पूर्वी तराईको देहातबाट उठेर क्यान्सर रोग विशेषज्ञ बनेका एक जना चिकित्सकको जीवनकथा सार्वजनिक भएको छ। सिरहा जिल्ला, कल्याणपुर गाउँको किसान परिवारबाट उठेर चिकित्सक बनेका डा. कैलाश साहको जीवनी ‘टफ मेडिसिन’ बिहीबार काठमाडौंमा सार्वजनिक गरियो।
बुक्स हिमालयले आयोजना गरेको कार्यक्रममा बरिष्ठ चिकित्सक बद्रिराज पाण्डेले साहको पुस्तकको घुम्टो उघारे। ‘डा. साहको पुस्तक प्रेरणादायी छ’, विमोचनपछि पाण्डेले भने, ‘उहाँको जीवनसंघर्षको कथाका साथै सेवा भावले पनि हामी सबैलाई प्रेरित गर्छ।’
कार्यक्रममा डा. रामेश्वरमान श्रेष्ठ, डा. कुलेशबहादुर थापा, व्यारी एवं जेनी पाइजर र सियान रिचाडलगायतले विमोचित पुस्तकका विषयमा चर्चा गरेका थिए।
काठमाडौंको कान्ति बाल अस्पतालमा दुई दशकभन्दा लामो समयसम्म सेवा गरेका डा. साह हाल इशान अस्पताल, चक्रपथमा कार्यरत छन्। उनको पुस्तकमा बाल्यकाल, चिकित्सक बन्न गरेको संघर्ष र चिकित्सक बनेपछि गरेका सेवाको वर्णन गरिएको छ।
सरल जीवन उच्च विचारका अनुयायी डा. साहको पुस्तक हरेक विद्यालयका पुस्तकालयमा पुर्याउन सके राम्रो हुने देखिन्छ।
प्रकाशक संस्थाका प्रबन्ध निर्देशक पवन शाक्यकाअनुसार बुक्स हिमालय डटकममार्फत अनलाइनमा पुस्तक खरिद गर्न पनि सकिनेछ। यसको मूल्य २७५ रुपैयाँ राखिएको छ।