पढ्ने किन? पठन कार्य गाह्रो हो कि सजिलो? पहिलो प्रश्नमा हरेकका आआफ्नै उत्तर होलान्।
कसैले आवश्यकताले पढ्ला त कसैले सयम व्यतीत गर्न। कसैले ज्ञानका लागि पढ्ला त कसैले आनन्द र सन्तुष्टिका लागि। कसैले ईर्ष्या पनि पढ्ला, कसैले कसैलाई पछार्न पढ्ला भने कसैले कसैलाई ठेउल्याउन पढ्ला। कसैले धर्म र मोक्षका लागि पढ्ला। कसैले उग्रता र कट्टरताका लागि पढ्ला। अझ कसैले पेटका लागि पढ्ला तकसैले व्यसनले पनि पढ्ला। कसैले रोइहरनु भन्दा गाइरहनु जाति ठानेर पढ्ला। अरू पनि थुप्रै होलान् कारणहरू। कुरा यही हो कि सबैको पठनको कारण एउटै हुँदैन।
अब प्रश्न रह्यो– पठन कार्य गाह्रो छ कि सजिलो? मेरो विचार यस प्रश्नमा दुबै उत्तर ठीक हुन्छन्।
मलाई सोध्नुहुन्छ भने परीक्षा तयारीका लागि पढ्ने काम मलाई सधैं बोझिलो र अरूचियुक्त लाग्थ्यो र अझै त्यस्तै लाग्छ। साहित्य, राजनीति, संस्मरण, जीवनी या अन्य कुनै विधा जसलाई मैले मेरो अनुकूलतामा पढ्न, बुझ्न र ग्रहण गर्न पाउँछु, त्यो पढे बापत् मैले कहीँ कतै आफ्नो बुझाइ प्रमाणित गरिरहनु पर्दैन।
कुनै परीक्षामा सामेल हुने झमेला पनि आउँदैन। कसैलाई बुझाउन र सुनाउन पनि कर छैन। यस्तो पठन सहज मात्र होइन, सुरूचिपूर्ण लाग्छ।
धेरै चाँहि होइन, तथापि म पनि अलिअलि पढ्न रहर गर्ने मध्येकै एक हुँ। किताब किन्नु र संग्रह गर्नु पनि मेरो रूचिमा पर्छ। एकाधबाहेक मसँग भएका सबैजसो किताब पढेको छु। भाषाका हिसाबले संस्कृतमा जिरो छु। अंग्रेजी, नेपाली र हिन्दी कनीकुथी पढ्छु। बाँकी भाषा त कालो अक्षर भैंसी बराबर।
मैले पढ्न कहिले थालेँ, यकिन उत्तर कठिन छ। पढ्नु पर्छ भन्ने भावना आमा अम्बिका सुवेदीसँग थियो। घरमा सायद केही हिन्दी र नेपाली उपन्यासहरू थिए, धार्मिक किताब पनि थिए तर ममा ती बुझ्ने ल्याकत थिएन। निःसन्देह पाठ्यक्रममा तोकिएका किताबहरू विद्यालय जान थालेपछि पढ्न थालेँ।
पाठ्यक्रम बाहिरका विषयको पठन भने पाँच–छ कक्षामा पढ्दा (२०३४/३५) साल तिरबाट थालेको हुनुपर्छ। त्यो पनि सग्लो पुस्तकबाट होइन, मधुपर्कमा छापिएका कथा, निबन्ध, प्रबन्ध, संस्मरण आदिबाट। मधुपर्कका अंकहरू कान्छा मामा योगेन्द्र दाहालसँग हुन्थे। मामाले नै लेखेको ‘मध्यरातमा मेरो प्रभात’ शीर्षकको संस्मरण म अहिले पनि सम्झन्छु। कसले लेखेको हो नाम बिर्सिएँ तर शीर्षक याद छ, ‘जुँगामुठे आ रही है’ भन्ने हास्यरसको आलेख पनि म अझै सम्झन्छु।
मैले पढेको पहिलो पूर्ण आकारको साहित्यिक किताब भने प्रकाश कोविदको उपन्यास ‘अर्को जन्म’ हो। यो कक्षा ६ मा हुँदा पढेको हुनुपर्छ। सन् १९६९ मा प्रकाशित यो उपन्यास कसरी हात लाग्यो, त्यो सम्झना छैन। पहिले पढेको उपन्यास भएर होला कथावस्तु भने अहिलेसम्म याद छ। बुझ्ने औकात त थिएन तर भैरव अर्यालका केही निबन्धहरू पनि त्यतिखेर पढेको थिएँ।
