यी कुनै चित्रकारले क्यानभासमा कोरेका अस्तित्वका बाङ्गाटिङ्गा रेखाहरू होइनन्। यी कुनै बन्धनका प्रतिछायाहरू पनि होइनन्, न त जीविकाका लागि गरिएका जीवनका दुखेसाहरू। यी त प्रेमका पदचापमा भेटिएका उन्मुक्तिका बिम्बहरू हुन्।
प्रिय सकमबरी,
प्रिय स्परेन्जा,
सप्रेम मैले तिमीहरूलाई तिम्रा लेखकहरूले झैँ पात्रको चरित्रमा मात्र देख्न सकिनँ। लाग्छ, तिमीहरू बिना कविताका बिम्ब वा बिना बिम्बका कविताहरू हौ। कहिलेकाहीँ सोच्छु तिमीहरू कविता होइनौ र पनि कविता हौ। पात्रलाई पात्र नठानेर साहित्यको सिंगो बिधा नै ठान्नु यो मेरो दुष्प्रयास हो, सायद प्रेमिल दुष्प्रयास।
कहिलेकाहीँ लाग्छ पारिजात आमा हो, सकमबरी छोरी हो। साँघुरो भूगोलभित्र आमा अट्छे भने छोरीको भूगोल त्योभन्दा अति नै बृहत कसरी बन्न सक्ला? सायद पारिजातको फराकिलो भूगोलको एक अंश सकमबरी हो। हुनसक्छ पारिजात छाया हो, सकमबरी प्रतिछाया। छायाभित्र अटेको वा त्योभन्दा पर पुगेकी सकमबरी सायद पारिजाताको कल्पनाको प्रतिस्थापन हो।
पर अमेरिकाको सुदूरपूर्व गाउँ सिकागोको कुनै आप्रवासी घरबाट स्परेन्जा भन्छे, 'फ्ल्याट होइन। न कुनै अपाट्मेन्ट वा कुनै पुरुषको घर। न पिताको नै। मेरा सुन्दर सिरानी र कुसनहरू, मेरा किताब र कथाहरू। मेरा एकजोर जुत्ता जो मेरो पलङमुनि मलाई कुर्दैछन्। बिना कुनै बन्धन, बिना कुनै खबरदारी। यस्तो घर जो मेरो आफ्नो मात्र हुनेछ।'
बेप्रवाह बिना पुरुषको घरको कल्पना गर्नु सायद स्परेन्जाको स्वतन्त्रता र उन्मुक्तिको घोषणा थियो वा सायद सान्द्रा सिस्नेरोजको मेक्सिकन साँघुरो पुरुषवादी घरप्रतिको विद्रोह। तर स्परेन्जाले प्रेम र मुक्तिको बाटो रोज्छे 'द हाउस अन म्याङ्गो स्ट्रीट' मा जसरी सकमबरीले 'शिरीषको फूल' मा रोज्छे।
थाहा छैन सकमबरी जिएको काठमाडौँका कस्तो थियो? किन ऊ हिँड्न चाहन्थी निस्सारताको बाटो? किन एक अधबैसेँ सिपाहीको कसिलो चुम्बन नै उसका लागि मुक्तिको बाटो बन्यो? किन उसले गर्न चाहिन विद्रोह वा गरी आफ्नै ढंगले? किन उसलाई लाग्थ्यो जीवन निस्सारताको अर्को नाम हो? यी यस्तै अपवादले सकमबरी पात्रभन्दा माथि उठ्छे र बन्छे एक निस्सार बिम्ब। मुक्तिको अर्को नाम, एक अमूर्त चित्र।
सकमबरी र स्परेन्जा सरसर्ती हेर्दा दुई भिन्न भूगोलबाट आएका दुई भिन्न पात्र हुन्। तर सारमा हेर्दा दुवै साँघुरो कथाको क्यानभाषबाट बृहत जीवनरुपी बिम्बमा रुपान्तरित उन्मुक्ति र मोक्षका दुई चरम बिटहरू हुन्। निस्सारतामा सार देख्ने सकमबरी, आफ्नो भूगोललाई लेखेर भूगोलभन्दा परको संसार खोज्ने स्परेन्जा तपाईं-हामीले देखेझैँ कथाका पात्र मात्र होइनन्, आफ्नै भूगोलमा उन्मुक्तिको बिउ छर्ने दुई मुक्त आत्माहरू हुन्।
यी दुवै पात्रहरू कथाका पानामा मात्र रहेनन्, मजस्ता धेरैका हृदयमा बास बसे। जब कलमको निभबाट पात्रहरू आफ्नै यात्रामा निस्कन्छन् तब ती बन्द कथानकमा कैद एक बन्द अक्षरात्मा मात्र रहँदैनन्। ती त मानिसका हृदयको यात्रामा पोख्त यायावर बन्छन्। समयक्रम सँगै यी दुवै यायावर भएका छन् र बनाएका छन् यात्राको अर्को भूगोल।
पात्रको यात्रा प्रेम र हृदयको यात्रा हो। सकमबरी र स्परेन्जाको यात्रा पनि त्यही हो। सकमबरी निस्सारता र अमूर्तताको अनपेक्षित यात्रामा छे, स्परेन्ज आफ्नै कथामा आफ्नै मुक्ति खोज्दै। यिनीहरूले तय गरेको यात्रा एक अनपेक्षित नारी बिम्बको बिम्ब भूगोल हो। यी दुवैको यात्रा अप्रत्याशित उन्मुक्तिको विश्वव्यापी कथानक हो।
