साहित्यकार ध्रुबकृष्ण ताम्राकारको 'मिराज' नामक कथा संग्रहको लोकार्पण गरिएको छ।
यो कथा संग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुब ताम्राकारले संयुक्त रूपमा विमोचन गरेका हुन्। यो किताब ट्रान्सवर्ल्ड पब्लिकेसननले प्रकाशन गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि के के कर्माचार्यले मिराज कथा संग्रह एक पठनीय कृति भएको बताए। एक सन्दर्भमा उनले कथा समाजका लागि लेखिने भएकोले कथाले समाजमा घट्ने घटनाहरूलाई सजिव ढङ्गले प्रस्तुत गर्नुपर्ने बिचार व्यक्त गरे।
त्यस्तै, साहित्यकार सूर्य लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै कथाहरू पठनीय र सन्देहात्मक भएको बताए। उनले कथाहरू यथार्थताको धरातलमा उभिएर सिर्जना गरिएको कारणले किताबमा भएको सबै कथा जिवन्त रहेको समेत उल्लेख गरे।
कथा, कविता, मुक्तक विधामा विभिन्न लेख लेखिरहेका सर्जक ध्रुब ताम्राकारको मिराज कथा सङ्ग्रहमा एघार ओटा कथाहरू संग्रहित छन्। यसभन्दा अघि उनको 'प्रारम्भ' र 'हृदयका उद्गार' गरी दुइवटा कविता संग्रह, 'भावनाका उत्सर्ग' गीत संग्रह, 'स्पन्दन' मुक्तक सङ्ग्रह र 'आँसुको कथा' कथा सङ्ग्रह प्रकाशित छन्।
कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तब्य व्यक्त गरेका थिए।