बलिउड अभिनेता सोनु सुदको पछिल्लो रिलिज 'सिम्बा'ले दर्शकको मन जित्यो। नकारात्मक चरित्रमा दर्शकको रोजाइमा पर्दै आएका सोनुले 'दबंग' तथा ' ह्यापी न्यू इयर'जस्ता सिनेमामा आफ्नो अभिनय देखाइसकेका छन्।
केहि समय अगाडी उनी एक सिनेमामाका कारण विवादमा परे। सिनेमा थियो, कंगना रनावतको 'मणिकर्णिका'। कंगनाले सोनुका केहि दृश्य चित्त नबुझेको भन्दै पुन: छायांकन गर्नुपर्ने माग गरिन र सोहि विषयमा उनीहरूबिच विवाद भयो। विवाद बढ्दै गएपछि सोनुले सिनेमाबाट हात झिके ।उनको सट्टामा अर्को अभिनेता राखेर छायाँकन गरियो।
विवाद सतहमा आएपछि कंगनाले आफू महिला भएकाले सोनुले हेपेको बताइन्। कंगनाको सो आरोपका बारेमा सोनुले त्यतिबेला कुनै प्रतिक्रिया जनाएनन्।
तर, हाल आएर सोनुले सोका बारेमा प्रतिक्रिया दिएका छन्। सोनुले कगंनाको हैकमवादी प्रवृतिका कारण सिनेमा छाडेको बताएका छन्।
'उनीहरूले पुन:छायाँकन गरिनुपर्ने बताए। मैले उनीहरूलाई के खिच्न लागेको हो, यदि ती सिन महत्वपूर्ण छन भने म खिच्छु भने। तर जब मैले सिनेमा हेरें तब मलाई त्यसको सम्पादन तरिका मन परेन। हामीले खिचेका सिनहरू त्यहाँ थिएनन्। मैले ती सिनहरूको बारेमा सोधे। उनीहरूले केहि दृश्य फेरि खिच्नुपर्ने मात्र भने। मलाई मैले मेहेनत गरेर गरेको कामलाई गम्भिररूपमा नलिइएको अनूभूति गरें र सिनेमा छाडें', सोनुले विवादको बारेमा भने।
पछि सो भूमिका मोहम्मद जिशान अयुबले गरे।
सिनेमा छाडे पनि सोनुले निर्देशकका रूपमा कंगनाको तारिफ गरेका छन्।
'आफूलाई के चाहिएको हो, त्यो उनलाई थाहा छ। यो नै एउटा कुशल निर्देशकको सबल पक्ष हो। उनी सिनेमाको घनत्व र कति सट चाहिन्छ भन्ने जस्ता सबै कुरामा स्पष्ट छिन्।
मणिकर्निका २५ जनवरीमा रिलिज हुँदैछ।