कमेडियन कपिल शर्माले आफ्नो कार्यक्रम 'द कपिल शर्मा शो' बाट नवजोत सिंह सिद्धूलाई हटाउनु गलत भएको बताएका छन्। पुलवामा आतंकी हमलापछि सरकारले चालेका कदममा आफ्नो समर्थन भए पनि यही विवादका आधारमा सिद्धूलाई कार्यक्रमबाट हटाउनु सही नभएको उनले बताएका छन्।
एक कार्यक्रममा बोल्दै कपिलले भने, 'आतंकवादको समाधान खोज्नु जरूरी छ। तर सिद्धूजीलाई बोलेकै आधारमा त्यसरी कार्यक्रमबाट हटाउने जस्ता प्रोपागान्डा गलत तरिका हो।'
केही दिनअघि कश्मिरको पुलवामामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण पन्जाबका मन्त्री समेत रहेका सिद्धू विवादमा तानिएका हुन्। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि 'द कपिल शर्मा शो' बाट उनलाई निकालिएको बताइएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए- यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।
कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा बिहीबार भएको आक्रमणमा कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।
यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। ट्विटरमा उनलाई हटाउनेबारे ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्। फ्यानहरूले सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने समेत भनेका थिए।
च्यानलले फ्यानहरूको भावनालाई मध्यनजर गर्दै शोबाट सिद्धूलाई हटाएर अर्चना पूरन सिंहलाई ल्याएको छ।
कपिलले भने सिद्धूका अरू केही काम भएकाले हाल कार्यक्रममा अर्चना आएको बताएका छन्।
'सिद्धूजी केही काममा व्यस्त हुनुहुन्छ। यसकारण शोमा अर्चनाजी आउनुभएको हो। यो सामान्य कुरा थियो। तर एकाएक सिद्धूलाई हटाउने प्रोपागान्डा सुरू भयो। यो तरिका गलत हो। कसैलाई प्रतिबन्ध गर्नु ठीकै हुनसक्छ, तर सिद्धूजीलाई शोबाट हटाएर समस्या समाधान हुँदैन। हामीले स्थायी समाधान खोज्न जरूरी छ।'
कपिलले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएका बारे पनि आफ्नो राय दिएका छन्।
'हामी सबै कुरामा सरकारको साथ छौं। तर फेरि पनि भन्छु हामीले स्थायी समाधान खोज्नुपर्छ। पुलवामामा जसले हाम्रा जवानहरूलाई सहिद बनाए, उनीहरूलाई खोजी-खोजी मार्नु पर्छ। यसमा पूरै देश सरकारको साथमा छ।'
सिद्धू अहिले आफ्नै कामले व्यस्त भएकाले शोबाट बाहिरिएको पनि उनले बताएका छन्। केही समयपछि शोमा फर्कने सक्ने भने आश छ। सिद्धूले च्यानलबाट सम्झौता सकिएको कुनै पत्र नपाएको बताएका छन्। सम्झौता रद्ध भइहाले पनि उनी आफ्नो धारणाबाट नफिर्ने बताएका छन्।