सन् २०१८ मा बलिउडले वक्सअफिसमा पूर्वाअनुमान गरिएभन्दा विपरित नतिजाहरू देखायो। कहलिएका शाहरूख खान, आमिर खान, सलमान खान अभिनित ठूला बजेटका सिनेमा नराम्ररी पछारिदां कम बजेटका सिनेमाले खानहरूका सिनेमाले गर्दै आएका व्यापारको समकक्ष आफूलाई उभ्याए। विषयप्रधान सिनेमाहरूले खानका सिनेमालाई छाँयामा पारिदिए।
एकातीर 'रेस ३', 'ठग्स अफ हिन्दोस्तान' तथा 'जिरो' जस्ता सिनेमा वक्सअफिसमा पछारिदां 'स्त्री', 'बधाई हो बधाई', 'राजी' जस्ता सिनेमा दर्शकको रोजाइमा परे।
यससँगै दुर्भाग्यवशः केहि राम्रा सिनेमाहरू भारतीय वक्सअफिसमा चल्न असफल भए। त्यस्तै केहि सिनेमाको सूचि यस्तो छ :
मुक्काबाज
जातिवाद, खेल राजनीति, घरेलु हिंसा जस्ता थुप्रै जल्दाबल्दा समसामयिक मुद्धाको घेरामा अनुराग कश्यपले बनाएको खेल ड्रामा 'मुक्काबाज' चलेन। यसका बाबजुद सिनेमाले एउटा मज्जा दिन्छ।
ब्ल्याकमेल
हेरूञ्जेल दर्शकलाई मनोरञ्जनबिहिन हुन नदिने इरफान खान स्टारर सिनेमा चलेन। सिनेमा खानको त्रृटिरहित अभिनय र निमेशभर पनि पट्यार नलगाइदिने एउटा डार्क सिनेमा हो।
मुल्क
निर्देशक अनुभव सिन्हाले १३-१४ वटा ड्राफ्टपछि निर्देशन गरेको सिनेमाले एक पारिवारिक सदस्यको आतंकवादसँग सम्बन्धित भएपछि सो परिवारले गुमाएको साख फिर्ता ल्याउने कथा भन्छ। छुटाएकाहरूका लागि यो पनि एउटा सुरूचिपूर्ण सिनेमा हो। सिनेमामा ऋषि कपुर तथा तप्सी पन्नुको मूख्य भूमिका रहेको छ।
लैला मजंनु
अमर प्रेमजोडी लैला मंजनुको आधुनिक संस्करण रहेको सिनेमा आफ्नो कथामा इमानदार सिनेमा हो। इम्तियाज अलिको निर्माण रहेको यस सिनेमाले कलाकारहरूको अभिनयका कारण दर्शकलाई आफूलाई आकर्षित गर्छ।
मन्टो
सादत हसन मन्टो नामक एक लेखक पात्रको कथा भन्ने सिनेमाले यस पात्रको सत्य लेख्न शेली र जीवनसँग साक्षातकार गराउँछ। सन् १९४५ बाट सुरू हुने सिनेमाको कथामा नवाजउद्दिनको अभिनय र नन्दिता दासको स्क्रिप्टले दर्शकको राम्रो सिनेमा हेर्ने अपेक्षालाई सम्बोधन गर्छ।
टुम्बाड
यसले श्रापित महारष्ट्रको एक दुरको गाँउको कथा पेस गर्छ। मिस्ट्री हरर जनराको यस सिनेमाले दर्शकलाई आदिदेखि अन्त्यसँग बाँधिराख्छ। यसको कथ्यशैली आकर्षक छ।सोहम साह यसका मुख्य अभिनेता हुन्। समिक्षकले गत वर्ष रूचाएको यो पनि एक सिनेमा हो।
मनमर्जिया
यसले जटिल, दुविधाग्रस्त त्रिकोणात्मक कथा भन्छ। अभिषेक बच्चन, बिक्की कौशल तथा तप्सी पन्नु स्टारर सिनेमा स्क्रिप्ट, स्क्रिनप्ले तथा संवादमा अब्बल छ। केहि कमजोरीका बाबजुद सिनेमा एउटा स्तरमा आफूलाई प्रमाणित गर्न सफल छ।
बजार
सैफअलि खान स्टारर यस सिनेमाले दर्शकलाई गतिलै मज्जा दिन्छ। एक सर्वाधिक सफल व्यापारी, र पैसा कमाउने चाहना बोकेको एक सामान्य भूईमान्छेको आकाक्षांको वरीपरी घुमेको सिनेमाले दर्शकलाई रिझाउँछ।
फ्राइ डे
सिनेमाले वैवाहिक जीवनबाट निराश एक रगंकर्मीको कथा पेस गर्छ। हेरूञ्जेल सिनेमाले आफ्ना संवादहरूबाट दर्शकलाई हँसाइरहन्छ। सिनेमा गोबिन्दा मूख्य भूमिकामा अभिनय गरेका छन्।