स्कुले जीवनमै पठनमा जन्मिएको रूचि धरान हात्तिसारमा आइएससी पढ्न आएपछि अझ झाँगियो। मेरा दाजु अरुणकुमार सुवेदी, सिनियर दाइहरू विजयकुमार उप्रेती, बौधराज निरौला, साथीहरू गोविन्द लुइँटेल, कृष्णप्रसाद पराजुली, मोहन दाहाल लगायतको संगत पनि पठनका लागि ऊर्जा बन्यो।
त्यति बेलाको विद्यार्थी जीवनमा किताब किन्न पैसा हुँदैनथ्यो। छाता चोकतिरको वाचनालय (नाम बिर्सेँ) मा गएर पढ्ने र कलेजको पुस्तकालयबाट किताब ल्याउने गरेको थिएँ।
आइएससीको कोर्समा रहेको बसाइँ उपन्यास पढेपछि लु हामी पनि उपन्यास लेखौं भनेर एउटै भाँडाको भात खाने हामी दुई साथी, गोविन्द लुइँटेल र म, त्यसै उचालियौं। न ढंग, न क्षमता, त्यसै सुर्रिएर मित्रवत् प्रतिस्पर्धामा उत्रिएका हामी दुबैले लेखेका थियौं। मैले तीन दिन लगाएर हातले ३७ पेज लेखेको रहेछु।
केही सालअघि पुराना कागज खोज्दा भेटिएको त्यो कथित् उपन्यास पढ्दा यति हाँसो लाग्यो कि भनी साध्य छैन। यस्तो पनि उपन्यास! अझ त्यो कथित उपन्यासको टाउकोमा लेखिएको एउटा उद्धरणले त झन् पेट मिची मिची हाँस्ने बनायो। लेखिएको रहेछ– सके उपन्यास, नसके समयको सत्यनाश।
समष्टिमा पढ्नु र लेख्नु पर्छ भन्ने हुटहुटीले निकै पहिले समातेको भए पनि लेखनमा कुनै उल्लेखनीय काम गरिनँ। कलेजका भित्ते पत्रिकामा कथा, कविता र राजनीतिक व्यंग्य लेख्थेँ। अलिक पछि अखबारका पानामा समसामयिक राजनीतिक विषयमा स्तम्भ लेखेँ। यदाकदा हास्य लेखहरू पनि लेखेँ तर साहित्यिक कृतिको हिसाबले सिन्कै भाँचिएन। बल्लतल्ल पहिलो कृतिको रूपमा ‘तमोरको सुसेली’ शीर्षकको कथा संग्रह २०७८ असोजमा निकालेको छु।
मानिसहरू भन्छन्– आजकल पठन संस्कृति घटेको छ। अधिकांश मान्छेहरू फिटिक्कै पढ्दैनन्। पुस्तकसँग शत्रु साइनो हुन्छ तिनको।
मलाई त्यस्तो लाग्दैन। अहिले पढाइको स्वरूप र विधि निःसन्देह फेरिएका छन् तर पढ्ने मान्छेहरू भनौं पठन सतृष्णहरू झन् झन् बढ्दै छन्। पठन विस्तारित भएको छ।
ज्ञान आर्जनको उत्तम उपाय हो पठन कार्य। पठनले ज्ञानको क्षितिज विस्तारित गरिदिन्छ। भ्रम र विश्वासका पर्खालहरू भत्काइदिन्छ। क्षमता र व्यक्तित्वमा निखार ल्याउँछ। असल ग्रन्थहरूको पठनले हर्ष र आनन्द दिन्छ नै, त्यसले पाठकको व्यक्तित्वमा यस कदर असर गर्छ कि मानिस पूरै फेरिन सक्छ।
के पठनका बेफाइदा पनि होलान्? गलत ग्रन्थ र गलत सार ग्रहणबाट त्यस्तो हुन पनि सक्ला। सबै पुस्तक राम्रै हुन्छन् भन्न सकिन्न। दुनियाँमा कति यस्ता पुस्तक पनि होलान् जसलाई नपढे पनि फरक पर्दैन अनि यस्ता पुस्तक पनि होलान् जसलाई पढ्दाभन्दा नपढ्दा नै फाइदा होला तर आम रूपमा पठनले हामीलाई सदैव नाफामा राख्छ भन्नेमा कुनै सन्देह छैन।
