निर्मल पुर्जा अर्थात (निम्स दाई) को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ। नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्ने भएको हो।
बेलायतको चर्चित म्यागजिन ‘द सन्डे टाइम्स’ का अनुसार ‘टप १० बेस्ट सेलर’ किताबहरूमा निर्मल पुर्जाको बियोण्ड पसिबल पनि पर्छ। विभिन्न म्यागजिनमा किताबबारे राम्रो समीक्षा गरिएको छ।
हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ। ३२० पृष्ठको यो पुस्तक सन् २०२० नोभेम्बर १२ तारिखमा विश्व बजारमा सार्वजनिक भएको हो।
निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँउपालिका–३, दानामा सन् १९८३ मा जन्मिएका हुन्। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (युकेएसएफ) मा बिताए।
पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन्। पुस्तकमा पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण ७ महिनाभन्दा कम अवधिमा गरेका कुरा उल्लेख छ।
पुस्तकमा उनले लेखेका छन्, ‘म सात महिनाभन्दा कममा चौधवटा पर्वतहरू चढ्छु भन्दै गर्दा मान्छेहरु ममाथि हाँसे। जबकी सगरमाथा र धौलागिरी जस्ता हिमालहरू म पहिल्यै चढिसकेको थिएँ। तर सन् २०१९ मा म चौधवटै हिमालहरूको सफल आरोहण पछि जीवितै फर्किएँ। असम्भवलाई सम्भव बनाएर देखाएँ।’
उनी सन् २०१२ डिसेम्बरबाट हिमाल चढ्न सुरू गरेका थिए। सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको थियो। उनले त्यहाँ खिचेको भीडको तस्बिरले संसारको ध्यान खिचेको थियो।
उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए। पुर्जाले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमै चढेका थिए।