आदिवासी मगरको भाषा, साहित्य, संस्कार समेटिएको पुस्तक बजारमा आएको छ।
पुस्तकमा रोल्पा, रूकुम र बाग्लुङमा बसोवास गरेका मगरको संस्कृति, रहनसहन, चालचलन, खानपिन, मौलिक तथा परम्परागत भेषभुषालगायत विविध पक्ष समेटिएको छ।
यस अनुसन्धानमुलुक पुस्तकले अठार मगरात क्षेत्रका आदिवासी मगरबारे अध्ययन, जान्न र बुझ्न चाहनेका लागि उपयुक्त हुने लेखक जीवन रोका (जे.आर.) मगरले बताए।
लेखक मगरले यसअघि ‘मगर खामको भाषा वैज्ञानिक अध्ययन’ विषयमा थेसिस लेखेका थिए। त्यसैमा आधारित भाषा र सहित्य खण्ड थप अध्ययन अनुसन्धान गरेर विस्तृत किताब तयार पारेका हुन्।
पुस्तक चार अध्यायमा छ। पहिलो अध्यायमा मगरजातिको परिचय र भौगोलिक चिनारी, दोस्रोमा संस्कार र संस्कृति, तेस्रोमा भाषा र चौथौमा साहित्य विषय विस्तारमा चित्रसहित सरल भाषामा लेखिएको छ।
अठार मगरात क्षेत्रमा बसोवास गरेका आदिवासी मगरबारे विस्तृत रूपमा लेखिएको यो सम्भवतः पहिलो किताब हो।
हालसम्म रोल्पा, रूकुम र बागलुतिरको मगरबारे अनुसन्धानमुलक पुस्तकको अभाव रहेको अवस्थामा पुस्तकले लेखक, अनुसन्धानकर्ता, पत्रकार, विद्यार्थीलगायत मगरबारे चासो राख्ने पाठकका लागि पुस्तक लाभदायी हुने लेखकले आशा राखेका छन्।
केही तथ्याङ्कहरू नयाँ प्रकाशित नभएकोले पुराना राखिएको भन्दै अर्को संस्करणमा अपुग सूचना सल्लाह सुझाव र थप अध्ययनसहित प्रकाशित गरिने लेखकले बताए।
यस क्षेत्र रोल्पाको जलजलादेखि, रूकुम र बागलुङका ढोरपाटन सेरोफेरोमा मगरको आदिम थाक थलो हो। यो भेग जातीय, भाषा, संस्कारको हिसाबले समान भए पनि प्रशासनिकले बाँडिएको छ। इतिहासको विभिन्न काल खण्डमा यी क्षेत्र कहिले बागलुङ, सल्यान र प्युठान जिल्लामा बाँडिएको थियो।
लेखकले ५ वर्ष गहन अध्ययन, अनुसन्धान र कडा मिहेनत गरेर पुस्तक तयार पारिएको हो।
रोल्पाको थबाङ गाउँपालिका-३ मिरूलका जीवन रोका मगरले त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक सहित शिक्षा शास्त्र र राजनितिशास्त्रमा स्नाकोत्तर तह पुरा गरेका छन्।
विभिन्न साहित्यक तथा सामाजिक संघ संस्था र राजनीतिमा सक्रय रहँदै आएका उनी करिब एक दशकसम्म शिक्षण पेशामासमेत अनुभव बटुलिसकेका छन्। हाल उनी नेपाल मगर लेखक संघका वरिष्ठ उपाध्यक्ष तथआ नेपाल मगर संघका केन्द्रिय समितिका सदस्य हुन्।
मगर भाषा र साहित्यमा करिब दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका उनले मगर खामबाट कविता संग्रह ‘गीन्मी ङाता कोस्याली-२०६२’, उपन्यास ‘आछिम-का सिल-२०६८’, कथा संग्रह ‘आछिम चेतैक-२०७१, निबन्ध संग्रह’ गे-मगराँत खै ? - २०७३' र नेपाल भाषामा उपन्यास 'परेलीमा सजिएको आँसु-२०७१' लगाएतका कृतिहरु प्रकाशन छन्।
समृद्ध रोल्पा फाउन्डेशनद्वारा प्रकाशित १८८ पृष्ठ रहेको पुस्तकको मुल्य ३८० रूपैयाँ राखिएको छ।