भर्खरैको कुरा हो। गएको चैत २८ गते विराटनगरमा स्रष्टा कवि हरिप्रसाद बरालको घरमै पुगेर साक्षात्कार गर्ने अवसर मिल्यो। त्यसक्रममा उनकै हातबाट पकाएको चियाको चुस्की लिँदै उनका गहन काव्यिक अभिव्यक्तिको रसस्वादन गर्न पाएँ। सँगै उनले तीन वटा पुस्तक समेत हातमा थमाइ दिए।
अघि भनिसकेको छु, म पुस्तक पठन र संग्रहमा रूचि राख्छु। तीन पुस्तकमध्ये दुइटा पुस्तक उनकै सिर्जना ‘पुस्तकहरूको माझैमाझ’ र ‘काव्यिक विम्बको फूलबारी’ थिए। काठमाडौं फर्किनासाथ मैले ‘पुस्तकहरूको माझैमाझ’ शीर्षकको पुस्तक पढी भ्याएँ। मेरो विचारमा यो पुस्तक पठन संस्कृतिको पक्षमा लेखिएको गहकिलो दस्तावेज हो। यो आफैंमा पठनीय र संग्रहणीय पुस्तक हो।
आजकल विल्कुल भन्न छोडेको छु तर पहिले पहिले म साथीहरू भेट्दा सोध्ने गर्थेँ– तपाईं अहिले कुन किताब पढ्दै हुनुहुन्छ?
यसरी सोध्दा जो साथीको पढ्ने बानी हुन्थ्यो, तिनले सहज उत्तर दिन्थे। तर जसमा त्यो आदत हुँदैनथ्यो, उनीहरू असमञ्जस्यमा पर्थे। मुखमण्डलमा अप्रसन्नताको बादल देखिन्थ्यो। त्यति मात्र होइन, अक्सर तिनले त्यो प्रश्नबाट आफूलाई होच्याएको र प्रश्न कर्ताको पठन अहंकार प्रकट भएको बुझ्थे।
केही यस्तै खाले घटना पछि थाहा पाएँ, यो प्रश्न केवल मित्रजन घटाउने उपाय रहेछ। हिजोआज कसैले प्रसंग निकाले मात्र पठनको कुरा गर्न थालेको छु। अन्यथा आफू पढ्ने तर त्यसबारे कसैलाई केही नभन्ने सुरक्षित रणनीति अख्तियार गर्ने गरेको छु।
म समीक्षक अथवा समालोचक हुँदै होइन लेखनमा पनि प्रारम्भिक अभ्यासको अवस्थामा नै छु। साहित्य विधाका सिद्धान्तहरूको ज्ञान ममा छैन तर पठनमा रूचि राख्छु। जब कुनै पुस्तक पढ्छु, दुई चार अनुच्छेद केही न केही नलेखी रहन सक्दिनँ। के एउटा पाठकले कुनै पुस्तक उपर आफ्ना सामान्य अनुभूति सम्प्रेषण गर्न पाउँदैन? अवश्य पाउँछ। पुस्तकमाथिको मेरो टिप्पणी केवल त्यही तहमा छ। नजान्नु बरदान हो कि अभिशाप म ठ्याक्कै भन्न सक्दिनँ तर अनुभवले भन्छ– सन्दर्भ अनुसार कहीँ जान्दा नाफामा भइन्छ भने कहीँ नजान्दा।
अब कृतिकै विषयमा लागौं। हरिप्रसाद बरालको कृति ‘पुस्तकहरूको माझैमाझ’ अनुभूतिजन्य अभिलेखको रूपमा आत्मपरक प्रबन्ध भएर अघि बढेको छ। यसमा उनका निजी भोगाइका घटनाहरू सिलसिला मिलाएर आएका छन्। समाजमा सँगै रहँदा छरछिमेकमा गोडा जुधेका, लाप्पादुप्पी पेरका, अभाव र कमजोरीप्रति घोचपेचका, सामाजिक विभेद र हिंसाका विषयहरू बेजोड ढंगबाट उठान भएका छन्।
ती सन्दर्भलाई स्रष्टाले कुनै दुःख, पीडा, घृणा वा बदलाको रूपमा होइन, नयाँ अर्थ, रङ, सन्दर्भ र आकार दिएर सबैका लागि उपयोगी र मनन योग्य बनाएका छन्। अझ भनौं, सुस्वाद परिकारका रूपमा पस्किएका छन्।
