प्रकाशन भएको छोटो समयमै डोट्याली कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले पाठकहरूको माया पाएको छ।
गत चैतबाट बजारमा आएको उपन्यास पढेर दिनदिनै पाठकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उपन्यासकार भट्टले जानकारी गराएका छन्। प्रकाशक बुक्स हिमालयले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा साहित्यकारहरू अभय श्रेष्ठ, राजकुमार बानियाँ र सुमन थापा ‘संगम’ का साथै मानवअधिकारकर्मी मोहना अन्सारीले मुक्त कण्ठले छाइलको प्रशंसा गरे।
छाइलमा सुदूरपश्चिमका एक युवाले गरेको संघर्षको कथा छ। यसमा मूलतः बाबु र छोराको सम्बन्ध देखाइएको छ। सुदूरको गरिबीको चित्रण छ। दलितको संघर्षको कथा छ। युवाको प्रेम पनि झल्काइएको छ।
‘छाइल सुदूरपश्चिमको चोखो कथा हो। युवाको जीवन संघर्षको कथा। यसमा हरेक पात्रको संघर्ष देखाइएको छ’, छाइल लोकापर्णसँगै आयोजित अन्तरक्रियामा साहित्यकार श्रेष्ठले भने, ‘छाइल पठनीय कृति हो। मैले त दुई बसाईमै पढेँ। विशेषतः युवाहरूले यसलाई मन पराउनेछन्। यो कृति लोकप्रिय बन्नेछ।’
यसको भाषा रसिलो छ। आञ्चलिक स्वाद पाइन्छ। ‘कुनै पनि पुस्तकको प्रवेशद्वार भाषा हो। भाषाको मिठासले गर्दा सजिलै पढ्न सकिन्छ’, श्रेष्ठले भने, ‘यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारामा प्रवेश गराएको छ। उपन्यास एकदमै स्वादिलो छ। सबैले पढ्नु होला।’
मानवअधिकारकर्मी अन्सारीले त ‘छाइल’ लाई उत्कृष्ट कृति भएको टिप्पणी गरिन्। ‘विगतमा म सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको मान्छे हुँ’, उनले भनिन्, ‘छाइलले त्यहाँको तस्बिर दुरुस्तै उतारेको छ। सुदूरपश्चिममा विकासको क्राइसिस छ। गरिबीलाई पनि छताछुल्ल देखाइएको छ। गरिबी भित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ भन्ने उपन्यासमा पढ्न पाइन्छ।’
कार्यक्रमको सुरुमै कवि संगमले छाइल अर्गानिक उपन्यास भएको टिप्पणी गरेकी थिइन्। ‘उपन्यासको विषयवस्तु र भाषाले तानिरहन्छ’, उनले भनिन्, ‘सुदूरपश्चिमको ऐना बनेको हो छाइल।’
डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’। कविका रुपमा स्थापित भट्ट यस उपन्यासबाट हौसिएका छन्।
‘मैले भुइँमान्छेका कथा उजागर गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘पाठकहरूको सुझाबबाट आफूलाई निर्खादै अघि बढ्नेछु।’
कार्यक्रमका वक्ताहरूले उपन्यासकारका केही कमजोरी पनि औंल्याएका छन्। ‘यो उपन्यास बुबाको सेरोफेरोमा घुमेको छ’, मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘यसमा आमाको संघर्षको कुरा चित्रण गर्न कञ्जुस्याइँ गरिएको छ।’
उपन्यासमा महिलाका कारण प्रेम असफल भएको देखाइएकामा साहित्यकार श्रेष्ठ सन्तुष्ट हुन सकेनन्। ‘के महिला यति रहस्यमयी पात्र हुन् त?’, उनले सोधे। साथै यस कृतिमा माओवादी द्वन्द्धको कुरा कोट्टयाए पनि गहिराइमा नपुगेको उनले टिप्पणी गरे।
कार्यक्रममा कवि, लेखक, पत्रकारका साथै शिक्षक, विद्यार्थी र पर्यटनकर्मीको राम्रो जमघट थियो। समीक्षक राजकुमार बानियाँले उपन्यास भित्रका केही सन्दर्भ वाचन समेत गरेर रोचक ढङ्गमा अन्तरक्रिया चलाएका थिए।
प्रकाशक संस्थाका प्रमुख पवन शाक्यले काठमाडौंसहित मुलुकका प्रमुख सहरमा पुस्तक पुगिसकेको बताए। आगामी दिनमा पनि यस्तै स्वादिला कृति पस्किँदै जाने प्रतिबद्धता जनाए। बुक्स हिमालय लकडाउनका बेला स्थापित प्रकाशन गृह हो। यसले बालसाहित्यका केही कृति छापिसकेको छ भने ‘छाइल’ यसको पहिलो उपन्यास हो। छाइलको मूल्य ४५० रुपैयाँ राखिएको छ।