सन् २०११ को सुपरहिट तमिल सिनेमा 'कंचना'को बलिउड रिमेक 'लक्ष्मी बम'बाट निर्देशक राघव लरेन्सले हात झिकेका छन्। सिनेमामा अक्षयकुमारले शीर्ष भूमिकामा अभिनय गर्देछन्।
सिनेमाको पोस्टर सार्वजनिक भए लगत्तै राघव सिनेमाबाट बाहिरिएको सार्वजनिक गरेका हुन्।
शनिबार ट्वीट गर्दै राघवले विविध कारणले सिनेमाबाट अलग भएको बताएका हुन्।
जसमध्ये उनीसँग सल्लाह नगरीकनै पोस्टर सार्वजनिक गरिएकोन एक हो।
'यो संसारमा एउटा मान्छेलाई नाम र दाम भन्दा पनि ठूलो उसको आत्मसम्मान हुन्छ। त्यसैले मैले सिनेमाबाट निस्कने निर्णय गरेको छु। म कारण त बताउन चाहन्न किनकी कारण धेरै छन् तर ती मध्ये एक फस्ट लुक पोस्टर हो। मेरो जानकारी बेगर पोस्टर सार्वजनिक गरिएको छ, त्यो पनि मसँग छलफल नै नगरी', ट्वीटमा राघवले लेखेका छन्।
राघवले यसबाट उनलाई अपमान र निराशाको अनुभव भएको गुनासो गरेका छन्। उनले सिनेमाबाट अलग भएपनि सिनेमा बनाउन आफ्नो स्क्रिप्ट दिने उनले बताएका छन्। अक्षयकुमार व्यवसायिक र आफूले समेत उच्च सम्मान गर्ने भएकाले स्क्रिप्ट दिने बताए।
'म मेरो स्क्रिप्ट फिर्ता लिन सक्छु किनकी मैले कुनै सम्झौतापत्रमा हस्ताक्षर गरेको छैन्, तर म त्यस्तो गर्दिन किनकी त्यो व्यवसायिक हुँदैन। म स्क्रिप्ट दिन तयार छु किनकी म व्यक्तिगतरूपमा अक्षयकुमार सरलाई धेरै सम्मान गर्छु', उनले भने।
शनिबार अक्षयकुमारले ट्वीटरबाट सिनेमाको फस्टलुक पोस्टर सार्वजनिक गरेका थिए। सिनेमा कियरा आणवानीको पनि प्रमूख भूमिका रहेको छ।