म आफू त्यही भूगोलको, ‘पुस्तकहरूको माझैमाझ’ का स्रष्टासँगै एउटै गाउँमा हुर्किएको र सानैदेखि एकअर्कालाई चिनेको–बुझेकाले पनि होला, उनले उल्लेख गरेका सन्दर्भ र पात्रहरूले मलाई भित्रैदेखि झकझक्याए। मेरो अतीतलाई मेरा आँखा अघि जीवन्त बनाएर उभ्याइदिए।
हामीले औसतमा भोगेको समान परिवेश र ग्रामीण वास्तविकता झल्झली गराए। लगभग सँगैसँगै जन्मिएर एउटै औसत परिवेशमा हुर्किए पनि अहिले उनले लेखनको फाँटमा जुन आकार बनाएका छन् र उनी जुन उचाइमा विचरण गर्दैछन्, मैले आफ्नो ठाउँबाट उनलाई हेर्दा जमिनमा घस्रिरहेको जन्तुले उडेको चरा हेरेको अवस्था छ भन्ने म जान्दछु।
त्यो पुस्तकमा उनले जुनजुन पुस्तक र लेखकका कृति पठनको प्रसंग उठाएका छन्। त्यसले पुस्तक पठनमा उनले कति लामो दूरी पार गरिसकेका छन् भन्ने मात्र दर्शाउँदैन, यस सवालमा यो टिप्पणीकारलाई आफू कति पछि छु भनेर ऐना समेत देखाउँछ।
आफूले भोगेका तीता यथार्थ, पेचिला घटनाहरूमा पात्र उल्लेख नगरेर उनले एउटा असल मानवको धर्म निभाएका छन् तथापि नाम उल्लेख नगरी सटीक ढंगले त्यस्ता पात्र र प्रवृत्तिलाई भाषिक सिर्कनाले सुम्ला उठ्ने गरी सुम्ठ्याएका छन्, सिस्नोपानी हानेका छन्। राम्रा अनुभूति, सुखद घटना र सुपात्रहरूप्रति सम्बन्धित कर्मका लागि नाम नै उल्लेख गरेर अनुगृहित हुन र जस बाँड्न भुलेका छैनन्। यसबाट उनमा रहेका नम्रता र शिष्टता पहाडी झरना जस्तै निश्छल प्रकट भएको देखिन्छ।
पठनका लागि कस्ता पुस्तकहरू उपयोगी हुन्छन्? पढ्नु किन पर्छ? पठनका के कस्ता परिणाम हुन्छन्? भन्ने विषयमा उनले आफू संलग्न घटना र समाजका बग्रेल्ती दृष्टान्तहरू उल्लेख गरेर जो कोहीलाई पठनप्रति अभिप्रेरित गरेका छन्।
एउटै विषयमा कलम चलाएका स्रष्टामध्ये कोही स्थापित हुने र कोही परिहासका पात्र हुने कारण तिनको लेख्य शील्प, विषय प्रकटीकरण र प्रस्तुतिको गहिराइ हो भन्ने सत्य उनले उदाहरणसहित पस्केका छन्।
‘पुस्तकहरूको माझैमाझ’ ग्रन्थमा उल्लेख भएका थुप्रै विषयहरू मलाई घत लागेका छन्। ती सबैको उल्लेख यो सानो टिप्पणीमा सम्भव छैन। तीमध्ये एउटा घत लागेको विषय कुन पुस्तक पढ्ने भन्ने सवालमा दिने सुझावको प्रसंग पनि हो।
यदाकदा यो समस्यामा म पनि परेको थिएँ र छु। कुन पुस्तक पढ्ने भन्ने कुरा व्यक्तिको सोचाइ, अवस्था, रूचि, आवश्यकता, क्षमता र समझको स्तर आदिमा भर पर्छ।
एक बेला थियो– कमिला र चराको कथा, ध्रुवले कन्तुरमा नोट छिराएर पैसाबाट पैसा तान्न खोज्दा नोट नै कन्तुरमा छिरेको कथा, कछुवा र खरायोको दौडको कथा बिघ्नै रमाइला लाग्थे तर के अहिले त्यस्ता कथा पढिएला र!
