थ्री इडियट्स, पिके, मुन्ना भाइ एमबिबिएस तथा सन्जु जस्ता चर्चित सिनेमाका निर्देशक राजकुमार हिरानीमाथि उनीसँग 'सन्जु'मा काम गरेकी एक सहायकले यौन उत्पीडनको आरोप लगाएकी छन्।। चर्चित अमेरिकी संचारमाध्यम हफिङ्टन पोस्टमा प्रकाशित समाचारका अनुसार हिरानीले सो आरोपको आफ्ना वकीलमार्फत अस्वीकार गरेका छन्।
अमेरिकाबाट सुरू भएको यौन उत्पीडनविरूद्धको 'मिटु' अभियानले गत वर्ष बलिउडका शक्तिशाली नामहरू मुछिइसकेको छ।ती महिलाले हिरानीले ६ महिनाको अवधिमा एकभन्दा बढि अवसरमा दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।
उनले मार्चदेखि सेप्टेम्बरसम्मको अवधिमा हिरानीले घर तथा कार्यालयमा दुर्व्यवहार गरेको जनाएकी हुन्।
प्रकाशित समाचारका अनुसार उनले आफूमाथि भएको सो घटनाका बारेमा नोभेम्बरमा 'सन्जु'का सहनिर्माता विधुविनोद चोपडा, हिरानीकी पत्नी तथा पत्रकार अनुपमा चोपडा, हिरानी निकट पटकथाकार अभिजात जोशी तथा अनुपमाकी बहिनी सेली चोपडालाई विस्तृत इमेल लेखेको उल्लेख छ।
इमेलका अनुसार हिरानीले अप्रिल महिनामा पहिलोपटक आपत्तिजनक टिप्पणी गरेका थिए पनि पछि निवास तथा कार्यालयमा दुर्व्यवहार गरेका थिए।
इमेलमा उनले ६ महिनाको अवधिमा आफ्नो 'मश्तिष्क, शरिर र मन नराम्ररी बिथोलिएको' लेखेकी छिन्।
उनले आफ्नो बाबुको स्वास्थ्य अवस्थाका कारण हिरानीसमक्ष अनुग्रहित भएर पेस हुनुपरेको पीडा पोखेकी छन्। उनले आफ्नो करियरमा धक्का पुग्ने डरले त्यतिबेला नबोलेको पनि बताएकी छन्।
उनले यस्तो दाबी गरेपनि हिरानीका वकिल आनन्द देशाइले आरोप 'तथ्यहिन र पूर्णतया प्रमाणबिहिन' भएको जनाएका छन्।
हिरानीमाथी आरोप लागेपछि रिलिजको क्रममा रहेको सोनम कपुर स्टारर 'एक लड्कीको देखा तो ऐसा लगा'बाट उनको सिनेमा निर्माण कम्पनी 'राजकुमार हिरानी फिल्मस्'को नाम हटाइएको छ।