बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान प्रेम सम्बन्धका कारण चर्चामा छन्।
केही समयअघि उनले अभिनेत्री तथा डान्सर नोरा फतेहीलाई डेट गरिरहेको खबर बाहिरिएको थियो। यसैबीच नोरासँग नभई उनी पाकिस्तानी अभिनेत्री सादिया खानसँग डेट गरिरहेको बताइएको थियो।
आर्यन र सादियाको भेट दुबईमा नयाँ वर्ष मनाउँदै गर्दा भएको थियो। उनीहरूले एकसाथ तस्बिर समेत खिचाएका थिए। उक्त तस्बिर इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै सादियाले लेखेकी थिइन्, ‘थ्रोब्याक टु न्यु इयर इभ।’
उनीहरूको एकसाथ तस्बिर सार्वजनिक भएपछि आर्यन र सादिया प्रेम सम्बन्धमा रहेको चर्चा चलेको हो। आर्यनसँग प्रेम सम्बन्धबारे सादियाले खण्डन गरेकी छन्।
उनले युएई पब्लिकेशन सिटी टाइम्ससँग कुराकानी गर्दै भनेकी छन्, 'यो निकै आश्चर्यजनक कुरा हो। मानिसहरू पूरा सत्य नजानी आर्यनको बारेमा यस्ता कुरा बताइरहेका छन्। एक तस्बिरको आधारमा मानिसहरू यस्तो कुरा कसरी गर्न सक्छन्? यस्तो अफवाह फैलाउन पनि कुनै सीमा हुनुपर्छ।’
अभिनेत्री सादियाले आर्यन राम्रो मान्छे भएको बताएकी छन्।
‘हाम्रो भेट नयाँ वर्षमा भएको थियो। तस्बिर खिच्नुअघि हाम्रो थोरै कुराकानी भएको थियो। आर्यनसँग मैले मात्र होइन थुप्रै व्यक्तिले तस्बिर खिचेका थिए,’ उनले भनिन्।
आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्।
फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्। उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।