मलाई थाहा थिएन ऊ को थियो
हुनसक्छ एक बलात्कारी जसलाई मैले पर छोडेँ
वा मैले एक अपराधीलाई प्रेमी मानेँ
उसले मलाई छोड्यो
वा मैले अर्कोलाई भेटेँ
र उसलाई गुमाएँ
हुनसक्छ... त्यो प्रेम थियो
वा मैले पाएको बिछोडको उपहार
वा...
त्यो सब जो एकैसाथ मलाई मिलेको थियो।
जहाँबाट नैराश्यता सुरु भयो -रुपी कौर
नैराश्यतालाई व्यक्त गर्न सजिलो छैन, अझ बिम्बमा। भोगाइको हिसाबले आधुनिक समाजमा नैराश्यताको उपस्थिति एक पुरानो दोहोरिरहने बिम्बझैँ लागे पनि कवितामा यसको उपस्थिति खासै धेरै भेटिँदैन। नैराश्यताको सूक्ष्म स्वरुपलाई व्यक्त गरिएका माथिका हरफहरू रुपी कौरको पछिल्लो कविता कृति 'होम बडी' बाट लिइएको हो।
किताबमा उनी मानव शरीरलाई घरसँग तुलना गर्छिन् जसले पाठकलाई शरीररुपि घरको कवितात्मक यात्रा गराउँछ। नैराश्यता, खालीपन, यौनदुर्व्यवहार, प्रेम, सम्बन्ध, मानव जीवनका यी-यस्तै आयामहरूलाई उनले पुस्तकमा घरकै बिम्बको वरिपरि रहेर व्याख्या गरेकी छन्। धेरैले भोगेका तर बोल्न हिचकिचाएका यी अनुभवजन्य तहहरूलाई उनका कविताले पत्रपत्र केलाएका छन्।
अंग्रेजी पत्रिका 'द गार्डियन'मा प्रकाशित एक आलेखमा जे ग्रिफ्फिथले भनेकी छन्- कविताले नैराश्यतालाई कम गर्न सहयोग गर्छ। उनी लेख्छिन्, 'म प्रायः कविता लेख्दिनँ। तर जब म नैराश्यतासँग जुध्दै थिएँ त्यो समय मैले कविताबाहेक केही लेखिनँ।'
थाहा छैन उनका यो पुस्तक ग्रिफ्फिथले भने झैँ नैराश्यतामा पर भाग्ने औषधि थियो वा यसलाई व्याख्या गर्ने प्रयास। तर यो प्रयासले मानव शरीरमा देखापर्ने नैराश्यताको एक्लो, मौन तर चर्को कोलाहलसँग हामीलाई केही परिचित भने पक्कै बनाएको छ।
मूलतः कविताको किताब भए पनि कविता सँग-सँगै कविले उही विषयवस्तुमा कोरेका स्केच पनि पुस्तकमा भेटिन्छन्। जसले पाठकलाई भिन्न कला बीचको अनौठो कलेवरसँग परिचित गराउँछ। उनले प्रत्येक कवितालाई शीर्षक दिएकी छैनन् तर पुस्तक मूल रुपमा चार भागमा विभाजित छ। जसले हामीलाई कविले देखाउन खोजेको अथवा भन्न खोजेको संसारको छनक दिन्छ। माइन्ड, हार्ट, रेस्ट र अवेक नामाकृति चार भागहरूमा उनी शरीररूपी घरका आशा, भरोसा र निराशाका पहेलीहरूलाई कविताकै भाषामा अभिव्यक्त गर्छिन्।
