'मुन्ना भाइ:एमबिबिएस', 'थ्री इडियट्स', 'पिके', 'सन्जु' जस्ता ब्ल्कबस्टर सिनेमा दिएका निर्देशक राजकुमार हिरानीलाई लिएर वर्षको सुरूवातमा नराम्रो खबर सार्वजनिक भयो।
हिरानीमाथि पछिल्लो रिलिज 'सन्जु'मा काम गरेकी महिला सहायकले यौन उत्पीडन गरेको आरोप लगाइन्। यो खबर बलिउडका लागि एउटा झट्का सरह थियो।
हफिङटन पोस्टले ती महिलालाई उद्धृत गर्दै ६ महिनासम्म घर तथा कार्यालयमा हिरानीले उत्पीडन गरेको खुलासा गरिन्। खबर सार्वजनिक भएलगत्तै उनका साथी निर्माता विधुविनोद चोपडाले रिलिजका क्रममा रहेको 'एक लड्कीको देका तो ऐसा लगा'को निर्माताको नामबाट उनलाई हटाए।
आफूमाथि चरित्रहत्या गर्ने उदेश्यले आरोप लगाइएको भन्दै प्रकरणको खन्डन गर्दै आएका हिरानी जारी विवादकाबीच अर्को एक बहुप्रतिक्षित सिनेमाबाट बाहिरिने सम्भावना प्रबल भएको छ।
लामोसमयदेखी बनाइने भनिएको 'मुन्नाभाइ' सिरिजको तेश्रो श्रृखंलाबाट उनलाई हटाइन लागेको भारतिय संचारमाध्यमले जनाएका छन्।
मुम्बईबाट प्रकाशित हुने 'मिड-डे' दैनिकका अनुसार फक्स स्टुडियोले उत्पीडन मामिलामा हिरानी दोषी ठहर भए हिरानीलाई हटाउने कम्पनीको योजना रहेको समाचार प्रकाशित गरेको छ।
'मिड-डे'ले निर्माण कम्पनीका एक व्यक्तिको हवाला दिदैं गत वर्ष डिसेम्बरको अन्त्यमा भएको एक छलफलमा सो तय भएको लेखेको छ। कम्पनीले पीडितको पक्षमा लाग्दै सो निर्णय गर्नुपर्ने टहर गरेको समाचारमा लेखिएको छ।
पछिल्लो घटनाक्रमका कारण 'मुन्ना भाई ३' केहि समयका लागि होल्ड गरिएको पनि बताइएको छ। यस मामिलामा आरोपमुक्त नदेखिए हिरानीले सिनेमाबाट हात धुनपर्ने निश्चित छ। पछिल्लो समय बलिउड यसप्रकारका घटनामा मुछिएकाहरूप्रति कठोर बन्दै आएको छ।