सत्य यही हो– कसैलाई असाध्यै मन परेको किताब अर्कोलाई पटक्कै मन नपर्न सक्छ।
केही वर्षअघि मलाई एकजना साथीले राम्रा केही किताब पढ्नका लागि सुझाउन अनुरोध गरेपछि आफूलाई निकै मन परेका पाँच ओटा किताबको नाम दिएको थिएँ।
केही दिनपछिको भेटमा उनले मलाई ठाडै भनिदिए- तिमी त फन्टुस किताब पढ्दा रहेछौ।
उनको प्रतिक्रियाले म तिनछक्क मात्र परिनँ, धेरै लज्जित भएँ। कता कता अहममा समेत नमिठो चोट लाग्यो। म जवाफहीन भएँ। आखिर उनलाई भन्न पो के सक्थेँ र!
त्यस घटनाले ममा एउटा होश, भनौं सिकाइ जन्मायो। आजभोलि कसैले सोधिहाल्यो भने पनि म सजिलै पुस्तक सुझाउँदिनँ बरू उल्टै प्रश्न गर्न थालेको छु– तपाईंले पढिसकेको र असाध्यै मन पराएका केही किताबको नाम क के होला?
खासमा त्यो सूची जानेपछि निजको रूचस र समझस्तरबारे आकलन गर्न सकिने हुन्छ।
आफ्नो पठन आदतको विकासले आफूमा प्रतिकूल परिस्थितिमा सम्हालिन सघाएको कुरा लेखकले पुस्तकमा उल्लेख गरेका छन्। समाजका विविध क्षेत्रका थुप्रै विशिष्ट व्यक्तिहरूको जीवनी/संस्मरण पढी भ्याएका स्रष्टा बरालले ती पुस्तक पठनबाट समग्रमा प्राप्त हुने सिकाइ भनेको प्रतिकूल परिस्थितिसँग जुध्ने धैर्य र कौशल हो भन्ने कुरा प्रष्ट बताएका छन्।
आफ्नो पुस्तकमा मातापिता तथा आफ्ना पुर्खाप्रति उनबाट प्रकट भएको अनुराग, आदर र भक्ति स्तुत्य छ। आफूलाई कथित पठित मानेर अहंकार बमन गर्ने, अर्काको आलोचना र खिसीटिउरी गर्नेहरू पठित भए पनि सारमा अपठित हुन् भन्ने उनको निष्कर्ष मर्मस्पर्सी छ।
बरालले ‘पुस्तकहरूको माझैमाझ’ मा उल्लेख गरेका पुस्तकहरूको विषयवस्तुको सार, तिनका लेखकहरूको प्रसंगबाट थाहा हुन्छ कि बराल नेपाली साहित्यमा मात्र होइन, विश्व साहित्य र दर्शनमा पनि गहिरो दखल राख्छन्।
वास्तवमा ग्रन्थ पठनको विकल्प छैन, जीवन र जगत बुझ्ने र महसुस गर्ने योभन्दा उत्तम मार्ग कुनै छैन भन्दै यो पुस्तक मार्फत सारमा उनले एउटा यस्तो सन्देश सम्प्रेषण गरेका छन्– हाम्रो ग्रन्थ पठन कसैलाई जित्न, तर्क वितर्कमा पछार्न वा आफू यति पठित छु भनेर अहंकार प्रदर्शन गर्न नभई ज्ञान प्राप्ति, मनोरञ्जन, सदमति, सदाचार र मनको शान्तिका लागि हुनु पर्छ।
सारमा आममानिसको जीवनका सामान्य घटना पनि उच्च लेख्य शील्प र दिव्य कल्पशक्तिको मालामा उनिए भने एउटा फराकिलो अर्थ सहितको गहन र मनोरम ग्रन्थ हुन सक्छ भन्ने कुरा उनको कलमले सिद्ध गरेको छ।
अन्त्यमा, बरालले भनेजस्तै पुस्तकहरू सँगै बसे पनि कहिल्यै झगडा गर्दैनन्, यो ले र त्यो ले भन्दैनन्, बिरामी भएर उपचार पनि माग्दैनन्। त्यति मात्र होइन, पुस्तकले आन्दोलन, हड्ताल पनि गर्दैनन्, अर्काको बदख्वाइँ र षड्यन्त्र पनि गर्दैनन्, न त बेवास्ता गरेको अथवा बढी काम दलाइएको चित्त नै दुखाउँछन्।
केही नलिने, केही नमाग्ने, सधैं केही न केही दिने यस्ता प्यारा वस्तुलाई अभिन्न मित्र मान्दा कसको पो कल्याण नहोला र!
बरालको धारिलो कलम निरन्तर चलिरहोस् र अझै थुप्रै कृतिबाट नेपाली साहित्य क्षेत्र सिञ्चित भइरहोस्। धेरै शुभकामना।