पुस्तकमा कविताका साथसाथै त्यससँगै गाँसिएको उनको अनुभव पनि सटिक रुपमा प्रस्तुत गरिएको छ। नैराश्यता र एकप्रकारको खालीपनले मानिसलाई कसरी आफ्नै शरीरबाट आफू अलग हुँ भन्ने अनुभूत गराउँछ भन्नेबारे उनी लेख्छिन्, 'जब आफ्नो शरीर आफ्नो लाग्दैन, आफ्नो शरीरमा आफै अपरिचित अनुभव हुन्छ। तब आफ्नै जीवन टेलिभिजन स्क्रीनमा हेरेजस्तो महसुस हुन्छ।' यस्ता व्यक्तिगत अनुभव भन्न सजिलो छैन। तर उनले यस कृतिमा यी यस्तै काव्यिक कठिनाइहरूलाई सजिलै छिचोलेकी छन्।
जसरी नैराश्यलाई शब्दमा व्यक्त गर्न सजिलो छैन त्यस्तै यौन र्दुव्यवहारलाई पनि। भित्रभित्रै दबिएको त्यो शारीरीक र मानसिक कोलाहललाई उनले खुलेर पोखिदिएकी छन्। उनी आफ्नो व्यक्तिगत अनुभवलाई यसरी व्यक्त गर्छिन्, 'बाल्यकालमै यौन र्दुव्यवहारको शिकार हुनु मेरो जीवनको सबैभन्दा अबोधगाम्य अनुभव बन्यो। यौनलाई कुनै पूर्वजानकारी बिना बुझ्नुले मलाई धेरै बिथोल्यो, त्यसबारे सजक बनाउनुको सट्टा।'
उनका यी यस्तै अनुभूतिहरू- नैराश्यता, खालीपन र यौन र्दुव्यवहारलाई कवितामा व्यक्त गर्न सफल बन्नुले किताबको पहिलो भाग 'माइन्ड' लाई अझ महत्वपूर्ण र पठनीय बनाएको छ।
यदि कसैसँग हृदय नै छैन भने
तिमी उसलाई नजिकको ठानेर
आफ्नो दिन सक्दैनौ।
पुस्तकको दोस्रो भागलाई 'हार्ट' (हृदय) भनेर नामाकरण गरिएको छ। जसमा माथिको कवितामा झैँ प्रेम र प्रेमको नाममा भेटेका अपमानजनक सम्बन्धका र त्यस्ता सम्बन्धका अनेकौँ मोडहरूलाई प्रस्तुत गरिएको छ। उनी लेख्छिन्-
मलाई नसोध
मैले उसलाई किन छोडिनँ भनेर
ऊसँगको सम्बन्ध यति साँघुरो थियो कि
मैले बाहिर निस्कने ठाउँ नै भेटिनँ।
माथिका हरफहरूमा झैँ सम्बन्धको नाममा साँघुरिएका र हिंसात्मक बनेका प्रेमका प्रसङ्ग र त्यसमाथि उनको विद्रोही चेतले पाठकहरूलाई आधुनिक समाजका कुरुप सम्बन्धसँग परिचित गराउँछ। सम्बन्ध, प्रेम, आफूले आफैलाई गर्ने आत्माप्रेम जस्ता विषयको बाहुल्यता रहेको दोस्रो भागमा यी विषयमाथि कविको गहिरो आत्माआलोचना र चिन्तन भेटिन्छ। जस्तो कि-
किन सबै कुरा
कम सुन्दर बन्छ
जब त्यो आफ्नो बन्छ।
यी कविताका तीन लाइनहरूले भन्न खोजेको र भन्न नसकेका सबैकुरा भनिदिन्छन्। अर्को त्यस्तै एक लाइनको कविता उनी बिनासंकोच लेखिदिन्छिन्, 'हस्तमैथुन भनेको ध्यान हो' भनेर। जसले महिलाको शरीर र त्यसमाथि बिध्यमान रहेका पूर्वनिर्धारित कयौँ घेराहरूलाई तोडिदिन्छ। कवितामार्फत उनले यसरी तोडिदिएकी छन् लाग्छ यो कुनै सांसारिक मोहमायाबाट दिक्षित भिक्षुणीको उन्मूक्त अभिव्यक्ति हो।
