सन्जीव पोखरेलको पश्चिमी दर्शनमा आधारित नयाँ कृति 'एक अनि शून्य' शनिबार सार्वजनिक भएको छ।
पुस्तक कालिकास्थानस्थित पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुला र सानो भेलाबीच सार्वजनिक भएको हो। यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रित छ जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन्।
लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोकर्पण गरेका हुन्।
'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ,' लेखक पोखरेलले भने, 'मेरा छोरीका पुस्ताले यो पुस्तक पढून्, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरून् भन्ने मेरो लेखकीय आकांक्षा र सदिक्षा हो।'
उनले अगाडि भने, 'यस पुस्तकमा मैले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको छु। यसको अर्थ पाठकहरूले ज्ञानका प्रश्नहरूलाई बुझून् र आत्मसात गरून् भन्ने हो।'
नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे प्रकाश पार्दै लेखकले थप प्रस्ट्याए, 'हाम्रो समाजमा विद्यमान कतिपय राजनैतिक संरचना र तिनका आधारस्तम्भ पश्चिमी समाजबाट आएका छन्। राज्य संरचना, राज्य र नागरिकबीचका अन्तरसम्बन्ध र तिनका राजनैतिक साथै आर्थिक कर्महरू पाश्चात्य सिद्धान्तमा आधारित छन्। त्यसैले मलाई लाग्छ हामीले आफैंलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ।'
सार्वजनिक पुस्तकका बारेमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता विष्णु सापकोटाले पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः भएको बताए।
'यो पुस्तकको विशेषता भनेको के पनि हो भने, यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ,' सापकोटाले भने।
पुस्तकले विगत तीन हजार वर्षको पश्चिमी बौद्धिक इतिहासको रूपरेखा प्रस्तुत गर्छ र कसरी विचारहरू बनाइयो, विघटन भयो र पुन: उत्पन्न भयो भनेर देखाउँछ। त्यस अर्थमा, यसले अनुमान र खण्डनहरू मार्फत बौद्धिक इतिहासको विकासलाई प्रतिनिधित्व गर्छ। पुस्तकको शीर्षक 'एक अनि शून्य' ले जन्म, क्षय र विचारहरूको पुनर्जन्मको चक्रलाई संकेत गर्छ। अभिव्यक्त भएका हरेक विचारहरू नष्ट हुनुपर्छ र समयसँगै पुन: नवीकरण हुनुपर्छ।
'एक अनि शून्य' को मूल्य नेपाली बजारका लागि ४९५ रूपैयाँ छ।