सन् १९७६ मा जन्मेका युवल नोह हरारी यरूशलेमको हिब्रू विश्वविद्यालयका प्राध्यापक हुन् र उनी सार्वजनिक बौद्धिक व्यक्तित्व तथा इतिहासकारका रुपमा विश्वमै परिचित छन्। अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका हरारीले विचारका माध्यमले विश्वकै ध्यान आफूतिर खिचिरहेका छन्। उनले लेखेका तीन पुस्तकको अध्यन गरेर अथवा युट्युबमा हेरेर उनका विचार बुझ्न सकिन्छ।
उनले विभिन्न विश्वविद्यालयमा व्याख्यान दिएका छन्, विभिन्न सार्वजनिक संस्था, कर्पोरेट हाउस लगाएत प्रसिद्ध इन्टरनेट प्रदायक संस्थाहरूलाई अन्तर्वार्ता तथा तिनीहरूसँग अन्तरक्रिया गरेका छन् जसलाई युट्युबमा खोजेर हेर्न सकिन्छ। उनका विचारलाई सार्वजनिक नीतिमा चासो राख्ने सबैले सुन्न आवश्यक छ। यो लेखको उदेश्य हरारीका तीन पुस्तकको बारेमा छोटकरीमा परिचय गराउनु हो।
सेपियन्स मानव जातिको संक्षिप्त इतिहास उनको पहिलो पुस्तक हो। चार सय ९८ पृष्ठको यो पुस्तकमा २० अध्याय छन् र ती चार भागमा विभाजित छन्। पुस्तकमा ढुंगे युगदेखि एक्काइसौँ शताब्धीसम्मको मानव जातिको इतिहासलाई प्राकृतिक विज्ञान र समाज विज्ञानको संयुक्त दृष्टिकोणको प्रयोग गरी सूक्ष्म ढंगले विश्लेषण गरिएको छ।
मानव जातिको इतिहासलाई उनले संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति, मानव जातिको एकीकरण, र वैज्ञानिक क्रान्तिमा विभाजन गर्दै पुस्तक लेखेका छन्। यो पुस्तकमा उनले दाबी गरेको तर्क के छ भने मानव जातिमात्र एउटा यस्तो प्राणी हो जसले लचकतापूर्वक एकआपसमा सहयोग गर्ने गर्दछ र यही कारणले गर्दा नै मानवले विश्वलाई आफ्नो अधिनमा राख्न सकेको छ।
मानव जातिको एक आपसमा सहयोग गर्ने बानीको विकासमा मानवले विश्वास गर्ने गरेको कल्पनाको संसारको भूमिका प्रमुख छ जसमा ईश्वर, राष्ट्र, पैसा, मानव अधिकार, धर्म, राजनीतिक संरचना, व्यापारिक संरचनाजस्ता मान्यताले प्रमुख भूमिका खेलेको हुन्छ। आधुनिक प्रविधिले मानव जातिको अन्त्य हुनसक्ने सम्भावनामाथि पनि लेखेकले तार्किक ढंगले आफ्ना तर्क स्थापित गर्न खोजेका छन्।
३० भन्दा बढी भाषामा अनुवादित भएको यो पुस्तक विश्वविद्यालय, पत्रकारिता, नागरिक समाज, नीति निर्माता तथा सक्रिय राजनीतिक जीवन बिताउने व्यक्तिले एकपटक अध्यन गर्नै पर्दछ। यो पुस्तकको अध्यनपश्चात प्रविधि नै सबथोक हो भन्ने हामी धेरैको मान्यतालाई दुई पटक सोच्न बाध्य बनाउँदछ।
होमो डेउस भोलिको संक्षिप्त इतिहास हरारीको दोश्रो पुस्तक हो। पाँच सय १३ पृष्ठको यो पुस्तकमा ११ अध्याय छन् र ती तीन भागमा विभाजित छन्। पहिलो भागमा मानव जाति र अरु जनावरको बीचको सम्बन्धको बारेमा विस्तृतमा व्याख्या गरिएको छ।
यो पुस्तकमा लेखेकले मानव र अरु जनावर बीचको फरकको व्याख्या गर्दै मानव कसरी उसको कल्पनाको उपजजस्तै देश, सिमाना, धर्म, पैसा, विभिन्न संरचनामा विश्वास गर्दै एकले अर्कालाई सघाउँदै जिउने सीपको कारणले गर्दा नै ऊ अरु जनावरभन्दा फरक भएर बाच्न सक्यो भन्ने आफ्ना तर्क सशक्त ढंगले राखेका छन्।
