बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बुधबार बिहे हुँदैछ। वैवाहिक कार्यक्रम नोभेम्बर १४ र १५ गरी दुई दिनको राखिएको छ।
इटालीको 'लेक कोमो'मा सिन्धी र दक्षिण भारतीय परम्पराअनुसार बिहे हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी इटालीमा अवस्थित कोमो तालको किनारमा हुने बिहेका लागि रणवीर र दीपिका त्यहाँ पुगिसकेका छन्। बिहेमा उनीहरूका नजिकका साथीभाइ र थोरै आफन्त मात्र उपस्थित हुने बताइएको छ।
कोमो ताल एल्प्स पहाडको फेदमा रहेको प्रसिद्ध पर्यटकीय स्थान हो। यो ताल प्राकृतिक सुन्दरताको लागि चर्चित छ। धेरै सेलिब्रेटीहरूले यो ठाउँलाई आफ्नो बिहेका लागि छानिसकेका छन्।
१४६ वर्ग किलोमिटरमा फैलिएको इटलीको तेस्रो ठूलो ताल कोमो १३०० फिट गहिरो छ ।
रोमनकालदेखि नै कोमो ताल पर्यटकीय गन्तव्य रुपमा चर्चित छ । यहाँका भवनहरु गथिक आर्किटेक्चरबाट बनेका छन्। यहाँ ५२ भिला छन्। यीमध्ये भिला देल बल्बियानेलोमा रणवीर-दीपिकाको बिहे हुने बताइएको छ। यो भवन ७०० वर्ष पुरानो मानिन्छ।
रणवीर-दीपिका छ वर्षअघि फिल्म रामलीला गर्ने क्रममा नजिकिएका थिए। बिहेपछि १८ नोभेम्बरमा उनीहरू भारत फर्किने र २१ मा दीपिकाको गृहजिल्ला बैंगलरुमा रिसेप्सन पार्टी दिने पनि सञ्चारमाध्यमले जनाएका छन्। बलिउडका लागि भने २८ नोभेम्बरमा पार्टी राखिएको छ।
बिहे हुने ठाउँका तस्बिरः