प्रेम र महिलाको शरीरमाथिका अनेकौँ किस्साका साथसाथै प्रेम र सम्बन्धमा पनि किन आत्मसम्मान आवश्यक छ भन्नेबारे उनका कविताहरू खुलेर बोल्छन्। उनी लेख्छिन्-
म त्यस्तो बहाना गर्ने छैन
जसले मलाई भएभन्दा कम विद्धान देखाउनेछ
ताकि कोही पुरुष
मेरो नजिक हुँदा सहज महसुस गरोस्
ऊ जसको लागि म योग्य छु
उसले त त्यसलाई मेरो खुबी मान्नेछ
र अझै माथि पुर्याउन खोज्नेछ।
यी-यस्तै विषयवस्तुले उनका कवितालाई खास बनाएको छ। धेरैले छोडेका, भन्न बिर्सेका, अथवा भन्न उचित नसम्झेका प्रेमका, सम्बन्धका र सम्बन्धको नाममा भएका हिंसाका किस्सा किताबको दोस्रो भागमा भेटिन्छ।
किताबको तेस्रो अंश जसलाई 'रेस्ट' आराम भनेर नामाकरण गरिएको छ। यसमा जीवनमा किन सबै चिजबाट आराम वा अलिकति दूरी आवश्यक छ भन्ने भावका कविताहरू भेटिन्छ। उनी सुरुआत यसरी गर्छिन्-
मसँग कति वर्षहरू छन्
जो अनिदा छन्।
वर्षहरूलाई अनिदो भनेर सम्बोदन गर्नुले अहिलेको युगको भागदौडलाई इङ्कित गर्छ। आधुनिक समाजमा कामका पछाडि दौडँदा किन हामी आफैलाई भुलिरहेका, आफ्नाहरूलाई भुलिरहेका छौँ? कवि लेख्छिन्, 'उत्पादनशील हुनु भनेको कहिले आराम गर्ने भन्ने बुझ्नु हो।' आराम र यसको आवश्यकता कुरा गर्दा कविले यससँग मानव उत्पादनशीलता र सृजनशीलतासँग पनि जोडेकी छन्।
म आफ्नो जीवन आफ्नै तरिकाले जिउँछु भन्दा पनि कसरी आफ्नो जीवन सार्थक बन्यो भनेर प्रमाणित गर्न आतुर अहिलेको संसारलाई उनको कविता एक पाठ बन्न सक्छ। उनी कवितामै भन्छिन्, 'म केबल पूर्ण छु किनकि म अपूर्ण छु।' यस्तै अर्को कवितामा उनी जीवनको अपूर्णताबारे यसो भन्छिन्-
मलाई पूर्णताको मतलब छैन
बरु म जीवनरूपी उल्झनहरूमा
गुटुमुटु भइदिन सक्छु।
जीवनका यी सूक्ष्म पाटाहरूलाई उनका शब्दहरूले निकासका बाटाहरू देखाएका छन्। नैराश्यता, डर, चिन्ता, प्रेम, बिछोड सुन्दा सामान्य लाग्ने यी विषयमाथि उनको आत्माआलोचना र बेप्रवाह विमर्शले जीवनको प्रेमिलता र कठोरता दुवैको अन्तिम बिन्दुसम्म पाठकलाई पुर्याउँछ। तथापि यसरी नै जीउनुपर्छ, जीवन यस्तो नै हुनुपर्छ भन्ने लाग्नेहरूलाई उनका कविता तरल र अमूर्तजस्ता पनि लाग्न सक्छन्।
अब कुरा गरौँ पुस्तकको अन्तिक र चौथो अंश बारे। जसलाई 'अवेक' भनिएको छ। यसलाई नेपालीमा जागेको अथवा ननिदाएको अथवा सुसूचित भन्ने बुझिन्छ। यस अंशमा उनी विद्रोह, शरीर र आफूले आफैलाई प्रेम गर्नुपर्छ भन्नेबारे बोल्छिन्। उनी लेख्छिन्-
भविष्य...
