बलिउड अभिनेत्री कंगना रनावत अर्की अभिनेत्री सोनम कपुरविरूद्द आक्रोशित बनेकी छन्। आफूमाथि पनि उत्पीडन भएको खुलासामा सोनमले शंका रहेको आशय प्रकट गरेपछि उनी रिसाएकी हुन्।
हालै तनुश्री दत्ताले बलिउड अभिनेता नाना पाटेकरले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएको खुलासा गर्दा तनुश्रीको समर्थनमा आएकी सोनमले सोहि कुरा कंगनाले गर्दा शंका व्यक्त गरेकी थिइन्।
एक कार्यक्रममा सोनमले कंनाको भनाइमा शंका रहेको बताएकी थिइन्।
'कंगना केहि न केहि भनिरहन्छिन्। कोहिकोही बेला त उनीमाथि विश्वास गर्न कठिन हुन्छ। तर त्यो साँचो भए दोषीमाथि कारवाही हुनुपर्छ', सोनमको भनाइ थियो।
सोनमको यस्तो बयान आएपछि रिसाउँदै कंगनाले आफूले बोलेको कुरामा यस्तोउस्तो भनेर फैसला गर्न अधिकार सोनमलाई नभएको प्रतिक्रिया दिएकी हुन्। सोनमलाई यस्तो हक कसले दियो भन्ने कंगनाको प्रश्न छ।
'मैले सार्वजनिक गरेको मेरो आफ्नो 'मि टु'को कथामा निर्णय सुनाउने सोनम को हुन्? के सोनमसँग कुन महिलाको विश्वास गर्ने कुनको नगर्ने भनेर भन्ने लाइसेन्स छ? आखिर उनी मेरो बारेमा यसरी यस्तो निर्धक्क कसरी भन्न सक्छिन्? मेरो परिचय सिधा कुरा गर्ने मानिसका रूपमा छ। मैले कयौं अवसरमा देशको प्रतिनिधित्व गरेकी छु। ती सम्मेलनहरूमा मेरो परिचय युवा अगुवाका रूपमा दिइएको छ। मैले मेरो परिचय बाबुका कारण नभइ १० वर्षको संघर्षबाट हासिल गरेकी हुँ। उनको(सोनम) परिचय न एउटा कुशल अभिनेत्रीका रूपमा छ, न कुशल वक्ताकारूपमा छ। मेरो बारेमा यस्तो भन्ने अधिकार उनीहरूलाई कसले दियो? म यी सबैको मुकुण्डो यसरी उतार्छु जसरी यसअघि केहि वेवकुफहरूको उतारीसकेको छु', कंगनाले आक्रोश पोखेकी छन्।
केहि समयअगाडी कंगनाले 'क्वीन' फिल्मका निर्देशक विकास बेहलले कतिपय अवस्थामा आफूलाई असहज महशुस गराएको खुलासा गरेकी थिइन्।
विकास संलग्न फिल्म कम्पनीकी एक महिला कर्मचारीले विकासले आफूमाथि यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएपछि कंगनाले पनि आफूमाथि विकासले गरेको कृत्यलाई सार्वजनिक गरेकी थिइन्।
'जब हामी 'क्वीन' फिल्मको सुटिङ गरिरहेका थियौं। उनी मलाई विवाहित हुँदाहुँदै पनि आफूले हरेक दिन नयाँ युवतीसँग यौनसम्बन्ध राख्ने गरेको सगर्व सुनाउँथे। जब हाम्रो भेट हुन्थ्यो जब उनी आफ्नो अनुहार मेरो गर्दनमा राखेर मलाई कसेर समात्थे र मेरो कपाल सुग्थे। त्यसबाट छुटकारा पाउन मलाई ठूल जोरबल लगाउन पर्थ्यो', कंगनाले विकासलाई आरोप लगाउँदै भनेकी थिइन्।