नेपालमा भाषा सम्बन्धि पुस्तक सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका भीम नारायण रेग्मीले 'नेपालका भाषा र सरकारी कामकाज' पुस्तक सार्वजनिक गरेका हुन्।
रेग्मीले नेपालमा भाषाको तथ्यांक अनुसन्धान गरेको भन्दै आफैले अनुसन्धान गरेर पुस्तक लेखेको बताएका छन्। उनले भने, 'तथ्यांक अनुसार विश्वमा सात हजार एक सय भन्दा धेरै भाषा बोलिन्छ। नेपालमा मात्र एक सय ४० वटा भाषा बोलिन्छ। तर अन्दाजको भरमा उक्त तथ्यांकलाई भरोसा गर्न सकिँदैन। त्यसकारण नेपालको ७५३ स्थानीय निकायमा बोलिने भाषा सम्बन्धि तथ्यांक संकलन गरेर पुस्तक तयार पारेको हो।'
पुस्तकमा नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धान पश्चात तार्किक र तथ्यपरक सामाग्रीलाई समेटिएको छ।
फ्याक्स नेपालले प्रकाशन गरेको पुस्तकलाई वि-लिडरेले वितरण गर्दैछ। ३३० पेजको पुस्तकको मूल्य ११ सय रूपैयाँ तोकिएको छ।
यो पुस्तक किताब यात्रा, बुक-कर्नर, थुप्रै डटकम लगायत अनलाइनबाट मगाउन सकिन्छ।