लेखेकले मानव जातिले आउँदो दिनमा मृत्युलाई जित्न खोज्ने तिर, खुसी र शक्ति हासिल गर्ने तिर लाग्ने देखेका छन्। बिग डेटा विज्ञान र त्यसको कारणले गर्दा हल हुने समस्या र सँगसँगै त्यसले उत्पन्न गर्ने समस्याले मानव जातिलाई पर्ने गहिरो प्रभावको बारेमा लेखेक चिन्तित छन्।
बिग डेटा र कृतिम बुद्धिमत्तामा आएको प्रचुर विकासको कारणले गर्दा भविष्यमा कतै मानवले आफूले आफैलाई कम चिन्ने तर मानव निर्मित कृतिम मेसिनले आफैलाई बढी चिन्ने त हैन भन्दै यो क्रियाको असर हाम्रो मानवीय दैनिक जीवनमा, मानव समाजमा र राजनीतिमा पर्ने असर कस्तो होला र यो सबै कारणले गर्दा मानव मानव जातिकै रुपमा रहला त भनि लेखेकले गम्भीर प्रश्न उठाएका छन् र हाल यो प्रश्नको उत्तर धेरै दर्शनशास्त्रीहरूले खोजिरहेका छन्।
एक्काइसौँ शताब्दीका लागि २१ पाठ लेखेकको तेश्रो पुस्तक हो। तीन सय ५२ पृष्ठको यो पुस्तकमा २१ पाठ छन् र ती पाँच भागमा विभाजित छन्। तुलनात्मक रुपले साधारण पाठकका लागि उनको यो पुस्तक पहिलेका दुई पुस्तकभन्दा रुचिपूर्ण हुन सक्छ। पहिलेका दुई पुस्तकको तुलनामा यो पुस्तक अत्यन्त सरल ढंगले लेखिएको छ।
मानव जातिका लागि प्रविधि र राजनीति कसरी चुनौतिपूर्ण बन्दै गएको छ भनेर उनले पहिलो दुई पाठमा व्याख्या गरेका छन्। कृतिम बुद्धिमत्ता मेसिन र बिग डेटाको कारणले मानव जातिमा देखा पर्ने वर्तमान र भविष्यका समस्याहरूजस्तै रोजगारीको अभाव, स्वतन्त्रताको हनन्, डाटा माथिको एकाधिकारले निम्त्याउने असमानताजस्ता विषयमाथि बहुत गम्भीर ढंगले प्रश्न उठाएका छन्।
त्यस्तै उनले यो पुस्तकमा समाजको बारेमा, मानव सभ्यताको, राष्ट्रियता, धर्म, बसाइँ सराइ, आतंकवाद, युद्ध, नम्रता, ईश्वर, धर्मनिरपेक्षता, अज्ञानता, न्याय, उत्तर सत्य, विज्ञान कथा, शिक्षा, ध्यानको बारेमा बढो मौलिक ढंगले विश्लेषण गरेका छन् र ती किन यो शताब्दीको लागि महत्वपूर्ण विषय हुन् भनि आफ्ना तर्क राखेका छन्।
यो पुस्तकमा समेटिएका विषय नेपाली समाजको सन्दर्भमा पनि उत्तिकै जल्दाबल्दा विषय हुन् र ती विषयमाथि हाम्रो समाजमा पनि सशक्त बहस हुने गरेकोले यो पुस्तक हाम्रा प्राज्ञिक जमात तथा राजनीतिसँग सम्बन्धित सबै सरोकारवालाले अध्यन गर्दा समाजले राम्रै प्रतिफल हासिल गर्ने छ।
अन्त्यमा युवल नोह हरारीका तीन पुस्तकले उठाएका केही प्रश्न जस्तै, हामीले हाम्रा केटाकेटीलाई के सिकाउने? कतै हामी प्रविधि सिक्दै जाँदा मानव हुन बिर्सने हौ कि? यी र अरु धेरै यस्ता हरारीका प्रश्नमाथि हामीले हाम्रो मौलिक ढंगले गम्भीर चिन्तन गर्दै उत्तर खोज्न जरुरी भैसकेको छ।
मानवले नसिकी नहुने एउटै सीप मानवता र सामाजिक सीपमा आउँदै गरेको ह्रासलाई कसरी पुनः स्थापित गर्ने भन्ने बारेमा हामीले बेलैदेखि नसोचेमा र हामीले हाम्रा बालबालिकालाई नसिकाएमा अन्त्यमा पछुताउनुको विकल्प छैन, किनकि हामीले विकास गरेको मार्केट इकोनोमीले हाम्रो समाजलाई नै मार्केट सोसाइटी बनाउँदै गएको र यसबाट बच्नु पर्ने तर्क हार्वर्ड विश्वविद्यालयका माइकल स्यान्डेलले सशक्त ढंगले उठाउँदै आएका छन्।