यी कथाका नायिकाहरू हुन् तर नायिकाको विश्व दृष्टिकोणबाट यी भिन्न छन्। यी तपाईं-हामीले धेरै भेट्ने कथाका सुन्दर नायिकाहरू होइनन्, न यी क्षणिक सुन्दरताको ताजमा रमाएका छन्। एक मुडुलो टाउको जसमा निकोटिनका धर्साहरू प्रशस्तै भेटिन्छन्, जसलाई समग्रतामा महसुस गर्न मात्र सकिन्छ तपाईं-हामीले कल्पना गर्ने सकमबरी यही हो। झाडुजस्तो कपाल भएकी, आफ्नो नामाकरण आफै गर्न चाहने स्परेन्जा उसकै शब्दमा भन्दा एक धुमिल रंग हो। यी दुवै धुमिल देखिन्छन्, यिनलाई व्याख्या गर्नभन्दा महसुस गर्न सजिलो छ। यी निराश देखिन्छन् तर निस्सार पक्कै पनि होइनन्।
दुवैले जीवनलाई साझेदारी अर्को पर्याय मानेका छैनन्। यिनीहरूले आफू हुनुको अस्त्विलाई जीवनको साझेदारीसँग बाँडेका छैनन्। सकमबरी भन्छे, 'प्रेम कुनै बाध्यता होइन। प्रेममा गएर पिल्सनै पर्छ, यो कुनै अनिवार्य छैन। एक्लो बाँच्न सकिन्छ एक्लो।' स्परेन्जा भन्छे, 'मलाई घर चाहिएको छ त्यस्तो घर जो हिउँजस्तै शान्त, त्यस्तो ठाउँ जहाँ म मात्र हुनेछु, त्यस्तो जो कविता अघिको कागज झैँ सफा रहनेछ।'
दुवैको एकाङ्कीपनले उनीहरूको यात्राको भूगोललाई अझ बढी विशिष्ट बनाएको छ। उनीहरूले कठोर बन्धनयुक्त जीवनका साझेदारीहरूलाई खुल्लमखुला नकारेका छन्।
यिनीहरू पुरानो सहनशीलता, र नाजुकताको नारी बिम्बलाई नकारेका साहित्यका र जीवनका आधुनिक मिथकहरू हुन्। यी प्रेमिल लाग्छन् तर प्रेममा पिल्सदैनन्, यी उदार लाग्छन् तर उदारताको सिमानालाई नाघ्दैनन्, यी धुमिल देखिन्छन् तर विचारको तिख्खरतामा चहकिन्छन्। यिनको विशेषता अब हाम्रो विशेषता बनेको छ। अबको उदारवादी समाजमा सकबरी र स्परेन्जाहरू प्रशस्तै भेटिन्छन् किनकि अब बन्धन र सिमानाहरूमा संसार अट्न सक्दैन। अबको स्त्रित्वको परिभाषा केही हो भने सकमबरी र स्परेन्जाको जस्तै मुक्त स्त्रित्वको परिभाषा हो।
यी लेखकको हातबात आफ्नै लयको यात्रामा निस्केका दुई कविताहरू हुन्। यी निराश र अनौठा लाग्छन् तर जे बोल्छन् त्योभन्दा धेरै भन्छन्। बिम्ब झैँ यिनीहरूको उपस्थिति प्रतिकात्मक लाग्छ। त्यसैले यिनीहरू कविता नभएर पनि कविता नै हुन्। लेखकले झैँ हामी पाठकहरूले यिनीहरूलाई अंश-अंशमा व्याख्या गर्न सक्दैनौँ, यिनीहरूको व्याख्या सम्भव छ भने त्यो समग्रतामा मात्र छ।
सय पेजको उपन्यासमा अटाएका यी भिन्न भूगोलका तर आधुनिक समाजका यी तिख्खर नायिकाहरू अब हाम्रा पनि नायिकाहरू हुन्। चाहेर-नचाहेर यिनीहरूको उपस्थितिले स्त्रित्वको परिभाषलाई नयाँ आयाम दिएको छ। सकमबरीको समग्र उपस्थिति नै ऊ हुनु हो, उसलाई हामी अंश-अंशमा परिभाषित गर्न सक्दैनौँ। ऊ चुरोट खान्छे, फूलसँग रमाउँछे र जीवनलाई निस्सार ठान्छे।
यति मात्र भन्दा उसको उपस्थितिको समग्रतालाई हामीले अपव्याख्या गरेझैँ लाग्छ। ऊ जे हो र छ त्यो समग्रतामा नै छ। स्परेन्जा उपस्थितिले त्यही समग्रताको रेखालाई अझ चहकिलो बनाएको छ। सकमबरी झैँ ऊ पनि समग्रतामै जिउँछे, आफ्ना लागि नै जिउँछे।
नायकको प्रेम र व्याख्यामा लित्त हामीहरू बिरलै हाम्रा नायिकाहरू बारे सोच्छौँ। यी दुई भिन्न भूगोलका तर सारमा एकै लाग्ने नायिका बारे मैले लेखेको यो प्रेम कथा हो। हुन त अबको समाजमा को नायक को अनायक, तर समग्रतामा भन्दा हामी सबै नायक हौँ र अनायक पनि।
हामी सबै नायिका हौँ र अनायिका पनि। यी कहिले कविता झैँ लाग्ने यदाकदा बिम्बको यात्रामा निस्केकका यायावर झैँ प्रस्तुत हुने आधुनिक नायिकाहरूबारे यो एक मुक्त व्याख्या हो। र यो आलेख मेरो हृदयमा सधैँ रहने नायिकाहरू प्रतिको भरिभराउ प्रेम हो। तपाईंहरूले बुझ्न सक्नुहुन्छ प्रेम र युद्धमा झैँ यसमा सही र गलतको कुनै पावन्धी छैन। यो छाया र प्रतिछायाको उन्मुक्त कोलाज हो।