उत्तरी गोरखाको पवित्र भूमि चुम भ्यालीको संस्कृति, इतिहास र बौद्ध गुरूहरूको चिनारी दिने दुई वटा पुस्तक सार्वजनिक गरिएको छ।
चुम अनुसन्धान समूहले संकलन एवं सम्पादन गरेका पुस्तकहरू ‘इतिहास र संस्कृति’ र ‘जीवनी’ काठमाडौंमा सोमबार आयोजना गरिएको कार्यक्रममा लोकापर्ण गरिएको हो।
बौद्ध गुरुहरू सेराप तेन्दार रिन्पोछे र खेन्पो कल्साङलगायतले चक्रपथस्थित होटल साम्बलामा लोकापर्ण गरेका हुन्।
समूहका अभियन्ता खेन्पो तेन्जिङ ल्हुण्डुप लामाकाअनुसार छरिएर रहेका दस्तावेजहरू संकलन र सम्पादन गरि पुस्तकका रुपमा प्रकाशन गरिएको हो।
समूहले ‘टासी पाल्साङ’ शृंखलाअन्तर्गत दुई वर्ष अघिदेखि यस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशन गर्दै आएको छ।
भोटे भाषामा प्रकाशित पुस्तकलाई भविश्यमा नेपाली र अंग्रेजीमा समेत प्रकाशन गर्ने योजना छ। कार्यक्रमका वक्ताहरूले यी दुवै पुस्तकबाट चुम उपत्यकाको चिनारी फैलाउन मद्दत पुग्ने विश्वास गरेका थिए।