३५ वर्ष विभिन्न विकास परियोजनामा काम गर्दा गर्दै विगत १५ वर्षदेखि खानपान जीवनशैली र नेपाली परम्परागत खाना सम्बन्धी खोज र अध्ययन गरेकी शारदा ज्ञवालीलाई कोरोनाको बेलामा विदेशबाट नेपाली र विदेशी साथीहरूले फोन गरेर 'यो रोगसँग लड्ने शक्ति कसरी बढाउने? कोरोना भएपछि के-के खाने?' भनेर धेरै सल्लाह लिएछन्।
वर्षभरि विभिन्न व्यक्तिहरूलाई सल्लाह दिँदै गर्दा उनलाई लागेछ, 'मैले यति धेरै मानिसलाई यति धेरै जानकारी दिन्छु। सबै जानकारी एकै ठाउँमा राखेर प्रकाशित गरे त धेरै जनालाई फाइदा पुग्ने थियो।'
त्यसपछि अंग्रेजी भाषामा उनले नेपाली मसलाको स्वास्थ्य महत्व बारेमा लेख्न थालिन्। उनले विभिन्न गैर सरकारी संस्थामा काम गरिन्। नेपाल र विश्वका धेरै भागमा भ्रमण गरेपछि, विभिन्न व्यक्तिहरूसँग जानकारी लिएर आफ्नो आमा र हजुरआमाको सिको गरेपछि उनले नेपाली भोजन, मसलाको ज्ञान प्राप्त गरिन्। टिपोट पनि गर्दै गरिन्।
विभिन्न व्यक्तिहरूबाट जानकारी पनि लिँदै र दिँदै किताबको पाण्डुलिपी विस्तारै तयार पारिन्। यो किताबको विशेषता भनेको प्रत्येक मसलाको बारेमा लेख्दा सुरुआतमा विभिन्न संस्कृका ग्रन्थहरु श्लोक पनि राखिएको छ। तर यदि यो श्लोकको अर्थ एक-दुई लाइनमा खुलाइदिएको भए संस्कृत भाषा नजान्ने विशेष गरी विदेशी पाठकलाई बडो रुचिकार हुने थियो।
नेपाली 'मसला र जडीबुटी' को बारेमा अंग्रेजीमा लेख्नुको कारण नेपाली भान्छामा प्रयोग गरिने मसलाको विशेषता विदेशमा पनि पुगोस् र सकेसम्म सबैले यसको फाइदा उठाउन सकून् भन्ने उद्देश्य हो।
यसको साथै यस्ता मसलाहरुको विभिन्न स्वास्थ समस्या हुँदा घरेलु औषधिको रुपमा कसरी प्रयोग गर्ने भनेर चिनारी पनि दिनु हो। 'किताब अष्ट्रेलियाबाट प्रकाशित भएकोले केही महंगो छ, तर यसलाई नेपालमै प्रकाशित गरेपछि यो किताबको मूल्य आधा घट्न जाने शारदाको विश्वास छ।
मैले यो किताब पढेपछि दुई वटा कारणले यो किताबको बारेमा लेख्न प्रेरित भएँ। यसमा हाम्रो परम्परागत ज्ञान त छ नै, तर यसको साथै हाम्रा मसला र जडीबुटीको वैज्ञानिक अनुसन्धान भएर तिनको महत्व कति रहेछ भन्ने कुरा पनि जानकारी दिइएको छ। किताबको शीर्षक नै 'नेपाली भान्छाबाट उपचार' राखिएको छ। किताबको जिल्ला हेर्दा झलक्क राम्रो देखन्छ, हाम्रो भान्छामा दैनिक प्रयोग गरिने जिरा धनिया, तेजपत्ता, दालचिनी, बेसार, मेथीको फोटो यो किताबको अर्को विशेषता हो।
हरेक मसलाबाट कम्तीमा एउटा परिकार कसरी बनाउन सकिन्छ भनेर लेखिएको छ। उदाहरणको लागि- अकबरे खुर्सानी (डल्ले खुर्सानी)। यो खुर्सानीलाई 'खुर्सानीको राजा' भनिन्छ। यसमा रहेको सिनापिक एसिड र फोलिक एसिड वृद्धा अवस्थामा पनि स्वस्थ रहन मद्दत गर्छ। अकबरे खुर्सानीलाई तेलमा डुबाएर घाममा राखेर २४ घन्टापछि त्यसको तेलले मालिस गर्दा जीउ दुखेको कम हुन्छ भन्ने अनुसन्धानलाई यहाँ उद्दत गरिएको छ।
