर्चा गरे।
कार्यक्रमबीच शिक्षण अस्पताल, महाराजगंजको भूतपूर्व मनोचिकित्सा विभागका प्रमुख प्रा.डा. विद्या देव शर्माले चिकित्सा मनोविज्ञानको सुरुवात हुँदाको प्रसंग निकाले।
प्रमुख अतिथि प्रा. डा. नन्दिता शर्माले भने यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुंगा भएको बताइन्। उनका अनुसार नेपाली सेरोफेरोमा रहेर नेपालको सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी छ।