हाम्रो सपनाको संसार
इतिहासको कुरुपतामा
अडाएर बनाउन सकिँदैन।
यसलाई च्यात
कविको रुपमा यस अंशमा उनको उपस्थिति अलि बढी साधुसन्तको जस्तो रहेको छ। तथापि जीवन र जगतका अमूर्त विचारधारामा मात्र उनको काम सीमित भने कदापि छैन। शरीर कसरी कुनै व्यक्तिको लागि पहिलो घर हो भन्ने कुरा यस भागमा बढी भेटिन्छ। जस्तो कि-
म आफ्नै शरीररूपी कुवामा हाम फाल्छु
र अर्कै संसारमा पुग्छु
मलाई जे चाहिएको छ
त्यो त म भित्रै छ
मलाई अन्त खोजीराख्न
आवश्यक नै छैन
-घर
पुस्तकको अन्तिम, यस भागमा 'होम बडी' भनेर जसरी नाम दिइएको छ त्यस नामको सार्थकता महसुस हुन्छ। कवि भन्छिन्, 'तिमी तिम्रो आत्मा हौ, संसार हौ, हृदय हौ। तिमी कहिल्यै एक्लै छैनौ। तिम्रा अंग, प्रत्यङ्ग, छाला, रगत सबै सबै चमत्कारीक रुपमा तिमीसँगै जोडिएका छन्।' यो पढि सकेपछि हामीलाई पाठकको रुपमा कसरी हाम्रो शरीर नै हाम्रो घर हो भन्ने कुराको सार्थकता सहसुस हुन्छ।
शरीर र राजनिति, शरीर र नारीवाद र मातृत्व प्रेम, विद्रोह जस्ता विषयले पुस्तकको अन्तिम अंशलाई अझ विशेष बनाएको छ। उनी भन्छिन्,
मलाई त्यो नारीवादमा चासो छैन
जसले महिलाको शरीरलाई सुन्दैन।
उनको नारीवाद नारामा सीमित नारीवाद जस्तो छैन। नारी शरीरलाई नबुझी नारीबादको कुरा गर्नु व्यर्थ छ, उनी कवितामै भन्छिन् आफ्नो शरीरलाई सुन, आफूलाई सुन, आफैलाई प्रेम गर तर आफ्ना आवाजहरूलाई नरोक –
कराऊ
भन जे तिमीलाई भन्नु छ
आफ्नो जीवनलाई पूर्नदाबी गर्नु राम्रो हो
यसरी हेर्दा यदाकदा उनका कविताहरू नाराजस्ता पनि लाग्न सक्छन् तर ति नाराजस्ता कविताहरूले पनि सृजनशीलताको र नवीनताको बाटो छोडेका छैनन्।
आफ्नो लागि प्रेम गर, हृदयलाई सुन, तिमी आमा हौ, एक जादुगर र तिम्रो जीवनको मालिक कविताका यी स-साना अंशहरू जसलाई छुट्टाछुट्टै पढ्दा पनि उनको काव्यिक कौशलताको महसुस हामीलाई हुन्छ। साथै उनको यस पुस्तकमा जसरी शब्दमा बोल्न अप्ठ्यारा विषयहरू नैराश्यता, यौन र्दुव्यवहार, खालीपन, प्रेमलाई सजिलै बिम्बमा बोलेकी छन् यसले उनलाई कविको रुपमा अझ माथिल्लो स्थानमा पुर्याएको छ।
'होम बडी' नामको हिसाबले सार्थक कृति हो जसमा कविले शरीरलाई घररूपी बिम्बमा उभ्याएकी छन्। उनका अघिल्ला कृतिहरू झैँ यसले पनि पाठकलाई भोगेका तर कवितामा विरलै उठ्ने जीवनका स-साना अनुभूतिहरूलाई अझ नजिकबाट चिहाउने अवसर दिएको छ। शरीर र शारीरिक अनुभूतिहरूलाई आज पनि हामी बिरलै सम्बोधन गर्छौं तर कविको रुपमा उनको सम्बोधन लोभ्याउने किसिमको छ।
यसका साथै महिला शरीर, त्यसमाथि हुने कयौँ पहेलीहरूलाई यसले सार्वजनिक बहसको चौघेराभित्र धकेल्न सघाएको छ। अन्त्यमा रुपी कौर उनका अघिल्ला कृतिहरूमा झैँ विषयवस्तु र काव्यिक चेत दुवैका हिसाबले यस कृतिमा पनि अझ प्रखर, अझ मिहीन ढंगले प्रस्तुत भएकी छन्।