गत वर्ष शाहरुख खान अभिनित सिनेमा 'जिरो' वक्सअफिसमा नराम्ररी पछारियो। सिनेमा फ्लप भयो।
तर रिलिज अगाडी सिनेमाले राम्रै चर्चा कमाएको थियो। सिनेमामा शाहरुख कम कदको पात्रमा अभिनय गर्दै थिए भने सिनेमामा अनुष्का शर्मा र क्याटरिना कैफ उनीसँग अभिनय गर्दै थिए। यसका अलावा 'राँझणा', 'तनु वेड्स मनु' जस्ता सिनेमा निर्देशक आनन्द एल राय सिनेमा निर्देशक थिए। चर्चाका कारण यिनै थिए।
यिनै कुराले सिनेमाले रिलिज अघि गतिलै चर्चा बटुल्यो तर रिलिजपछि भने यसले व्यवसायिक र समिक्षकीय असफलता दुबै बटुल्यो।
'जिरो' पर्दामा न शाहरुखको सिनेमा जस्तो देखियो न आनन्दले निर्देशन गर्दै आएका सिनेमा जस्तो।
यसैले सिनेमा असफल भयो।
सिनेमाको असफलताले गर्दा शाहरुख र निर्देशक आनन्दबीच दुश्मनी सुरू भएको खबर सार्वजनिक भएको छ।
सार्वजनिक खबरका अनुसार दुबैको हाल बोलचाल बन्द छ। यध्यपी यस खबरमा कुनै सत्यता नरहेको खबर पनि सार्वजनिक भएको छ।
सिनेमा असफल हुनु दोष शाहरूखले निर्देशक रायलाई दिएका छन्। आनन्दले के सोचेर सिनेमा बनाइरहेका थिए? शाहरुखको आनन्दप्रतिको वर्तमान सोच हो यो।
'जिरो'को असफलताले गर्दा शाहरूखले आफ्ना सबै प्रोजेक्टहरूलाई केहि समयका लागि स्थगित गरेका छन्।
यसमा डनको तेश्रो सिक्वल समेत रहेको छ। यसै कारणले गर्दा उनले भारतका प्रथम अन्तरिक्ष यात्री राकेश शर्माको वायोपिकबाट पनि हात झिकिसकेका छन्।
यतिबेला शाहरुख खान बेइजिङ इन्टरनेश्नल फिल्म फेसटिवलमा 'जिरो'को प्रचार गरिरहेका छन्।
सोही प्रचारका क्रममा शाहरुखले दुर्भाग्यवशः 'जिरो' नचलेको स्वीकार्दै 'सायद आफूले गलत सिनेमा बनाएको हुनुपर्ने वा कथा भनेको शैलीमा गल्ती देखिएको' बताएका छन्।
यससँगै उनले सिनेमाको असफलताले आफू एक कदम पछि हट्न बाध्य भएको पनि बताए। उनले अब सिनेमा गर्न केहि समय लिने जनाएका छन्।
शाहरुखले यस्तो बताइरहँदा उनी निकट एक श्रोतको हवाला दिदैं एक चर्चित बलिउड साइटले शाहरूख आनन्द रायको अनुहारसम्म नहेर्ने अवस्थामा रहेको लेखेको छ।
'दुबै सिनेमाको श्रृजनात्मक जस बराबरी लिने सहमति गरेका थिए तर 'जिरो'को रिलिजपछि मलाई लाग्दैन शाहरुख आनन्द रायको अनुहार पनि हेर्न चाहन्छन्', श्रोतले भनेको छ।
'जिरो' २ सय करोड भारूको लागतमा बनाइएको सिनेमा थियो। सिनेमाले भारतमा सय करोडको आँकडा पार गर्न सकेनन भने विश्वव्यापी रूपमा उसको कमाइ १८६ करोडमा रोकियो।