खुर्सानीको बियामा रहेको रसायनिक तत्वहरु दुखाई कम गर्ने मालिसमा पनि हुन्छ। हाम्रो भोजन गर्दा यो खुर्सानीको अचारसँग भात वा रोटी खाँदा भोजनको स्वाद बढाउन गएको अनुभव त हामी प्रायःलाई छ।
स्त्री रोग विज्ञहरुले भोजनलाई औषधिका रुपमा प्रयोग गर्ने चलन कमै छ। लामो समयदेखि स्त्रीरोग विज्ञ भएर काम गर्दा गर्दै नेपालको संस्कृति भोजन र पोषणको विषयमा कलम चलाइरहने डा. सुमन ताम्राकार नेपाली भाषामा भोजन र किताब लेखेका छन्। यो किताबले नेवारी समुदाय प्रयोग गर्ने पौष्टिकताले भरिपूर्ण भोजनको बारेमा बताउँछ। यस्तो भोजन सहजै बनाउन सकिने हुनाले बनाउन प्रेरणा पनि दिन्छ। यस्तो भोजनले स्वास्थमा कस्तो सकारात्मक प्रभाव पार्छ भनेर पनि वर्णन गरिएको छ।
शारदा ज्ञवाली र डा. सुमनद्वारा लेखिएको दुवै पुस्तकमा के सामानता पाइन्छ भने नेपाली भोजनले केवल पेट भर्ने मात्र होइन, यसमा रहेको सुदम पोषक तत्वले रोगसँग लड्ने शक्ति दिन्छ। रोग भइसकेपछि पनि तग्रिन पनि मद्दत गर्छ। साथै यी भोजन हाम्रो समाजमा हजारौँ वर्षदेखि चलिएकोले यिनको आर्थिक तथा सांस्कृतिक महत्व पनि छ।
दुवै लेखक पुस्तकमा पनि भोजन सुन्दर चित्रहरु राखिएका छन्। दुवै किताबमा कुन वस्तुमा के-के सूक्ष्म पौष्टिक तत्व पाइन्छ भनेर पनि जानकारी छ। डा. सुमनको किताब कुन-कुन विशेष दिनमा कुन भोजन पकाइन्छ, कसरी पकाइन्छ भनेर वर्णन छ। शारदाको किताबमा केही यस्ता जडिबुटीका जस्तो वर्णन छ जुन प्रायः कतिपयले सुनेको पनि छैनन्।
उदाहरणको लागि भकिम्लो अङग्रेजीमा सुम्याक भनिन्छ। चाइना बाहेक, भारत, भुटान र कोरिया नेपालको पहाडी क्षेत्रमा पाइने भकिम्लो खोकी, पखला आदिमा काम लाग्दो रहेछ। साथै प्रयोगले रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने रहेछ।
त्यसैगरी फलफूलको नाममा प्रायः प्रयोग नगरिने हेपिएको बयरको पनि वर्णन छ। प्रकृतिमा आफै फुल्ने बयरमा पोटासियम, म्यागनेसियमजस्ता शुद्ध पौष्टिक तत्व पाइन्छ र रोगसँग लड्ने शक्ति पनि हुन्छ। कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ। बयर अचार बनाएर खाँदा स्वास्थ र स्वाद दुवै कुरा यो किताबबाट स्पष्ट हुन्छ।
मरौठी भन्ने नाम बल्ल नेपालीले सुन्न थालेका छन्। मरिचजस्तै स्वाद दिने मरौठी सजिलैसँग फल्छ र यसले खाना पचाउन सहयोग गर्छ। हेर्दा राम्रो देखिने यो बनस्पतिमा संक्रमणसँग लड्ने शक्ति तत्व हुने रहेछ।
डा. सुमनको किताबमा समयको बारेमा वर्णन छ। 'पञ्चतत्वको रुपमा लिइने र कालो भटमास वायुतत्व, अदुवा बलतत्व, छोयला पृथ्वी तत्व र रक्सी तेजतत्वको रुपमा रहेको भनेर संस्कृतिको महत्व पनि प्रष्टाएका छन्। विभिन्न मासुका परिकारसहित मसलाहरुको पनि वर्णन गरिएको यो किताबले केही भए पनि नेवारी भोजनको विशेषतालाई देखाउन सफल भएको छ।
चटामारी, बारा, आदि सहजै बनाउन सकिने परिकारको वर्णन र यसमा रहेको पौष्टिकका बारेमा लेखिएको किताबले नेपाली परम्परागत भोजनलाई बढावा दिन्छ।