लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब 'आकाशमुखी' को आवरण सार्वजनिक गरिएको छ। दसैंको अवसरमा प्रकाशन गृह बुक-हिलले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको 'कोट एन्ड आरटी' अन्तर्गतका उप-विजेताद्वय 'म्याउँ' र 'मस्तमौलाना' ले आवरण सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुसी प्रकट गरे। उनले भने, 'सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई उर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ।'
किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन्। मैनालीका प्रिय १५ वटा विदेशी निबन्धको अनूदित यो किताब आगामी जनवरीमा बजारमा आउने छ।
सो अवसरमा लेखकद्वय कुमार नगरकोटी र मोहन मैनालीले उप-विजेताद्वयलाई उपहार हस्तान्तरण गरे। विजेता 'काजी बा' (कार्यक्रममा अनुपस्थित) र उप-विजेताद्वयलाई करिब ४० हजार रुपैयाँ बराबरका पुस्तक प्रकाशन गृह बुक-हिलले उपहारस्वरूप प्रदान गरिएको थियो।