एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष एवं उद्योगी मोतीलाल दुगडको आत्मकथा 'कृषि उद्यमदेखि जल विद्युतसम्म' नामक पुस्तकको विमोचन भएको छ। आइतबार एक कार्यक्रम गर्दै 'कृषि उद्यमदेखि जल विद्युतसम्म' पुस्तक विमोचन गरिएको हो।
उक्त पुस्तकको विमोचन माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला र डा. सन्दुक रुइतले गरेका थिए। सिएनएन हिरो समेत रहेकी अनुराधा कोइराला र आँखाका डाक्टर सन्दुक रुइत दुवै भारतको पद्म श्री पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर जयनाथ भट्टराई, वरिष्ठ गाइनोकोलोजिष्ट डा. भोला रिजाल, सेजनका अध्यक्ष जनार्दन बरालको समेत उपस्थिति थियो।
सरल र सबै पाठकहरू स्पष्ट रुपमा बुझ्ने गरी लेखिएको उक्त पुस्तकको सम्पादन कवि तथा साहित्यकार प्रमोद प्रधानले गरेका हुन्।
उक्त पुस्तकमा लेखक मोतीलाल दुगडले आफ्ना पुर्खाहरूले विगतमा गरेका व्यापारिक कार्यहरूबारे लेखेका छन्। त्यस्तै, ती व्यवसायलाई दुगड परिवारले कसरी फैलाउँदै लगे भन्ने उल्लेख गरिएको छ। पुस्तकमा यसबाहेक विगतको नेपाली व्यापारिक समाजबारे लेखिएको छ।
झट्ट हेर्दा किताब ठूलो देखिएता पनि यसमा ऐतिहासिक फोटा तथा वि.सं. १९८५ को ऐतिहासिक भन्सार रसिदका कपीहरू, त्यस बेलाका महत्वपूर्ण राजपत्रहरू, ऐतिहासिक दस्तावेजहरूको फोटोहरू राखिएकोले पुस्तक रोचक छ।
लगभग १३७ वर्ष अघिदेखि विराटनगरबाट व्यापार-व्यवसाय सुरू गरेको दुगड नेपालको एक प्रतिष्ठत व्यापारिक घराना हो।
वि.स. २००३ पौष २४ गते विराटनगरमा जन्मेका मोतीलाल दुगड करिब १६ वर्षको उमेर देखि नै पुर्खाहरूले गरि आएको कृषि लगायतको व्यवसायमा संलग्न भए। उनले ७५ औं वर्षको वसन्त पार गरि सकेका छन्। एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष उनी हाल कृषिसँगै अटोमोबाइल एवम् जल विद्युत उत्पादन क्षेत्रमा पनि सक्रिय छन्।