आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘बाह्र वर्षपछि’ बजारमा आएको छ। डायस्पोरिक भावको उपन्यास अमेरिकी भूमिबाट स्वदेश आउँदा अवस्थामा देखेका विभिन्न पक्षलाई समेटेर लेखिएको प्याकुरेलको नवीनतम् कृति हो।
लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएका प्याकुरेल नेपाली साहित्यमा पूर्णकालीन लेखकको रुपमा साधनारत छन्।
मूलतः आख्यानमा कलम चलाउने प्याकुरेलको ‘बाह्र वर्षपछि’ दोस्रो उपन्यास हो। यसअघि उनको उबर उपन्यास प्रकाशित भइसकेको छ ।
यस उपन्यासमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए।
उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ। विदेशी भूमिबाट नेपाल आउँदा एक पात्रले देखेको नेपाल र यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको छ।
एक नेपाली बाह्र वर्षपछि नेपाल आउँदा कस्तो अनुभव गर्छ र कस्ता कस्ता पात्र भेट्छ भन्ने विषयलाई उपन्यासले कलात्मक शेलीमा प्रस्तुत गरेको छ।
उपन्यासको मुख्य परिवेशमा नेपाली समाजको वर्तमान अवस्था नै हो। नेपालको शहरीदेखि ग्रामीण परिवेश हुँदै अमेरिकासम्म फैलिएको यसको परिवेशले पाठकलाई चुम्बकीय रुपमा तानिरहन्छ।
विगतमा नेपाली समाजले भोगेको सशस्त्र द्वन्द्व र त्यसपछिको नेपाली समाजलाई त्यसले पारेको प्रभाव र परिणतिलाई उपन्यासले पक्रन खोजेको छ।
मूलतः उपन्यासमा एक नेपाली बाह्र वर्षपछि नेपाल आउँदा उसले देखे भोगेको सामाजिक यथार्थलाई उपन्यासले मूल विषय बनाएको छ । सरल सरस र कलात्मक भाषा शैलीका कारण उपन्यास पठनीय बनेको छ।
अमेरिकी भूमितिर पलायन भएको पात्र नेपाल आएर चिनेका पात्रहरुलाई भेट्दा पनि तर्सिने र अनौठो मान्ने अवस्थामा हुन्छ। सोही पात्रमार्फत उपन्यासकारले समाजमा देखेका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गरेका छन् ।
अमेरिकी समाजमा अभ्यस्त भइसकेको पात्र नेपालमा आएर सामाजिक दैनिकी बिताउनुभन्दा आत्मकेन्द्रित भई दैनिकी बिताउँछ । नेपालको सामाजिक यथार्थलाई वास्तै नगरी अमेरिकन शैलीमा चलेको पात्र दाजुभाइका घरमा भन्दा होटलमा बस्नमै रमाउँछ । उसका लागि कुनै गतिलो साथी चाहिन्न अथवा आवश्यक नै पर्दैन ।
नेपालमा रहँदा रक्सीलाई नै गतिलो साथी बनाउने पात्र आफैँ अनौठो र अस्वाभाविक लाग्छ । त्यसले अमेरिकन समाज र नेपाली समाजबीचको भिन्नलाई देखाउन खोजेको प्रष्ट हुन्छ ।
उपन्यास शिखा बुक्सले प्रकाशित गरेको हो । ज्ञानज्योति पब्लिकेशन मुख्य वितरक रहेको यस कृतिको मूल्य रु ३०० रहेको छ।